सरोकारवालालाई मुख्यमन्त्री राउतको निर्देशन - पोषण कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउनू

प्रदेश- २ का मुख्यमन्त्री लालबाबु राउतले अन्नको भण्डारका रूपमा रहेको यस प्रदेशको बालबालिका कुपोषणको शिकार हुनुमा कुपोषणसम्बन्धी जानकारीको अभाव प्रमुख कारण रहेको बताएका छन् । 

राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिले शुक्रबार जनकपुरधाममा आयोजना गरेको बहुक्षेत्रीय पोषण योजनासम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।  

उनले अन्नको भण्डार मात्र नभई, दूध, फलफूललगायतका खाद्य सामग्रीको पर्याप्तता हुँदाहुँदै उपयोगसम्बन्धी जानकारीको अभावमा बालबालिका कुपोषणको शिकार हुनु दुखद रहेको बताए । 

पोषणसम्बन्धी प्रदेशमा सञ्चालित कार्यक्रम व्यवहारमा उत्रिन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन सरोकारवालालाई निर्देशनसमेत दिए ।

उनले भने, ‘पोषणसम्बन्धी तथ्यांकले प्रदेशको अवस्था सुधारोन्मुख रहेको देखाए पनि सन्तोषजनक छैन । कार्यक्रममा तीब्रता ल्याउनुस् ।’

राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकरप्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिला विक्रम थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव बसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झा सहितकाले पोषणको अवस्थाबारे प्रस्तुति गरेका थिए । 



कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रदेशसभा सदस्य प्रमिलादेवी दास, शारदा थापा, सरस्वती चौधरी, संविधानसभा सदस्य डा. विजयकुमार सिंहसहितको सहभागिता रहेको थियो ।



  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १५:३९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया