नारायणहिटीमा रेस्टुरेन्ट चलाउने बतास समूहको एडभाइजर नै प्रधानमन्त्री पत्नी आरजु

व्यापारिक घराना बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्राहलयमा रेस्टुरेन्ट खोल्नेगरी जग्गा भाडामा लियो । २०७७ सालमै उक्त जग्गा भाडामा लिइएको थियो। जसमा अहिले भवन निर्माण गर्नेदेखि लिएर सजावटको काम चलिरहेको छ ।
 
बतास अर्गनाइजेसन अन्तर्गत बिपिएस लिजिङ कम्पनीले महिनामा दुई लाख २१ हजार भाडा दिनेगरी सम्झौता गरेको थियो । बतास समूहले नारायणहिटी मात्र नभएर पशुपतिनाथ मन्दिरमा क्षेत्रमा रहेको धर्मशालामा पनि होटल सञ्चालन गर्दै आएको छ । धर्मशालालाई भाडामा लिएर उसले होटल चलाइरहेको हो ।

यी दुवै कार्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकाे पालामा भएको थियो । त्यो बेला एमाले नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । उनकै कार्यकालमा उक्त सम्झौता भएको थियो । तर, भट्टराईले यो विषयमा आफू अनभिज्ञ रहेको प्रष्टिकरण दिइसकेका छन् ।

अहिले बताससँगै नेकपा एमालेको पनि चर्को आलोचना भइरहेको छ । यसअघि यति समूह र ओम्नी समूहले विभिन्न ठेक्का आफ्नो हात पारेको थियो । प्रधानमन्त्री तथा मन्त्रीहरूलाई विभिन्न प्रलोभनमा पारेर दुई समूहले अर्बौंको भ्रष्टाचार गरेका थिए ।

बतास समूहलाई पनि तत्कालीन ओली सरकासँगै जोडेर हेर्न थालिएको छ । तर, बतास समूह अन्तर्गत बतास फाउण्डेसनको एडभाइजरमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा रहेको पाइएको छ ।

बतास फाउण्डेसनले आफ्नो बेवसाइटमा राखेको सूचनामा आरजूलाई एडभाइजर (सल्लाहकार) को रूपमा राखेको छ । सन् २००८ मा स्थापना भएको बतास फाउण्डेसनको एडभाइजरको रूपमा आरजूसँगै डा. सुमन के. कर्ण, खेमराज उपाध्याय, क्रिस वार्डेल छन् ।



आनन्दराज बतास सञ्चालक रहेको बतास कम्पनीको निर्देशकमा २००५ कि मिस वर्ल्ड नेपाल सुगारिका केसी लगायतका छन् । बतास फाउण्डेसनले कोरोना महामारीको समयमा विभिन्न अभियान सञ्चालन गर्दै आर्थिक संकलन गरेको थियो ।

रू. दान, महामारीमा ज्यान भन्ने नारासहित बतास फाउण्डेसनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्टका साथै थप आईसीयू जडान गर्ने अभियान चलाएको थियो । जसमा सन् २००५ कि मिस वर्ल्ड नेपाल सुगारिका केसीसँगै, सन् २०१० कि मिस वर्ल्ड नेपाल सदिक्षा श्रेष्ठ, भलिबलको राष्ट्रिय खेलाडी सिपोरा गुरूङ, सन् २०११ कि मिस वर्ल्ड नेपाल मलिना जोशी लगायतले ऐक्यबद्धता जनाएका थिए ।



त्यस्तै रू. १०० दान गरौं, महामारीमा प्राण राखौं भन्ने नारासहित सामुदायिक, सरकारी अस्पतालमा अक्सिजन प्लान्ट र कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भन्दै सहयोग उठाएको थियो । एकातिर समाज सेवाको नाममा पैसा उठाउँदै आएको बतास समूहले अर्कोतिर भने महत्वपूर्ण ठेक्काहरू हत्याउँदै आएको छ । 

यसको पछाडि एउटा मात्र दलको साथ र सहयोगको आधारमा सम्भव नहुने जानकारहरू बताउँछन् । 

पर्यटन मन्त्रालयको मौखिक आदेशपछि बतास थप बलियो:

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा रेस्टुरेन्ट सञ्चालनका लागि भइरहेको भवन निर्माणको कार्य तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले निर्देशन दियो । सोही आधारमा नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले तत्काल काम रोक्न निर्देशन दिएको थियो । 

मन्त्रालयको मौखिक आदेशको आधार भन्दै विकास समितिले काममा रोक लगाएको थियो । यसरी मन्त्री प्रेम आले मगरको मौखिक निर्देशनपछि विकास समितिले रोक लगाउन आदेश दिन नसक्ने धेरैको तर्क छ ।

यसरी आदेश दिनुको पछाडि दुई वटा तर्क हुनसक्छ । 

पहिलो- बतास समूहलाई अदालतबाटै आदेश लिएर ल्याउने र भोलिको अर्को सरकारले पनि कुनै रोक लगाउन नसक्ने ।

दोस्रो भनेको आरजुसँगको आर्थिक लेनदेनमा गडबडी भएपछि तर्साउन मात्रै खोजेको । 

मन्त्रालयको मौखिक आदेशपछि बतास समूह आफुले काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने मनसायमा देखिएको छ । अदालतबाट रेस्टुरेन्ट सञ्चालन गर्न दिनु भन्ने आदेश दिलाएर नारायणहिटीमा आफ्नो बलियो उपस्थिति देखाउन खोजिएको छ ।

अर्को कुरा आरजु र बतास समूहबीचको आर्थिक लेनदेनमा समस्या देखिएपछि तर्साउन आफ्नो पावरको प्रयोग पनि गरेको हुनसक्ने देखिएको छ । 


  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १४:३६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया