रामचन्द्र पौडेलको प्रस्तावमा ‘किसुनजी’ का खास मान्छे राष्ट्रियसभा उम्मेदवार

राजनीतिमा छोटो समयमै कोही नेताले अवसरको उपभोग धेरै गर्न पाउँछन् । केही नेता चाहिँ पटकपटक अवसरबाट बञ्चित भइरहेका छन् । यस्तै बञ्चित भएकामध्ये एक हुन्– कांग्रेस नेता युवराज शर्मा । 

बाँकेका शर्मा निष्ठाको राजनीति गर्ने नेता भनेर कांग्रेसीजनले आदर गर्ने कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ का खास मान्छे हुन् । उनै शर्मा संसदको माथिल्लो सदन अर्थात् राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । कांग्रेसको सोमबार बसेको बैठकले शर्मालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनी कांग्रेसमा दशकौंदेखि योगदान दिँदै आएपनि अवसर नपाएर अन्यायमा परेका नेता भनेर उनी चिनिन्छन् । अन्यायमा परेको भनिएका यी नेतालाई राष्ट्रियसभा सदस्यमा पुर्‍याउन कसले चाहेका हुन् ? खोजीको क्रममा खुल्यो– वरिष्ठ नेता रामचन्द्र पौडेल ।

पौडेल आफैं पनि निष्ठाको राजनीति गर्ने नेता भनेर चिनिन्छन् । पार्टी संगठनमा दिलोज्यान दिएर खटेका कुनै पनि नेता कार्यकर्तालाई अवसरबाट बञ्चित गराउन नहुने उनको जोड रहँदै आएको छ ।

उनै पौडेलले सोमबार बसेको पदाधिकारी बैठकमा लुम्बिनीबाट कसलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भन्ने कुरा उठ्दा ‘युवराज शर्मा’ फ्याट्टै भनेको एक नेताले फरकधारलाई बताए । उनका अनुसार पौडेलले भनेको नामलाई लिएर पार्टी सभापति शेरबहादुर देउवाले ‘अब्जेक्सन’ नगरी ‘ल हुन्छ’ भन्दै सहमति जनाए । 

२०५१ तिर कृष्णप्रसाद भट्टराईसँग शर्मा मात्रै होइन, नेता पौडेल पनि नजिक थिए । देउवा भने त्यसबेला गिरिजाप्रसाद कोइरालानिकट थिए । यद्यपि, रोचक के छ भने शर्मा ‘एन्टी कोइराला’ हुन् । उनी देउवालाई मत दिने नेता हुन् । तर, कृष्णप्रसाद भट्टराईसँगको ‘लिगेसी’ को आधारमा पौडेलले राष्ट्रियसभा सदस्यको उम्मेदवारमा शर्माको नाम लिए । 



जबकि देउवा भने २२ असोजमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएर दुई दिनपछि राजीनामा दिएका गैर-सांसद गजेन्द्रबहादुर हमाललाई लुम्बिनीबाट उम्मेदवार बनाउन चाहन्थे । शर्माको विगत कोट्याउने हो भने तत्कालीन नेता सुशील कोइराला जीवित रहुञ्जेल प्रतिस्पर्धी बनेका थिए । उनीहरूको निर्वाचन क्षेत्र बाँके–२ हो । 

एकपटक त शर्मा सुशीलविरुद्ध बागी उम्मेदवार बने पनि । शर्मानिकट एक नेताका अनुसार कृष्णप्रसाद भट्टराई बाँकेमा सुशीलसँग ‘ट्याकल’ गराउन चाहन्थे ।



त्यसबेला किसुनजीको एउटा कथन चर्चित थियो, ‘युवराजलाई अर्को क्षेत्र लडायौँ भने युवराज पनि गिरिजाबाबुका मान्छे हुन्छन् । त्यही भएर भिन्नभिन्न क्षेत्रमा लडाउनुहुन्न । एउटै क्षेत्रमा लडाउनुपर्छ, सुशीलका विरुद्ध विद्रोह गर्ने मान्छे चाहिन्छ ।’

उनै नेता शर्मा वरिष्ठ नेता पौडेलको प्रस्तावमा उम्मेदवार बन्ने भएका हुन् । लुम्बिनीबाट हाल राष्ट्रियसभा सदस्य रहेका दृगनारायण पाण्डेयको २० फागुनमा पदावधि सकिँदै छ । उनकै ठाउँमा शर्मा उम्मेदवार बन्ने भएका हुन् । 

पार्टी बैठकमा नेता पौडेलको प्रस्तावपछि उम्मेदवार बन्ने भएपछि शर्मालाई कांग्रेसले न्याय गर्न लागेको रूपमा कतिपयले लिएका छन् । पौडेलले देउवानिकट नेतालाई यसरी उम्मेदवार बनाउने प्रस्ताव गर्दा देउवासँग सभापतिमा १४ औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले गोपाल बस्नेतको नाम प्रदेश–१ बाट प्रस्ताव गरे ।

बस्नेत पनि देउवानिकट नै हुन् । २०५९ सालमा देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा झापाका सभापति बनेका थिए । देउवानिकट नेता बस्नेतलाई राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने प्रस्ताव कोइरालाले गरेका हुन् । प्रस्तावमा ‘अब्जेक्सन’ नआएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार डा. कोइरालाले भनेका थिए, ‘गोपालजी जत्तिका मान्छेलाई ल्याउनुपर्छ राष्ट्रियसभामा, उहाँ अस्ति घाइते पनि हुनुभयो ।’

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तयार गर्ने सन्दर्भमा नेताहरूले अर्को पक्षको नेता भए पनि उम्मेदवार बनाउन प्रस्ताव गर्नुलाई कांग्रेसभित्र नेताहरूको ‘मन मिलेको’ अर्थमा कतिपयले लिन थालेका छन् ।
 
पन्त र मिश्रको नाममा पहिले नै सहमति !

गण्डकीबाट कमला पन्त र सुदूरपश्चिमबाट नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने विषयमा भने मोटामोटी सहमति पहिले नै भएको थियो । दुवै नेता पौडेलनिकट मानिन्छन् । 

पन्त यसअघि राज्यमन्त्री भइसकेकी छिन् । मिश्र भने कैलालीका पार्टी र जिविस पूर्वसभापति भइसकेका छन् । १४ औँ महाविधेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा देउवानिकट उम्मेदवार वीरबहादुर बलायरसँग मिश्र र पन्त केन्द्रीय सहमहामन्त्रीमा पराजित भएका थिए । 

तुलनात्मक रूपमा कांग्रेसबाट राष्ट्रियसभा सदस्य उम्मेदवार बन्ने भएका नेतामध्ये पन्त बढी अवसर पाएकी नेतृ हुन् । कांग्रेसबाट शर्मा, बस्नेत, मिश्र र पन्तबाहेक कृष्णप्रसाद पौडेल र दुर्गादेवी गुरुङ पनि उम्मेदवार बन्ने भएका छन् । 

  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार ७:३५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया