प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । आइतबार पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारी तथा कानुन व्यवसायीले आन्दोलन गरेका हुन् ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरूले आवाज उठाएको बताए ।
उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भीक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताए । श्रेष्ठले बारले केही समयपछि राष्ट्रिय सम्मेलन गर्न लागेको र सम्मेलनमा न्यायपालिका सुधारको लागि हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा भइरहेको बाधालाई हटाएर काम अघि बढाउने बताए ।
‘हामी केको लागि आन्दोलन गरिरहेका छौँ भन्दा न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भीक ढंगबाट न्याय सम्पादन होस्, त्यस किसिमबाट न्याय दिलाउन सकियोस्, भनेर हामी रहेका छौँ । हामी न्यायपालिकाको पहरेदारको हैसियतले न्यायपालिका भित्रको विद्यमान विकृति, विसंगति हटाउनको लागि हामीले आवाज उठाउने हो । यो सुधार नभएसम्मको लागि यो आन्दोलन जारी रहन्छ,’ उनले भने, ‘केही समयमै राष्ट्रिय सम्मेलन गर्न गइरहेका छौँ । यसपालिको राष्ट्रिय सम्मेलन न्यायपालिकाको सुधार र न्यायपालिकाको सुधारको लागि बाधकको रूपमा रहेका जति छन् उनीहरूको विरुद्धमा आन्दोलन हुन्छ । न्यायपालिका सुधारको लागि हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा जुन बाधा भइरहेको छ, त्यो बाधा हटाउँदै अघि बढ्नेछौँ ।’
श्रेष्ठले काठमाडौं उपत्यका बाहिर रहेका कानुन व्यवसायीहरूले अहिले भइरहेको आन्दोलन पर्याप्त नभएको गुनासो गरेसँगै अब झनै सशक्त आन्दोलन गर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।