महामन्त्रीमा सहकार्य : कस्तो छ गगन र विश्वप्रकाशबीच सम्बन्ध ?

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टी रूपान्तरणको ‘प्रतीक’ भनेर चित्रित छन् । कांग्रेसलाई ‘नवजीवन’ दिन यी दुई नेता काफी हुने एकथरी मानिसको बुझाइ पनि छ ।

विधानले महामन्त्रीलाई १२ वटा काम, कर्तव्य र अधिकार तोकेको छ । जसअनुसार उनीहरूबाट हुने कार्यसम्पादनले पार्टी रूपान्तरक हुन् कि होइनन् भन्ने पुष्टि हुनेछ । यद्यपि, यी दुई नेता महामन्त्री भएपछि कांग्रेससँगै मुलुकको राजनीतिमा भने आशा सञ्चार भएको छ । र, महामन्त्रीको रूपमा सहकार्य गर्न उनीहरू तयार रहेको विवरण पनि आउन थालेको छ । यदि, सहकार्य भए पूरै कार्यकाल होला ? जसका लागि सुमधुर सम्बन्ध आवश्यक छ । जसबारे चर्चा गरौँ ।  

०००

२७ मंसिरमा विश्वप्रकाश शर्माको महामन्त्री पदमा उम्मेदवारी प्रकाशमान सिंह नेतृत्वको प्यानलबाट हुँदा गगनकुमार थापाको डा. शेखर कोइराला टिमबाट भयो । अर्थात् दुवैजना कांग्रेसको संस्थापनइतर पक्षका भिन्नभिन्न समूहबाट उम्मेदवार बने ।

उम्मेदवार बनेपछि जित्नका लागि मत आफैंलाई मागिन्छ । जुन स्वाभाविक हो । तर, विश्वप्रकाशले मतदातासँग गगनका लागि पनि मागे, ‘एक भोट विश्वप्रकाश शर्मालाई, एक भोट गगन थापालाई ।’

अन्नतः दुवैजना महामन्त्रीमा निर्वाचित भए । यसपछि पत्रकारसँग शर्माले भनेका थिए, ‘मेरा परम् आदरणीय मित्र पार्टीका नेता गगनकुमार थापाले या विश्वप्रकाश शर्माले महामन्त्री रूपमा काम गर्दैगर्दा देशले हल बाँधिएर जोडि बाँधिएर काम गरुन् भन्ने जे अपेक्षा राखेको छ, त्यो अपेक्षालाई पूरा गर्ने ढंगले हामी कार्य गर्छौँ ।’



कांग्रेस विधानअनुसार सभापतिपछि सर्वाधिक शक्तिशाली पद महामन्त्री हो । यो शक्तिशाली कार्याधिकार भएको पदमा निर्वाचित हुनु पहिले थापाले पनि शर्माका लागि भोट मागेको भन्ने विवरण आएको थियो । दुवैजना कांग्रेसका चर्चितमध्येका युवा नेता हुन् । थापाले संसदमा र शर्माले सडकमा विपक्षी दल कांग्रेस भएको भान नेकपा सरकारको पालामा गराएको चर्चा अझै छ ।

उनीहरूबीच नेपाल विद्यार्थी संघमा रहेर राजनीति गरेदेखि नै सहकार्य हुँदै आएको समकालीनहरू बताउँछन् । थापाले पनि हालै दुई महामन्त्रीबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । महामन्त्रीमा भएको जितलाई दाजुभाइको रूपमा हल बाँधेर पार्टी र देश निर्माणमा अघि बढ्ने जिम्मेवारीको रूपमा अथ्र्याएका छन् । यसको मतलब उनी शर्मासँग सहकार्य गर्न तयार छन् । यस अर्थमा पनि उनीहरूबीचको सम्बन्ध हार्दिकतापूर्ण रहेको पुष्टि हुन्छ । 



यसलाई पुष्टि हुने गरी थापाले भन्दै आएका छन्, ‘हामी आफूलाई प्रमाणित गर्नका लागि पनि एक अर्कासँग मिल्ने । एक अर्कालाई परिपूरण गर्ने र एउटा तागत निर्माण गर्ने सकारात्मक हिसाबले । अब, दुई महामन्त्री एक ठाउँ उभिएर बैठकमा प्रस्ताव लाने कुरादेखि सबै कुरामा दुई दाजुभाइको कुरा एक ठाउँमा आएर बनाउने हो ।’

दुई महामन्त्रीको अभिव्यक्तिलाई आधार मान्दा सहकार्य हुने देखिन्छ । किनभने ‘बदलिएको कांग्रेस र बलियो कांग्रेस’ को एजेन्डालाई उनीहरूले पार्टी रूपान्तरणसँग जोडेर व्याख्या गर्दै आएका छन् । उनीहरू २०५७ सालमा नेपाल विद्यार्थी संघको राजनीतिमा पनि सँगै थिए । जतिबेला संघका अध्यक्ष शर्मा हुँदा उपाध्यक्ष थापा थिए । स्वतन्त्र उम्मेदवार बनेर थापा उपाध्यक्ष भएका थिए ।

त्यसपछि चार वर्ष सँगै रहेर राजनीति गरेका उनीहरू १५ वर्षसम्म भने अलग–अलग भए । यद्यपि, पार्टीको आन्तरिक राजनीतिमा भने उनीहरूको सम्बन्ध सुमधुर रहेको नेविसंघका वर्तमान महामन्त्री दीपक भट्टराई बताउँछन् । यसरी एउटै समितिमा रहेर काम गरेकामध्येका थापा १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भए । 

शर्मा भने झापा जिल्ला सभापतिमा पराजित भए । १३ औँ महाधिवेशनमा पनि शर्मा पराजित नै भए । तर, दुवै केन्द्रीय सदस्यमा मनोनित भए । थापा त्यसबेला महामन्त्री पदमा हारेका थिए ।  उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेताको रूपमा चिनिन्थे । शर्मा भने सभापति शेरबहादुर देउवा निकट ।

फरक गुटमा रहे पनि यी दुई नेताबीच पार्टीमा जहिल्यै सहकार्यपूर्ण सम्बन्ध रहेको थियो । गगनलाई गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा विश्वप्रकाशले ‘भावी प्रधानमन्त्री’ पनि भनेका थिए । 

नेविसंघका पूर्वअध्यक्ष गुरुराज घिमिरेका अनुसार विश्वप्रकाशले थापालाई स्नेह गर्छन् । थापाले शर्माले आदर गर्छन् । २०५५ मा थापालाई त्रिचन्द्र कलेजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति बनाउन शर्माले सहयोग गरेको घिमिरे बताउँछन् । 

९ कात्तिक २०७४ मा पनि थापाको तस्बिर ट्वीटरमा राख्दै शर्माले लेखेका थिए, ‘कांग्रेसमा आधुनिक पुस्ताको अध्याय प्रारम्भ ।’ जतिबेला संघीय संसदको निर्वाचन हुन लागेको थियो । दलहरूले चुनावी प्रचार गरिरहेका थिए । थापा पनि शर्माको चुनावी सभालाई सम्बोधन गर्न झापा पुगे । यसले पनि उनीहरूको सम्बन्ध विगतमा पनि सुमधुर रहेको प्रष्टिन्छ । 

  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार ७:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया