कांग्रेस कैलाली अधिवेशन : सभापति पदका लागि को-को छन् आकांक्षी ?

नेपाली कांग्रेस कैलालीको अधिवेशन यही पुस २७ गते हुँदैछ । यसअघि प्रदेश अधिवेशनका कारण देखाउँदै अधिवेशन स्थगित भएकाे थियो । कांग्रेस केन्द्रीय कार्यालयले अधिवेशन नभएका १६ जिल्लामा पुस २७ गतेको मिति तय गरेको छ ।

अधिवेशन नजिकिएसँगै जिल्ला सभापतिको आकांक्षीहरू लबिङमा लागेका छन् । आकांक्षीहरू आफ्नो पक्षमा माहोल बनाउन जिल्लाका विभिन्न क्षेत्रमा मतदाताहरूलाई भेटघाट गरिरहेका छन् ।

जिल्ला सभापति नरनारायण शाह ‘मनु’ प्रदेश महामन्त्री भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी प्रकाशबहादुर बमले पाएका छन् । १३औं जिल्ला अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका उनी १२औं महाधिवेशनमा मार्फत् जिल्ला सचिव भएका थिए । उनले पनि अहिले कैलाली सभापतिचमा दावी गरिहरेका छन् ।

कैलालीको सभापतिको लागि दावी गरिरहेका अर्का आकांक्षी हुन्- नारायण भट्ट । उनी पूर्व जिल्ला उपसभापति हुन् । उनी ११औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए । 

दीर्घराज भाट सभापति हुँदा उनी कार्यवाहक सभापतिको जिम्मेवारी पनि पाएका थिए । भट्ट हाल केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् । कुनै समय जिल्लाको उपसभापति भइसकेका भट्ट यस सभापतिको लागि तीव्र लबिङमा रहेको कांग्रेस जनाएको छ ।

१३औं अधिवेशनमा सभापतिका लागि होमिएका भीम बडूवाल फेरि सभापतिको दौडमा छन् । १३औं अधिवेशनमा बडुवाल नरनारायण शाह मनुसँग पराजित भएका थिए । नेपाल विद्यार्थी संघ कैलालीका सभापति समेत भइसकेका उनी यसपटक पार्टी सभापतिको लागि दावी गरिरहेका छन्। 



१३औं अधिवेशनमा नरनारायण शाह मनुसँग पराजित भएका बडूवाल १२औं अधिवेशनमा उनकै टिमबाट सचिवमा लडेका थिए । त्यहाँ पनि उनी रामचरण चौधरीसँग पराजित भएका थिए । सभापतिका अर्का आकांक्षी गणेश देउवा पनि यस अघिको अधिवेशनमा सभापतिका लागि निर्वाचनमा होमिएका थिए । 

नरनारायण शाह मनुसँग निर्वाचनमा होमिएका देउवा र अर्का उम्मेदवार बडूवालको समान मत आएको थियो । त्यसपछि देउवाले बडूवाललाई समर्थन गरेका थिए । देउवाको समर्थन पाएपछि पनि बडूवालले शाहलाई भने हराउन सकेनन् ।



कैलाली क्षेत्र नम्बर ४ बाट दोस्रो संविधानसभामा टिकट पाएका खेमराज चौधरी पनि अहिले सभापतिको लागि दौडमा छन् । उनी तत्कालीन अवस्थामा क्षेत्र नम्बर ४ को पार्टी सभापति समेत भएका थिए । संविधानसभामा ६ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधिसभामा घटाएर ५ वटा निर्वाचन क्षेत्र तोकिएको थियो । त्यसपछि चौधरी क्षेत्र नम्बर ३ को पनि सभापति भए ।

क्षेत्रीय सभापति भइसकेका चौधरी अहिले जिल्ला सभापतिको लागि लबिङ गरिरहेका छन् । अर्का नेता नवराज रावल पनि सभापतिको आकांक्षी रहेको बुझिएको छ । उनी सामाजिक संघसंस्थाहरूमा सक्रिय छन् । तीन कार्यकाल जिल्ला कार्यसमिति सदस्य रहेका उनी अहिले सभापतिको दौडमा छन् । अहिले सम्म दावी गर्नेहरू सबै संस्थापन पक्षका हुन् ।

अहिले आकांक्षीहरूले भेला लगायतका कार्यक्रम पनि आयोजना गरिरहेका छन् । कैलालीमा संस्थापन तथा संस्थापनइतर पक्षबीच धेरैजसो वडा तहदेखि नै प्रतिस्पर्धा हुँदै आएको थियो । संस्थापनइतर पक्षबाट अहिलेसम्म सभापतिमा को उम्मेदवार हुने भन्ने खुलेको छैन । 

कैलालीमा संस्थापन पक्षका दुई समूहबीच तीव्र प्रतिस्पर्धा रहेको देखिन्छ । सभापतिका आकांक्षी बमले अहिले वडा तथा पालिका र क्षेत्रस्तरीय भेला र भेटघाट कार्यक्रममा आफ्नो सहभागिता तीव्र बनाइरहेका छन् । 

कैलाली क्षेत्र नम्बर ४ बाट एक मतले मात्रै महाधिवेशन प्रतिनिधिमा विजयी बमले जिल्लाका धेरैजसो नेता र कार्यकर्ताको आफूलाई समर्थन रहेको दाबी गरे । 

उनले भने, ‘मैले लामो समयदेखि पार्टीका विभिन्न पदमा रहेर काम गरेको छु । अहिले म उपसभापति रहेकोले सभापतिमा मेरा उम्मेदवारी स्वाभाविक हो ।’

सभापतिका आकांक्षी बडुवालले जिल्ला युवा नेतृत्व ल्याउनुपर्ने अभियानमा आफू लागेको बताए । सभापतिको एक पदमा छ जना आकांक्षी भएजस्तै सभापति बाहेकका पदहरूमा पनि आकांक्षी धेरै देखिएका छन् । 

उपसभापतिमा अहिलेसम्म लोकराज पाण्डे र प्रकाश देउवाको चर्चा छ । सभापतिपछि धेरैको रोजाइमा सचिव परेको छ । सचिवमा नृप सुनार, केशव मिश्र, अमृत बिसी र कृष्ण पाण्डेय रहेका छन् । 

कैलालीमा ५ निर्वाचन क्षेत्र, १३ स्थानीय तह छन् । तीमध्ये ६ गाउँपालिका, ६ नगरपालिका र एक उपमहानगरपालिका रहेका छन् । ६ गाउँपालिकाका एक पुरुष र एक महिला गरी १२ जना निर्वाचित हुने छन् । त्यस्तै छ नगरपालिकाका एक महिला र दुई पुरुष गरी १८ जना निर्वाचित हुनेछन् ।

उपमहानगरपालिकाबाट दुई महिलासहित तीन पुरुष गरी पाँच जना निर्वाचित हुने छन् । त्यसको दुई तिहाइ समावेशी सदस्य संख्या निर्वाचित हुनेछन् ।

उपसभापतिको दावी गरिरहेका लोकराज पाण्डे आगोले जिल्ला निर्वाचनको मिति तय भएसँगै आफू प्रतिनिधिहरूसँग भेटघाट र छलफलमा रहेको बताए । 

जिल्ला अधिवेशन प्रचारप्रसार समिति संयोजक समेत रहेका सचिव पदका आकांक्षी नृप सुनारले अधिवेशनको तयारी तीव्र बनाइएको बताए । 

‘अहिले हामी वडा तथा पालिकास्तरीय बैठक, भेलामा जुटेका छौं । यी बैठकमार्फत् जिल्ला अधिवेशनको तयारी भइरहेको छ’, उनले भने, ‘१२६ वडा रहेको कैलालीमा जिल्ला अधिवेशनका लागि २५ सय बढी प्रतिनिधिहरू रहेका छन् ।’ 

कैलालीमा पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको निर्वाचन क्षेत्र भएको हुँदा अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।

  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १०:४१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया