प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको आइतबारबाट सुरु हुने तीन दिने भारत भ्रमण स्थगित भएको छ । 

कोरोना संक्रमण बढेपछि गुजरात सरकारले आज भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित गर्ने निर्णय गरेसँगै देउवाको भारत भ्रमण स्थगित भएको हो । देउवा उक्त समिटम सहभागी हुन आइतबार भारत जाँदै थिए । 

भारतको विदेश मन्त्रालयले आज नै देउवाको भ्रमण स्थगित भएको जानकारी नयाँदिल्लीस्थित नेपाली दूतावासलाई समेत दिइसकेको छ । 

‘आज संयुक्त रूपमा भ्रमणको औपचारिक घोषणा गर्ने भन्ने थियो । तर अचानक भ्रमण स्थगित गर्नुपरेको जानकारी भारतको विदेश मन्त्रालयले दिएको छ,’ नयाँदिल्लीस्थित नेपाली दूतावास स्रोतले फरकधारसँग भन्यो । 

परराष्ट्र मन्त्रालयले देउवाको भारत भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो । उनको भ्रमणमा दलमा ३० जना रहने र भारत भ्रमणका बेला केही सम्झौतामा हस्ताक्षर समेत गर्ने तयारी भएको थियो । 

प्रधानमन्त्री देउवाले भाइब्रेन्ट गुजरात ग्लोबल समिटलाई सम्बोधन गर्ने र त्यर्ही भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने तयारी गरिएको थियो । 



यही जनवरी १० बाट भारतको गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिटको १०औं संस्करणको उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले गर्ने घोषणा यसअघि नै गरिएको थियो । गुजरात मोदीको गृह राज्य हो । 

भारतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिन ह्वात्तै बढेपछि गुजरात सरकारले भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित गर्ने निर्णय आज गरेको हो । समिट जनवरी १० देखि १२ सम्म तीन दिन चल्ने तय गरिएको थियो । 



गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले कोरोना संक्रमणको अवस्था बुझेपछि समिट स्थगित गरिएको थियो । बुधबार गुजरातामा ३ हजार ३५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए । जनवरी १ मा गुजरातमा मात्र १ हजार ५९ जना संक्रमित थपिएका थिए । अहिले गुजरातमा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । 

समिट आयोजना गर्दा कोरोना संक्रमण फैलने भन्दै मुख्यमन्त्री पटेलले स्थगित गर्ने निर्णय गरेका हुन् । समिटमा २६ देशबाट पाहुना बोलाइएको थियो । 
अब प्रधानमन्त्री देउवाको भारत भ्रमण पुनः कूटनीतिक च्यानल मार्फत तय गरिने भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १६:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया