त्रिपालले छोपेर राखेको १५ महिनापछि रेल चलाउने तयारी
फाइल तस्वीर

सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद गरेको नेपाली ध्वजावाहक रेल त्रिपाल ओढाएर राखिएको करिब १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो ।

मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ । सरकारले गत वर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरेको दुइटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेसनमा त्रिपालले ढाकेर राखिएको छ ।

लामो समयसम्म ट्रयाकमा त्रिपाल ओढाएर राखिएको भन्दै तीव्र आलोचना भइरहे पनि सरकार भने रेल खरिद गरेको करिब १५ महिनामा बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउँदै प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्री बीचको छलफलपछि उद्घाटनको मिति तय हुने जानकारी दिइन् ।

प्रधानमन्त्री देउवाले यही पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने तयारी भएको छ । यद्यपि, प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति र कार्यक्रम भने सार्वजनिक भइसेकेको छैन ।



यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव ई. रवीन्द्र नाथ श्रेष्ठले पनि जनकपुर–जयनगर रूटमा रेल सञ्चालनको सबै तयारी पूरा भएको जानकारी दिँदै भारत सरकारको तर्फबाट उद्घाटनको मितिको प्रतीक्षामा रहेको बताए । उनले रेल सञ्चालनको लागि हाल दैनिक रुपमा ट्रयाक परिक्षण भइरहेको पनि बताए ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव ई. श्रेष्ठले केही नदीमा आन्तरिक जल मार्ग विकासको लागि काम भएरहेको पनि जानकारी दिए । उनले चालु आर्थिक वर्षभित्रै कर्णाली, कालीगण्डकी, कोसी, नारायणी र त्रिशुली नदीमा चालु आर्थिक वर्षभित्रै जल मार्ग सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरी यात्रा गर्नका लागि प्रयास गरि रहेका बताए । उनले जल यातायात नियमन गर्न ऐन कानुन अगाडि बढाएको पनि बताए ।



सचिव ई. श्रेष्ठले नेपाल अन्तर्राष्ट्रिय समुद्री संगठनको सदस्य राष्ट्र भएको बताउदैं त्यसका धेरै सन्धीहरुको अध्ययन गर्न मन्त्रालयले समिति गठन गरेको पनि जानकारी दिए ।

  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १४:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया