आङ सान सु कीको कारकेड दुर्घटनामा परेका सवारीचालक थुनामा

काठमाडाैं– म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु कीको कारकेड खटिएका प्रहरीको मोटरसाइकलसँग ठोकिएको आरोपमा माइक्रोबसका चालकलाई प्रहरीले थुनामा राखेको छ । चालकलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा थुनामा राखिएको छ ।

बिहीबार साँझ करिब साढे ७ बजे सु कीलाई सोल्टी होटल पुर्याएर फर्किने क्रममा त्रिपुरेश्वरमा प्रहरीको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा१ज ६५७७ नम्बरको नीलो माइक्रो आपसमा ठोकिएका थिए ।

दुर्घटनामा मोटरसाइकलचालक प्रहरी सहायक निरीक्षक दीपेन्द्र गुरुङ गम्भीर घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए । अहिले गुरुङको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

माइक्रोचालकलाई सवारी ऐनअनुसार कारबाही हुने प्रवक्त सुवेदीले बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता जयराज सापकोटाका अनुसार माइक्रोचालकले लेन क्रस गरेका कारण दुर्घटना भएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा दुर्घटनापछि प्रहरीले माइक्रोचालकलाई हातपात गरेको देखिन्छ । तर, प्रहरी प्रवक्ताले भने हातपातको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । 

यता, राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला भने प्रहरीले चालकमाथि हातपात गर्नुलाई प्रहरीको दादागिरीको रूपमा लिन्छन् । उनी भन्छन्, ‘सवारी दुर्घटनामा प्रहरी मात्रै होइन, माइक्रोचालक पनि परेका हुन् । उनलाई हातपात गरेर प्रहरी अराजक भयो । प्रहरीले दादागिरी देखाएको छ ।’ 



सवारीचालकलाई प्रहरीले हातपात गर्नुले सवारी मजदुर असुरक्षित छन् भन्ने प्रष्ट भएको उनी बताउँछन् । कानुनअनुसार कारबाही गर्नुको सट्टा प्रहरी हातपातमा उत्रिएर गुण्डागर्दीको शैली अपनाएको उनको भनाइ छ ।
 



  • प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार १५:२२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया