खोटाङमा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । बिहीबार काठमाडौंबाट यात्रु लिएर दिक्तेलतर्फ जाँदै गरेको ना१ज ४९५६ नम्बरको टाटासुमो हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गुराँसेमा दुर्घटना हुँदा सातजना घाइते भएका हुन् ।
साकेला गाउँपालिका–२ रतन्छाका काजीमान राई (६२), हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका नारायण बस्नेत (२६), उनकी श्रीमती निर्मला बस्नेत (२१), केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेका बिनाराम राई (३३), उनकी श्रीमती शारदा राई (३२), उनकै १ वर्षीय छोरा सोमराज राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका डिबी खड्का (४२) घाइते भएका हुन् ।
घाइतेमध्ये काजीमानको अवस्था गम्भीर रहेको छ । उनको दाहिने हातको तीन औँला छिनालिएको इलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले जनाएको छ । उनको ॐ बाबा पोलिक्लिनिक हलेसीमा उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै चालक फरार छन् । अनियन्त्रित बनेको जिप सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।