‘मनोनयन कोटा’ हारेकालाई नेता बनाउने 'अस्त्र'

निर्वाचनमा हार र जित स्वभाविक हो । जितलाई मतदाताबाट अनुमोदित र हारलाई अस्वीकृत भएको मानिन्छ ।

तर, कांग्रेसमा भने मतदाताबाट अस्वीकृत भएका उम्मेदवार पनि नेता हुन्छ । कसरी त ? ‘मनोनयन’ प्रणालीबाट ।

यसकै आधारमा सभापतिले पदाधिकारीको कुनै पदमा भिड्दा हारे पनि केन्द्रीय सदस्य बनाउने चलन कांग्रेसमा छ । अझ निर्वाचन नै नलडेका पनि केन्द्रीय सदस्य हुन्छ, कांग्रेसमा ।

शनिबार मात्रै सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा पदाधिकारीको विभिन्न पदमा प्रतिस्पर्धा गर्दा हारेका तथा निर्वाचन प्रक्रियामै सहभागी नभएका सात जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरे ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेता रामचन्द्र पौडेल पनि केन्द्रीय सदस्य पदमा मनोनीत भएका छन् । नेता पौडेल १४ औँ महाधिवेशन प्रक्रियाबाट अलग भएका थिए ।

आफूले मान्दै आएको कांग्रेसको आदर्शविपरीत अस्वस्थ ढंगले महाधिवेशनको प्रक्रिया अघि बढेपछि अलग हुनु परेको उनको प्रष्टिकरण थियो ।



तर, त्यसको मूल जड भने अर्कै थियो । त्यो हो – संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तयार नहुनु । पहिलो त पौडेल आफैँ इतर पक्षबाट सभापतिको उम्मेदवार हुन चाहन्थे । त्यसका लागि उनले प्रयास गरेका पनि थिए ।

यदि, आफ्नो नाममा सहमति नजुटे डा. शेखर कोइराला र प्रकाशमान सिंहमध्ये एक जना साझा उम्मेदवार हुनुपर्ने उनको जोड थियो । जसका लागि २६ मंसिरको साँझसम्म प्रयास भयो । तर, उनले सहमति जुटाउन सकेनन् र आफ्नो समूह फुट्यो ।



त्यसपछि असन्तुष्ट पौडेल महाधिवेशन प्रक्रियाबाट अलग भए । उनी अलग हुँदा निकट मानिएका नेता हृदयराम थानी पराजित हुन पुगे । जसका कारण पहिले उनी निकट रहेका केही नेताहरू चिढिएका छन् । संस्थापन इतर पक्षको शीर्ष नेताको विरासत उनीबाट डा. शेखर कोइरालामा सरेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

र, महाधिवेशन सम्पन्न भएको साता दिनमै पौडेल केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । उनी १३ औँ महाधिवेशनमा भने सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका थिए । तर, देउवापछिको दोस्रो वरीयतामा रहे । अहिले महाधिवेशनबाट अलग भएर मनोनीत भए पनि दोस्रो वरीयतामै छन् ।

नेता पौडेलपछि चर्चा गरौँ, नेता प्रकाशमान सिंहको । महामन्त्री र उपसभापति भइसकेका नेता सिंह सभापतिमा देउवासँग पहिलो चरणको निर्वाचनमा भिडेका थिए । उनी त्यो चरणमा दोस्रो भएपछि देउवालाई नै समर्थन गरेर जिताए । उनै नेता सिंह केन्द्रीय सदस्यमा देउवाबाट मनोनीत भएका छन् ।

सभापति पदको पहिलो चरणको निर्वाचनमा हारेका अर्का नेता हुन् – विमलेन्द्र निधि । उनी चौँथो भएका थिए । दोस्रो चरणमा उनको पनि सहयोग देउवालाई भयो । सहयोग पाएका देउवाले उनलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरे ।

उपसभापतिमा धनराज गुरुङसँग २ मतले हारेका विजयकुमार गच्छदार पनि केन्द्रीय सदस्य भएका छन् । उनी निवर्तमान उपसभापति पनि हुन् । तत्कालीन लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गरेका उनी ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पारेर हिनामिना गरेको प्रकरणमा मुछिएका छन् ।

राजनीतिक भविष्य सुरक्षित राख्न उनलाई पनि देउवाले पहिलो चरणमै केन्द्रीय सदस्य मनोनीत गरे । उपसभापतिमा हारेकी नेतृ सुजाता कोइराला पनि मनोनीत भएकी छिन्, केन्द्रीय सदस्यमा । नेता सिंहको प्यानलबाट उनको उम्मेदवार उपसभापति पदमा परेको थियो । उपसभापति पदका अन्य उम्मेदवारका तुलनामा उनले निकै कम मत प्राप्त गरेकी थिइन् ।

महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पदाधिकारीको कुनै पदमा उम्मेदवार थिएनन् । उनी पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । देउवालाई उनले यसपटक सुरुमै समर्थन गरेका थिए ।

१३ औँ महाधिवेशनमा भने उनी पनि सभापति पदको निर्वाचनमा देउवाको प्रतिस्पर्धी थिए । जतिबेला तेस्रो स्थानमा रहेका सिटौलाले दोस्रो चरणको निर्वाचनमा देउवालाई नै समर्थन गरेर जिताएका थिए ।

यसरी देउवाको जितमा भूमिका खेल्दै आएका सिटौला पनि केन्द्रीय सदस्य पदमा मनोनीत भएका छन् ।

महामन्त्री पदमा सिंहको टिमबाट उम्मेदवारी दिएका विश्वप्रकाश शर्मासँग हारेका देउवानिकट नेता प्रकाशशरण महत पनि मनोनीत केन्द्रीय सदस्य भएका छन् ।

महाधिवेशनमा आफू उम्मेदवार रहेको देउवा प्यानलबाटै अन्तर्घात भएको उनको आरोप थियो । उनै नेता महत पनि केन्द्रीय सदस्यमा अटेका हुन् ।

केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरे पनि फिर्ता लिएका थिए, अर्का नेता मीन विश्वकर्माले । उनी पनि केन्द्रीय सदस्य पदमा मनोनीत भएका छन् ।

राजनीतिक विश्लेषक दुर्गा सुवेदी हारेका नेतालाई मनोनीत गर्नुलाई सकारात्मक ठान्छन् ।

‘पार्टीलाई चाहिने मान्छे मनोनीत गर्न मिल्छ । गर्नु पनि पर्छ । यो कांग्रेसमा मात्रै होइन, जहाँ पनि हुन्छ’ उनको तर्क छ ।

पौडेलसहितका १० नेताको मनोनयन कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव पौडेलले बताए ।

उक्त प्रावधानअनुसार सभापतिले कम्तिमा दश वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन् ।

तर, कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनु पर्ने, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनीत गर्न पाउने भनिएको छ ।

यो प्रावधानलाई टेकेर देउवाले हारेका नेताहरूको व्यवस्थापन मनोनीत गरेर गरेका हुन् ।


  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार २०:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया