यार्साको मूल्य घटेपछि कि दाउराको भारी कि भारतको रोजगारी
रिदम सिंह/बझाङ
फरकधार / १८ पुस, २०७८

पुस महिनाको मुटु कमाउने जाडो । त्यसैमा हिमपात भएको दुई दिन मात्र भयो । लेकाली भेगमा अझै पनि हिउँ पग्लन सकेको छैन । घर खर्च चलाउनका लागि पिठ्युँमा दाउराको भारी बोकेर एकाबिहानै चैनपुर पुग्ने गर्छिन्, राइमती बोहरा । चैनपुरबाट झण्डै ५ किलोमिटर टाढा पर्ने सुर्मा गाँउपालिका वडा नं. ४ की उनी, घरखर्च धान्नका लागि नै दिनहुँजसो दाउरा बिक्रीका लागि चैनपुर पुग्ने गर्छिन् । घरमा अन्य आयस्रोतको बाटो नभएपछि परिवारको खर्च टार्नका लागि दाउराको भारीसँग दैनिकी बिताउने गरेको उनको भनाइ छ ।



‘परिवारमा कसैको रोजगारी नै छैन । रोजगारी भने पनि जे भने पनि कि भारत जानुपर्छ कि दाउरा बेच्नुपर्छ,’ राइमती बोहराले बताइन् । उनी भन्छिन्, ‘गाउँमा त्यति धेरै (खाद्यान्न) उत्पादन हुँदैन । वर्षभरि खान पुग्दैन । दाउरा बेचेर नै बिहान–बेलुकाको खाना र छोराछोरीको पढाइ चलाएकी छु ।’ 

लेकाली भेग भएका कारण गाउँमा प्रशस्त खाद्यान्न उत्पादन नहुने भएपछि उनीहरुलाई दाउराको सहारा लिनुपर्ने अवस्था छ । राइमती र उनका साथीहरु महिनामा २० देखि २५ भारी दाउरा चैनपुर पुर्याउँछन् । उनको घरबाट सदरमुकाम चैनपुर ५ किलोमिटर टाढा पर्छ । बिहान ४ बजे नै उठेर दाउराको भारी बोकेर हिँड्दै उनीहरु ७ बजे चैनपुर पुगिसक्छन् । 



बोकेर बजार पुर्यनएपछि दाउरा भारीको मूल्य ४ सय देखि ५ सयसम्म बिक्री गर्ने गरेको राइमतीसँगै दाउरा बेच्न आएकी जुनकिरी बोहरा बताउँछिन् । उनले भनिन्, ‘चिसोको समयमा बढी दाउरा बिक्री हुने र मूल्य पनि बढी पाइन्छ ।’ पिठ्युँमा दाउराको भारीसँगै भेटिएकी जुनकिरीले भनिन्, ‘मंसिर र पुस दुई महिना मात्रै दाउरा बेच्छु ।’ आजभोलि होटलहरुमा दाउरा बिक्री हुन छाडेको र चिसोका कारण बजारमा बस्नेहरुले आगो ताप्नका लागि मात्रै दाउरा किन्ने गरेको उनले सुनाइन् । 
 
पिठ्युँमा दाउरा बोकेर बिक्री गर्न झिसमिसेमै सदरमुकाम चैनपुर पुग्ने सुनिता बोहरा दाउराको भारीसँग साटिएको मिहिनेतले परिवारको खर्च राम्रैसँग चलाएको बताउँछिन् । ‘बिहान दाउरा लिएर बजार जाने र आवश्यक सामान किनेर ल्याउने गरेकी छु । सामान आवश्यक नभएको दिन पैसा वचत हुने गरेको छ ।’ 



सुनिताका श्रीमान राजेन्द्र बोहरा रोजगारीका लागि भारतमा छन् । भारतमा श्रीमानले कमाएको पैसा खर्च गर्नुभन्दा खाली समयमा आफूले पनि कमाएर परिवारको खर्च चलाउँदा श्रीमानले पठाएको पैसा बचत हुने गरेको सुनिताले बताइन् । 

यार्साको मूल्यमा गिरावटपछि भारतको रोजगारी

गएको वैशाखदेखि असारसम्म सपरिवार लेकतिर गएर यार्सा संकलन गरेको, तर हालसम्म यार्साको पैसा नपाएको सुनिता बोहराले बताइन् । ‘पाँचजनाको परिवार लेकमा गएर तीन महिनासम्म यार्सा संकलन गरियो । झण्डै आधा किलो यार्सा संकलन पनि गर्यौं । तर, मूल्य पाएको छैन,’ सुनिता भन्छिन्, ‘यार्साको मूल्य दोब्बरले घटेको छ । आफ्नो तीन महिनाको मिहिनेत पनि उठ्दैन । घाटा खाएर बेचेर के काम भयो ?’ 

अहिले घरखर्च चलाउनकै लागि सुनिताका श्रीमान् भारतमा रोजागरी गर्ने गर्दछन् । यार्साबाट कमाइ नै नभएपछि अहिले आफूहरुले पनि घरखर्च चलाउन सहज हेस् भनेर दाउरा बिक्री गर्ने गरेको उनले बताइन् ।
 
केही वर्षपहिलेसम्म प्रतिकिलो १८ लाख रुपैयाँमा बिक्री भएको यार्सागुम्बाको मूल्य पछिल्लो दुई वर्षयता वृद्धि हुनुको साटो दोब्बरले घटेको छ । दुःखको उचित मूल्य नपाएपछि कैयौँ स्थानीय भारतको रोजगारी गर्न बाध्य भएका छन् । दुई वर्षअघि १८ लाख रुपैयाँ प्रतिकिलोमा बिक्री भएको यार्साको अहिले मुस्किलले ९ लाख मुल्य पाइने गरेको छ । 

सुर्मा गाँउपालिका यार्सागुम्बाका लागि उर्भरभूमि हो । त्यहाँका स्थानीय वैशाख महिनादेखि असारको अन्तिमसम्म यार्साका लागि सपरिवार नै लेकतिर जाने गर्दछन् । यार्सावाट मनग्य रुपमा आम्दानी हुन थालेपछि स्थानियवासी तीन महिनासम्म लेकमा नै बस्नेगरी सपरिवार जाने गर्छन् । 

पछिल्लो समय यार्साको मूल्य नै दोब्बरले घटेपछि उनीहरु पीडामा छन् । यार्साको मूल्य दुईगुणा घटेपछि कि दाउराको भारी कि भारतको रोजगारी उनीहरुको बाध्यता बनेको छ । 

  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार २२:३४:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया