काठमाडौं- अबदेखि ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमांकन नम्बर’ (आइएसबिएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा जानु नपर्ने भएको छ । पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अनलाइनबाट नै फाराम भरी नम्बर लिन सकिने भएपछि अब कीर्तिपुर जानुनपर्ने भएको बताए । यसअघि लेखकले आइएसबिएन नम्बर लिन केन्द्रीय पुस्तकालय पुग्नुपर्थ्याे ।
अनलाइनबाट फाराम भरेपछि आइएसबिएन प्राप्त गर्नका लागि लाग्ने शुल्क बैंकबाट पठाउनुपर्नेछ । सन् २००० बाट त्रिवि पुस्तकालयले बेलायतको आइएसबिएनको प्रतिनिधिका रूपमा नेपालका प्रकाशित पुस्तकलाई आइएसबिएन प्रदान गर्ने गरेको छ । उनका अनुसार अहिले त्रिविमा करिब ४० हजार पुस्तकले आइएसबिएन नम्बर लिइसकेका छन् ।
आइएसबिएनका लागि पुस्तकालयले ३ सय रुपैयाँ शुल्क लिने गरेको छ । पुस्तकालयले पुस्तक खोज्नका लागि ‘रेडियो फ्रिक्वेन्सी आइडिन्टिफिकेसन अटो सिस्टम’ प्रयोग गर्ने भएको छ । पुस्तकालय प्रमुख अधिकारीले धेरै पुस्तक हुँदा व्यक्तिले खोज्न समस्या भएकाले उपयुक्त प्रणालीका माध्यमबाट प्रयोग गरिने यन्त्रले पुस्तक खोज्ने बताए ।
पुस्तकालयका हरेक किताबमा डिजिटल चिप्स राखिएको हुन्छ र किताब खोज्नका लागि रेडियो सेन्सरसिप यन्त्र प्रयोग गरिन्छ । उक्त यन्त्रले कुन किताब कहाँ छ भनेर चिप्सका आधारमा खोज्ने पुस्तकालय प्रमुख अधिकारीले बताए । पुस्तकालयले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उक्त यन्त्रको प्रयोग गरी पुस्तक खोज्नेछ । त्रिविले यही वर्षदेखि उक्त यन्त्र प्रयोग गर्ने तयारी गरेको छ । अहिले पुस्तकालयमा करिब चार लाख पुस्तक रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।