प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित, भारत भ्रमण के होला ?

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनिश्चित बनेको छ । उनी सहभागी हुन जाने भनिएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएपछि उनको भारतको भ्रमण अनिश्चित बनेको हो । 

प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमणको सिलसिलामा आइतबार त्यसतर्फ जाने तयारी गरेका थिए । उनको भ्रमणमा दलमा ३० जना रहने र भारत भ्रमणका बेला केही सम्झौतामा हस्ताक्षर समेत गर्ने तयारी गरिएको थियो । 

‘हामी भ्रमणको घोषणा गर्ने अन्तिम तयारीमा छौं, तर प्रधानमन्त्रीज्यू सहभागी हुने भनिएको कार्यक्रम नै स्थगित भएको छ । अब भ्रमण पनि स्थगित हुन्छ वा हुँदैन भारतबाट केही खबर आएको छैन,’ परराष्ट्र मन्त्रालय उच्च स्रोतले फरकधारसँग भन्यो । 

प्रधानमन्त्री देउवाले भाइब्रेन्ट गुजरात ग्लोबल समिटलाई सम्बोधन गर्ने र त्यही भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने तयारी गरिएको थियो । 
‘अब प्रधानमन्त्रीज्यूको भारत भ्रमण हुन्छ वा हुँदैन भन्नेमा हामी नै दुविधामा छौं,’ स्रोतले भन्यो । 

यही जनवरी १० बाट भारतको गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिटको १०औं संस्करणको उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले गर्ने घोषणा यसअघि नै गरिएको थियो । गुजरात मोदीको गृह राज्य हो । 

भारतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिन ह्वात्तै बढेपछि गुजरात सरकारले भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित गर्ने निर्णय आज गरेको हो । समिट जनवरी १० देखि १२ सम्म तीन दिनसम्म चल्ने तय गरिएको थियो । 



गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले कोरोना संक्रमणको अवस्था बुझेपछि समिट स्थगित गरिएको थियो । बुधबार गुजरातामा ३ हजार ३५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए । जनवरी १ मा गुजरातमा मात्र १ हजार ५९ जना संक्रमित थपिएका थिए । अहिले गुजरातमा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । 

समिट आयोजना गर्दा कोरोना संक्रमण फैलने भन्दै मुख्यमन्त्री पटेलले स्थगित गर्ने निर्णय गरेका हुन् । समिटमा २६ देशबाट पाहुना बोलाइएको थियो । 



  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १३:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया