विद्युत खपत हुने क्षेत्रको खोजी गर्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले विद्युत खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विद्युतको बजार खोज्न लागिएको भन्दै बजार नभएर यसको खपत हुने क्षेत्र खोज्नुपर्ने बताएका हुन् ।

शुक्रबार नयाँ बानेश्वरमा नागरिक लगानी कोषको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले विद्युतको खपत क्षेत्र खोज्नुको साटो बजार खोजेर उल्टो दिशामा गएको बताए ।

‘जलविद्युत थोरै मात्र उत्पादन हुँदा पनि हामी यसको बजार खोज्दै हिँड्नुपर्ने अवस्था छ’, उनले भने, ‘हाम्रो ऊर्जा क्षेत्रलाई बजार खोज्ने होइन, खपत हुने क्षेत्र खोज्ने हो । हामी उल्टो बाटोमा छौँ ।’

बजारले भन्दा खपत गर्ने क्षेत्रले बढी प्रतिफल दिने भन्नुहुँदै उहाँले खपतले मुलुकलाई आर्थिक विकासतिर लैजाने बताए । कृषि आधुनिकीकरण, औद्योगिकरण, शिक्षा तथा प्रविधि, स्वास्थ्य लगायतका क्षेत्रमा खपत गर्न सकिने मन्त्री शर्माले औँल्याए । त्यस्ता क्षेत्रको समयमै पहिचान गरी नागरिक लगानी कोष जस्ता कोषले लगानी गर्नुपर्नेमा समेत उनले जोड दिए ।

नागरिक लगानी कोष ठूला कोषहरूमध्ये एक रहेको भन्दै मन्त्री शर्माले यस्ता कोषहरूको उचित परिचालन गर्नुपर्ने बताए । कोषहरू निष्क्रिय रहेकाले तिनीहरूको परिचालनमा उनले जोड दिएका हुन् ।

‘कोषको पैसा लगानी भइरहेको छैन । लगानी गरेर पुँजी निर्माण गरिरहेको छैन’, उनले भने, ‘आजको दिनमा सबै कोषहरूलाई पुँजी निर्माणमा केन्द्रित गर्न आवश्यक छ ।’ आगामी दिनमा लगानीका लागि ठूलो पुँजीको आवश्यकता रहेकाले त्यसका लागि कोषहरू केन्द्रित गर्नुपर्ने उनले बताए ।



भवन ९१ करोड लागतमा ६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको हो । समयमै निर्माण सम्पन्न भएको साढे ६ तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङसमेत रहेको छ ।



  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार २०:५२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया