पार्टीको सिद्धान्त र संघर्षलाई नछाड्ने बिजुक्छेको भनाइ

भक्तपुर– भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १७औँ तथा ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको १०औँ वार्षिकोत्सव एवं दुईदिने शैक्षिक प्रर्दशनी सम्पन्न शुक्रबार भएको छ । सो अवसरमा विद्यार्थीद्वारा प्रस्तुत विभिन्न शोधपत्र र ३१ वटा रोबोटसहितको दुईदिने शैक्षिक प्रर्दशनीसमेत आयोजना गरिएको थियो । 

कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिलाई कसैले पनि ख्यालठट्टाको विषय बनाउन नहुने बताए । उनले नेमकिपाले आफ्नो सिद्धान्त र संघर्षलाई नछाड्ने प्रतिबद्धता व्यक्त गरे । 

युवापुस्ता राजनीतिमा नआए देश खतरामा पुग्ने चर्चा गर्दै उनले युवापुस्तामा पलाएको राजनीतिक वितृष्णालाई हटाएर राजनीतिमा ल्याउन सरकारले राम्रो काम गर्नुपर्ने बताए । उनले नाफा र कमिसनका लागि मात्रै विश्वविद्यालय र कलेजहरू सञ्चालन गर्नु गलत भएको बताउँदै भक्तपुर नगरपालिकालाई विश्व विद्यालय सञ्चालनको स्वीकृति दिए नमुना बनाएर देखाउने दाबी गरे । 

कार्यक्रममा नेमकिपाका नेता एवं सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजमा देशभरिका विद्यार्थीले कम शुल्कमा गुणस्तरीय शिक्षा लिएको चर्चा गर्दै विश्वविद्यालय माग गर्दा सरकारले नदिएको गुनासो गरे । 

प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईंले प्रदेश सरकारले काम गर्न नसकेको र काम नपाएको सन्दर्भ कोट्याउँदै प्रदेश सरकारको अस्तित्व राजनीतिक बुख्याँचाको ररूपमा रहेको टिप्पणी गरे । अर्का सांसद सिर्जना सैंजुले महिलाले पद पाउँदैमा समानता आउँछ भन्ने भ्रमलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षाको विकासमा फड्को मारेको बताउँदै नगरपालिकाले विभिन्न विषयका कलेज सञ्चालन गरी शैक्षिक जगत्मा उत्कृष्ट र नमुना बन्न सफल भएको बताए । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रका रूपमा विकास गर्दै लैजाने बताइन् । 



कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा. त्रिरत्न बज्राचार्य, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक डा. प्रेमनाथ मास्के, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका प्राचार्य सुनील दुवालले कलेजको प्रगतिबारे चर्चा गर्दै गुणस्तरीय शिक्षामा कलेजले कुनै कसर बाँकी नराख्ने बताए । 



  • प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार १३:१०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया