राष्ट्रियसभा निर्वाचन : कांग्रेस र नेकपा (एस) मा छैन दलित उम्मेदवार

राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले एकजना पनि दलित नेतालाई उम्मेदवार बनाएका छैनन् । राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानुनमा दलित उम्मेदवार अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर, कांग्रेस र नेकपा एसले भने आसन्न राष्ट्रियसभा निर्वाचनका लागि एकजना पनि दलित उम्मेदवार नबनाएका हुन् । 

यी दुई दलले यसपटक अन्य, महिला र अल्पसंख्यक समुदायबाट मात्रै उम्मेदवार बनाएका छन् । कांग्रेसले ६ उम्मेदवारको रूपमा सबैको नाम टुंगो लगाउँदा पाँचजना अन्य (खस–आर्य) र अल्पसंख्यक समुदाय (आदिवासी जनजाति) बाट एकजनालाई उम्मेदवार बनाएको हो । 

अन्यमा कांग्रेसले प्रदेश–१ बाट गोपाल बस्नेत, बागमतीबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा र सुदूरपश्चिम प्रदेशबाट नारायणदत्त मिश्रलाई उम्मेदवार बनाएको छ । 

कर्णालीबाट अल्पसंख्यक समुदायको तर्फबाट दुर्गादेवी गुरुङ उम्मेदवार बन्ने भएकी छन् । दलित समुदायबाट कोही पनि नसमेटिएपछि सहमहामन्त्री जीवन परियारले सोमबारको पार्टी बैठकमा कुरा उठाएका थिए । उनले भनेका थिए, ‘अघिल्लोपटक कम्युनिस्टको बाहुल्यता हुँदा उनीहरू आए । त्यतिबेला एकल संक्रमणीय व्यवस्थाबाट कांग्रेसका तीनजना आए । अहिले तीन थपिँदा कांग्रेसबाट एकजना पनि दलित उम्मेदवार बन्न नपाउने ? यसमा तपाईंहरूले ध्यान दिनुपथ्र्यो ।’

जवाफमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका अन्य दलसँग सिट भागबण्डा गर्दा कांग्रेसको भागमा दलित उम्मेदवार उठाउने सिट नपरेको बताएका थिए । 

यस्तै, सत्तारुढ गठबन्धनमा रहेको अर्को दल नेकपा (एकीकृत समाजवादी) ले अल्पसंख्यक समुदायको तर्फबाट जयन्ती राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनको उम्मेदवारी प्रदेश–१ बाट हुने भएको हो ।



पाँच सिट पाएको यो दलले बाँकी चार सिटमा भने अन्य (खस–आर्य) तर्फबाट उम्मेदवार मात्रै बनाउने भएको छ । नेकपा एसले बागमतीमा गोमा तिमिल्सिना, लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरे, कर्णालीमा उदय बोहरा र सुदूरपश्चिममा मदनकुमारी शाहलाई उम्मेदवार बनाउने भएको हो ।

नेकपा एसबाट पनि दलित उम्मेदवार भने शून्य छ । गठबन्धनको अर्को दल माओवादी केन्द्रले भने उम्मेदवार टुंगो लगाउन बाँकी छ । केन्द्रीय सदस्यसमेत रहेका प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो ‘मौसम’ ले मंगलबार १० बजेभन्दा अगाडि पुरानो स्थायी कमिटीको बैठक बसेर उम्मेदवारको नाम टुंगो लगाउने बताए ।



सत्तागठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने दलित समुदायका नेतालाई राष्ट्रियसभाको उम्मेदवार बनाएको छ । उसले रूपन्देहीका राजेश विश्वकर्मालाई उम्मेदवार बनाएको हो ।  

विश्वकर्मा जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारका पुराना कलाकार पनि हुन् । राष्ट्रियसभा निर्वाचनका लागि जनमोर्चाको भागमा एक सिट मात्र परेको छ । गठबन्धनसँग राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने दल नेकपा एमालेले पनि दलितसहित सबै क्लस्टरबाट उम्मेदवार टुंगो लगाएको छ ।

 प्रदेश–१ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी, प्रदेश–२ बाट भीनवार यादव, विना शाह, बागमतीबाट गोपाल शाक्य, नीरकुमारी कुँवर, गण्डकीबाट गोविन्दबहादुर नेपाली, लीला पोखरेल थनेत, लुम्बिनीबाट कृष्णबहादुर नेपाली, भारती खनाल, रामदयाल गुप्ता, कर्णालीबाट पदमबहादुर माझी, गंगा थापा, चुडामणि शर्मा र सुदूरपश्चिमबाट नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाउने भएको छ । 

एमालेले अल्पसंख्यक, अन्य, महिला मात्रै दलित समुदायबाट पनि उम्मेदवार बनाएको छ । दलित समुदायबाट एमालेले तीनजनालाई उम्मेदवार बनाउने भएको हो ।  राष्ट्रियसभामा २० सिट खाली हुँदै छ । त्यसमध्ये १९ सिटमा १२ माघमा निर्वाचन हुन लागेको हो ।  

  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार ९:१२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया