कार्यालय छाडेर निजी क्लिनिकमा काम

धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका- १८ स्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका कार्यालय प्रमुख दोहोरो भूमिकामा काम गरिरहेको पाइएको छ ।

२०७६ सालमा स्थापना भएको सो केन्द्रका कार्यालय प्रमुख डाक्टर रामकृष्ण साह एकै समयमा दोहोरो भूमिकामा काम गरिरहेको पाइएको हो ।

कार्यालय प्रमुख डाक्टर साह कार्यालय समयमा आफ्नो निजी क्लिनिक सञ्चालन गरेर बसेका छन्। कार्यालय समयमा कार्यालय नै नगई उनी निरन्तर आफ्नो क्लिनिकमा बस्दै आइरहेका छन् ।

नसर्ने रोग तथा स्वस्थ जीवनशैली, मातृ, शिशु तथा बाल स्वास्थ्य, सरुवा रोग, जनस्वास्थ्य निरीक्षण तथा सुपरिवेक्षण, प्रेषण सेवा, स्वस्थ वातावरण प्रवर्द्धन, जेष्ठ नागरिकको स्वास्थ्य समस्याका लागि स्वास्थ्य, बहिरंग सेवा, महामारी नियन्त्रण तथा विपद व्यवस्थापनलगायतका सेवाहरू सञ्चालन गर्न जनकपुरधाम उपमहानगरपालिकाले २०७६ सालमा सो केन्द्र स्थापना गरेको थियो ।

केन्द्र स्थापना भएको दुई वर्ष बित्न लाग्दा समेत त्यहाँको अवस्था भने बुझिनसक्नु छ । कार्यालय समयमा कार्यालय प्रमुख लगायतका कर्मचारीहरू त्यहाँ भेटिँदैनन् । कर्मचारी भेटे पनि उनीहरू कामविहीन अवस्थामा रहेको पाइएको छ । फरकधारको टिम त्यहाँ पुग्दा अवस्था भने दयनीय देखिएको थियो । 

कर्मचारीहरू सबै कामविहीन अवस्थामा थिए । कार्यालय प्रमुख भने एक सातादेखि कार्यालय नै नआएको कार्यालय सहयोगी शान्तिदेवी झाले बताइन् । डाक्टर साहेब ८-१० दिनमा एकपटक कार्यालय आएर हाजिरी बनाई पुनः आफ्नो व्यक्तिगत काममा फर्किने गरेको उनकाे भनाइ छ ।



बिरामीहरू पनि कहिलेकाहीँ मात्र आउने गरेको र रजिस्टरमा भने थप गरेर आफ्नै मनले कर्मचारी र कार्यालय प्रमुखको मिलेमतोमा बिरामीको नाम उल्लेख गर्ने गरेको उनले बताइन् ।

ल्याबमा सामग्रीकाे अभाव छ । चौथो तह ल्याब असिस्टेन्ट पदमा कार्यरत कर्मचारी अमरेन्द्र साहले यहाँ ल्याबका लागि अटो क्लेभ मात्रै उपलब्ध रहेको र अन्य उपकरणको भने अभाव रहेकाेले आफू कामविहीन बनेको स्वीकार गरेका छन् । आफू काम नपाएर बीचबीचमा उपमहानगरको कार्यालयले खटाए अनुरूप कोभिडको स्याम्पलहरू कलेक्सन गर्ने गरेको उनकाे भनाइ छ ।



कर्मचारीहरूले पनि काम नपाएर मोबाइल चलाउँदै दिन काटिरहेको बताएका छन् । 

कार्यालयको बेथितिबारे थप पत्ता लगाउने उद्देश्यले हामी कार्यालय प्रमुख डा.रामकृष्ण साहलाई खोज्दै प्रादेशिक अस्पतालको सामुन्‍नेमा रहेको उनको क्लिनिकमा पुग्यौं । क्लिनिकमा जाँदा औषधि पसल सञ्चालकले डाक्टर साहेब अहिले यहाँ नरहेको र केही बेरमा उनी आउने प्रतिक्रिया दिए । 

हामीले उनी कतिबेला यहाँ बस्छन् भनेर सोध्दा उनले डाक्टर साहेब बिहान साढे ९ देखि साढे १० बजेसम्म र दिउँसो साढे १ देखि ५ बजेसम्म क्लिनिकमा निरन्तर समय दिइरहेको बताए ।

यस सम्बन्धमा बुझ्नका लागि हामीले डाक्टर साहलाई फोन गर्‍याैं । उनलाई हामीसँग भेट गर्न आग्रह गर्दा उनी तयार भए । त्यसपछि हामी उनी भएको ठाउँमा पुग्यौं । उनीसँग सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको दुरावस्था र उनको कार्यशैलीमाथि प्रश्न गर्दा आफू स्वास्थ्य क्षेत्रको कर्मचारी रहेकोले आफ्नो ड्युटी बिहान १० देखि दिउँसो २ बजेसम्म मात्र रहने जिकिर गरे । २ बजेपछि आफू निजी क्लिनिकमा बस्न मिल्ने उनको दावी थियो । 

डाक्टर साहले उपमहानगरपालिकालाई कार्यालयको दुरावस्थाबारे जानकारी दिँदा आश्वासन मात्र पाउने गरेको भन्दै आफ्नो बचाउ समेत गर्न भ्याए ।

उनले प्रवर्द्धन केन्द्रलाई भौतिक संरचनासँगै सामग्री, तालिम पनि आवश्यक रहेको बताए । महामारी नियन्त्रण तथा विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न तालिम नहुँदा समस्या भइरहेको बताउँदै सबै दोष उपमहानगरमाथि नै थुपारेर आफू बच्ने प्रयास गरे । साहले केन्द्रमा परामर्श कक्ष, किशोरकिशोरीमैत्री कक्ष लगायतको अभाव रहेको बताए ।

‘कुनै पनि बिरामीलाई परामर्श दिन एउटा अलग्गै कक्षको आवश्यक हुन्छ तर, त्यो यहाँ छैन’,उनले भने । 

उनले केन्द्रले विद्युत समस्या, फ्रिज अभाव तथा समयमै औषधिका लागि रकम नआउनु लगायतको समस्या भोग्दै आएको बताए ।

उनले भने,‘सहरी क्षेत्रमा रोगको बढ्दो प्रकोप, स्वास्थ्यको जोखिम र द्रुत गतिमा बढ्दै गरेको जनसंख्याको आवश्यकतालाई आधार मानेर बृहत् सहरी स्वास्थ्य कार्यक्रम सञ्चालन हुन सकेको छैन । यसको असर खासगरी सहरमा बसोबास गर्ने गरिब, महिला तथा बालबालिका र सीमान्तकृत समूहमा परेको देखिन्छ, जुन वर्ग स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको अवस्था छ।’

कार्यालय प्रमुखको रूपमा डाक्टर रामकृष्ण साह, एचएद्वय दिलिप साह र वीरेन्द्र साह, ल्याब असिस्टेन्ट अमरेन्द्र साह, नर्सहरू रञ्जना साह, मिनु ठाकुर र रञ्जना यादव, कम्प्युटर अपरेटर मेहरुम खातुन र कार्यालय सहयोगी शान्तिदेवी झालगायत ९ जना कर्मचारी कार्यरत छन् ।

  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १५:२०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया