डब्लुएचओले भनेजस्तो कोरोनाको सुनामी सुरु भएकै हो त ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बुधबार घोषणा गरेका थिए- कोरोनाको खतरनाक सुनामी आउँदैछ । उनले यो सुनामी कोरोना भाइरसको भेरियन्ट डेल्टा र ओमिक्रोनका कारण आउने बताएका थिए । 

कोरोनाको सुनामीबाट बच्न उनले विश्वलाई सतर्क रहन र सावधानी अपनाउन अनुरोधसमेत गरेका थिए । डब्लुएचओका प्रमुख गेब्रेयससले कोरोना खोप बढी लगाइएका अमेरिका, फ्रान्स, स्पेन, इटालीलगायतका देशमा संक्रमण ह्वात्तै बढेपछि कोरोनाको खतरनाक सुनामी आउने चेतावनी दिएका थिए । 

गेब्रेयससले भनेजस्तै पछिल्ला दिन विश्वमा देखिएको कोरोना संक्रमणको तथ्याङ्कले कोरोनाको खतरनाक सुनामी सुरु भइसकेको संकेत गरेको छ । खासगरी कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन आएपछि संक्रमण फैलने क्रम तीव्र भएको छ । 

डब्लुएचओका अनुसार ओमिक्रोन डेल्टा भेरियन्ट जति खतरनाक नभए पनि यो बढी संक्रामक रहेको छ । जस कारण पछिल्लो दिन विश्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
 
वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टा अर्थात् बिहीबार एकैदिन विश्वमा १८ लाख ८९ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमित यसअघि देखिएको थिएन ।
 
बिहीबार मात्र अमेरिकामा ५ लाख ७२ हजार २९, भारतमा १६ हजार ७६४, बेलायतमा १ लाख ८९ हजार २१३, फ्रान्समा २ लाख ६ हजार २४३, रुसमा २४ हजार ७३, टर्कीमा ३९ हजार ६८१, जर्मनीमा ४१ हजार ८२०, स्पेनमा १ लाख ६१ हजार ६८८, इटालीमा १ लाख २६ हजार ८८८, अर्जेन्टिनामा ५० हजार ५०६, क्यानडामा ३९ हजार ८३६, पोर्चुगलमा २८ हजार ६५९ र ग्रीसमा ३५ हजार ५८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो दुई दिनमा मात्र (बुधबार र बिहीबार) विश्वमा ३४ लाख ९३ हजार ५९८ जनालाई कोरोना संक्रमण भएको छ । वल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबार विश्वमा १६ लाख ४ हजार ४२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार अमेरिकामा मात्र ४ लाख ६५ हजार ६७० जना नयाँ संक्रमित थपिएका थिए । 

बुधबार बेलायतमा १ लाख ८३ हजार ३७ जना, फ्रान्समा २ लाख ८ हजार ९९ जना, स्पेनमा १ लाख ७६० जना, इटालीमा ९८ हजार ३० जना, अर्जेन्टिनामा ४२ हजार ३२ जना, टर्कीमा ३६ हजार ६८४ जना  र जर्मनीमा ४१ हजार ८१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 



वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो एक साता (डिसेम्बर २४ देखि ३० सम्म) को अवधिमा विश्वमा ८२ लाख ३१ हजार ५५७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । पछिल्लो एक साताको अवधिमा औसतमा प्रत्येक दिन करिव १२ लाख कोरोनाका नयाँ संक्रमित थपिएको देखिन्छ । 

वर्ल्डोमिटर्सकाे अनुसार डिसेम्बर २४ मा १० लाख ८ हजार ६६६, डिसेम्बर २५ मा ९ लाख १७ हजार ६७९ जना, डिसेम्बर २६ मा ६ लाख ९० हजार ५४ जना, डिसेम्बर २७ मा ८ लाख १६ हजार ११६ जना, डिसेम्बर २८ मा १३ लाख ५ हजार ४४३ जना, डिसेम्बर २९ मा १६ लाख ४ हजार ४२३ जना र डिसेम्बर ३० मा १८ लाख ८९ हजार १७५ जना संक्रमित थपिएका छन् । 



पछिल्लो साता अघिल्लो साताको तुलनामा विश्वमा कोरोना संक्रमितको संख्यामा ५६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो साता विश्वमा ५३ लाख ४ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो साता ८२ लाख ३१ हजार ५५७ जनामा संक्रमण पुष्टि भएको छ । 

पछिल्लो तथ्याङ्कले विश्वमा कोरोना संक्रमण डरलाग्दो रूपमा फैलिरहेको देखाउँछ । डब्लुएचओ प्रमुखले भनेजस्तो पछिल्ला तथ्याङ्कले कोरोनाको खतरनाक सुनामी सुरु भइसकेको संकेत गरेको छ । 

छिमेकी भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएको छ । यसले नेपालमा पनि थप तनाव बढाएको छ । भारतमा कोरोना लहर आउँदा त्यसको असर नेपालमा पनि पर्ने गरेको विगतको अनुभवले पुष्टि गरिसकेको छ । 

भारतमा बिहीबार एकैदिन १६ हजार ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये १ हजार २७० जना ओमिक्रोन भेरियन्ट संक्रमित रहेका थिए । भारतमा हालसम्म ३ करोड ४८ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भारतमा एक अर्ब ४४ करोडभन्दा बढीमा कोरोना खोपको डोज लगाइसकिएको छ । 

ओमिक्रोन संक्रमण बढ्न थालेपछि भारतले थप कडाइ गर्न सुरु गरेको छ । राजधानी नयाँदिल्लीमा रात्रीकालिन कर्फ्यु लगाइएको छ । नेपालले भने भारतसँगको नाकाबाट हुने आवतजावतलाई नियन्त्रण गर्न खासै पहल सुरु गरेको छैन । जसले भविष्यमा आउनसक्ने खतरा बढीरहेको छ । 

नेपालमा हालसम्म तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भएको पाइएको छ । ‘भारतमा पछिल्ला दिनमा सयौँको संख्यामा ओमिक्रोनका संक्रमित बढेका छन् । यसले हामीलाई सचेत बनाउनुपर्छ । भारतमा भएका नेपाली दाजुभाइले भारतमा लकडाउन वा अरू अवस्था आएर नेपाल फर्किएर आउँदा यो भाइरस पनि आउन सक्ने सम्भावना बढ्छ । त्यसैले अहिले नै हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले फरकधारसँग भने । डेल्टाजस्तो ओमिक्रोन घातक नभए पनि सतर्क रहनुपर्ने उनको सुझाव छ ।  

कोरोना पहिलोपटक २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो । खोपको विकास र यसको प्रयोग बढेसँगै केही महिना यता विश्वमा कोरोना संक्रमितको संख्या बढ्दै गएको थियो । तर पछिल्लो साता यता पुनः कोरोना भाइरस संक्रमितको संख्या विश्वमा ह्वात्तै बढेको छ । 

  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १३:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया