सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतहरूलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिए ।
यसरी समयअगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्वजगतमा राज्य कमजोर हुने उनकाे भनाइ छ।
नेपालको कुटनीतिक क्षेत्र सुदृढ र प्रभावकारी नबनेको उल्लेख गर्दै उनले समयानुकुल काम गर्न नसक्ने अवस्थामा पुगेको पनि बताए ।
उनले भने, ‘हामीले कुटनीतिक नियोगमा पठाउने भन्या त राष्ट्रहितको साधना गर्ने, त्यो देशको प्रतिनिधित्व गर्ने व्यक्ति हो । अनि एउटा मन्त्री फेरियो, राजदूत पनि फेरियो । यो बेथितिलाई बन्द गर्नुपर्छ । यो बन्द नगर्ने हो भने कुटनीतिक क्षेत्रमा पनि देशभरि जसरी आफ्नो सत्ता, पद, स्वार्थका लागि जे पनि गर्ने हाम्रो खराब प्रवृत्ति मौलाएको छ । कुटनीतिक क्षेत्रमा पनि यो हुनु भनेको के हो भने आजको प्रतिस्पर्धी विश्वमा विभिन्न दृष्टिकोणबाट राज्य एकदमै कमजोर हुनु हाे। हाम्रो कुटनीतिक क्षेत्रको प्रभावकारिता भन्दा पनि युगानुकुल काम गर्न नसक्ने अवस्थामा पुगेको जस्तो आभाष हुन्छ । भाषा, कुटनीतिक विषयको ज्ञान, त्यो देश बारेको ज्ञान, त्यहाँको परिवेशको जानकारी राख्ने हुनुपर्छ ।’
सांसद रावलले साना देशका लागि कुटनीतिक क्षमता वृद्धि गर्नु देशको अस्तित्वसँग गाँसिने तर्क गरे । त्यसैगरी उनले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै देशको सुरक्षा गर्ने र जनताको सुरक्षा गर्ने राज्यको प्रमुख कर्तव्य भएको बताए ।
बैठकमा बोल्दै सांसद पुष्पा भुसालले सरकार परिवर्तनसँगै राजदूत फिर्ता बोलाउनुले राम्रो सन्देश नगएको टिप्पणी गरिन् ।
उनले निश्चित समयसम्म राजदूतलाई फिर्ता बोलाउन नपाउने व्यवस्था गर्नुपर्नेमा जाेड दिइन् ।
उनले भनिन्, ‘राजदूत नियुक्ति गरिसकेपछि मुलुकको सरकार परिवर्तन हुने बित्तिकै राजदूतलाई फिर्ता गर्ने जुन अभ्यास र प्रचलन अगाडि आयो । यसको सन्देश त्यति राम्रो जान नसकेको हामीले अनुभुति गरेको हुनाले कम्तीमा यति समय अगावै फिर्ता गर्न नमिल्ने भनेर एउटा छलफल, संवाद चलाउन सक्छौं ।’
सांसद भुसालले नेपालमा सरकार परिवर्तन भइरहने भन्दै राजदूत परिवर्तन भइरहँदा दुई देश बीचको सम्बन्धमा समेत असर पर्ने धारणा राखिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।