राष्ट्रपति भण्डारी पोल्यान्ड प्रस्थान
जिम्मेवारी उपराष्ट्रपतिलाई

काठमाडाै‌– राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्डमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । पोल्यान्डको कातोबीचे सहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी  त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

भ्रमणमा वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी छ । राष्ट्रपति भण्डारीले सोमबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि आइतबार उनले पोल्यान्डमा रहेका नेपालीलाई सम्बोधन गर्नेछिन् । । 

उनलाई बिदाइ गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री तथा मन्त्रीलगायत उच्च सरकारी अधिकारी र सुरक्षा प्रमुख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेका थिए । सो क्रममा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीका सम्मानमा २१ तोपको सलामी अर्पण गरेको थियो । 

परराष्ट्र मन्त्रालयका अनुसार सोमबार नै राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेसले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी र पोल्यान्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाबीच आगामी मंगललबार द्विपक्षीय भेटघाट हुने जनाइएको छ । राष्ट्रपति भण्डारी यही मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम छ । 

जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघको संरचना महासन्धि (युएनएफसिसिसी)का पक्षको २४औँ सम्मेलन (कोप २४) पोल्यान्डको कातोबीचेमा मंसिर १६ देखि २८ गतेसम्म आयोजना हुँदै छ । विश्वका १ सय ९६ मुलुकका करिब ३० हजार व्यक्तिले भाग लिने सो सम्मेलनलाई जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय मेलाका रूपमा लिइएको छ । 

राष्ट्रपति भण्डारी औपचारिक भ्रमणको सिलसिलामा पोल्यान्डतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ । 



राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२)बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 



  • प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार १४:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया