नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक प्रज्ञा भवनमा जारी छ । माओवादीको आठौं महाधिवेशनस्थलमा जारी बैठकले पदाधिकारीको संखया टुंगो लगाउने बताइएको छ ।
यसअघि पनि आजै स्थायी कमिटीको बैठक त्यहीँ बसेको थियो । स्थायी कमिटीको बैठकमा विधानबारे छलफल भएको थियो । स्थायी कमिटीको छलफलपछि बन्दसत्रमा स्थायी कमिटी सदस्य देव गुरुङले विधानको व्यवस्थाबारे जानकारी गराएका थिए ।
हलले सर्वसम्मत रूपमा माओवादीको विधान पारित गरेको छ । पारित भएको विधान मस्यौदामाथि उठेका प्रश्न र सुझावहरूको जवाफ गुरुङले दिएका थिए । त्यसपछि हलले उक्त विधान पारित गरेको थियो ।
आजको बन्दसत्रमा पदाधिकारी संख्याबारे फरक-फरक धारणा आएका थिए । सोही धारणाबारे छलफल गर्नका लागि स्थायी कमिटीका सदस्यहरू जुटेका हुन् । यो बैठकले संशोधित विधानको क्लस्टरसमेत मिलाएर केन्द्रीय समितिको प्यानल घोषणा गर्ने तयारी रहेको बुझिएको छ ।
विधानमा केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ ।
महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्ब्युराे, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।