मेलमिलापको नीतिकै जगमा अहिलेको राजनीतिक परिवर्तन सम्भव : देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलमिलापको नीतिकै जगमा लोकतन्त्र बहाली भएर राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । 

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज शुभकामना दिँदै उनले बिपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूको कारण राजनीतिक परिवर्तन सम्भव भएको बताएका हुन् । 

‘२०३३ पुस १६ गते आजकै दिन बिपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रद्धेय नेताहरूले ​राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनुभएको थियो, उहाँहरूको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा ​लोकतन्त्र बहाली हुँदै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको हो । आजको दिन हाम्रा नेताहरूको त्याग, संघर्ष र योगदानको उच्च सम्मान प्रकट गर्दछु,’ देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।

१६ पुस २०३३ मा कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता/कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्केका थिए ।  





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार ९:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया