ब्युटिसियन सांसद् !

काठमाडौं/ लाहुरेसँग बिहे गरेकोले उनलाई आर्थिक पक्षको कुनै चिन्ता थिएन ।

राम्रोराम्रो ठाउँ घुमेर, मिठोमिठो खाएर र महँगा लुगा लगाएर उनले जीवन बिताउन सक्थिन् । तर, उनले त्यसो गरिनन् । त्यसैले त उनी अरुभन्दा फरक भइन् र अहिले समानुपातिकबाट गण्डकी प्रदेशकी सांसद छिन् मीना गुरुङ ।

मीना गुरुङको बिहे १५ वर्षकै उमेरमा भयो । त्यसको दुई वर्षपछि लाहुरे पतिको पछि लागेर हङकङ गइन् । लगातार ११ वर्ष त्यहीँ बसिन् । त्यहाँ उनले एक विद्यालयमा पढाउन थालिन् ।

लगभग साढे चार वर्ष हङकङकै ब्रिटिस फोर्स ब्रोडकास्टिङ सर्भिस (बिएफबिएस)को रेडियोमा उनले कार्यक्रम सञ्चालन गरिन् । उनको त्यतिबेलाको तलब ८ हजार हङकङ डलर थियो, जुन उनको लाहुरे पतिको भन्दा धेरै थियो ।

‘रेडियोमा काम गर्दा मैले आफूलाई चिन्ने मौका पाएँ, ममा आत्मविश्वास पनि बढेर आयो,’ उनले सम्झिन्, ‘बिबिसीको निम्तोमा तीनपटक लन्डन गएर रेडियोसम्बन्धी तालिम पनि लिएँ । त्यसले मलाई झन् परिपक्व बनायो ।’

हङकङको बसाइलाई अझ फलदायी बनाउन उनले ब्युटिसियन सम्बन्धी विशेष कोर्सहरु पनि गरिन् । साथै प्रशिक्षणकै दौरान उनले सौन्दर्य कलामा विभिन्न अभ्यास र प्रयोग गर्न पाइन् । उनी नेपालमा छँदा पोखराकै पृथ्वीनारायण क्याम्पस पढ्थिन् ।



त्यतिबेला उनको मस्तिष्कमा कम्युनिस्ट विचारधाराको प्रभाव परिसकेको थियो । साथै विद्यार्थी आन्दोलनहरुमा पनि सहभागी हुन्थिन् । राजनीतिको चस्का उनलाई त्यतिखेरै लागेको थियो सायद । तर हङकङमा बस्दा उनीभित्रको त्यो राजनीतिक झिल्को सुषुप्त अवस्थामै रह्यो । उनी २०४७ सालमा सधैंका लागि नेपाल फर्किइन् । त्यो बेला नेपालमा भर्खर २०४६ सालको जनआन्दोलन सकेर राजनीतिक गर्मी बढिरहेको थियो ।

‘तर मलाई त्यतिबेला सक्रिय राजनीति गर्ने समय मिलेन, ममाथि पारिवारिक जिम्मेवारी पनि थियो,’ उनले भनिन्, ‘बालबच्चा सानै थिए, उनीहरुको हेरचाह गर्नु थियो ।’ परिवारिक जिम्मेवारी हुँदाहुँदै पनि उनले पोखराको आफ्नै घरमा हङकङ ब्युटी पार्लर खोलिन् ।



त्यतिबेला पोखरामा हङकङको सौन्दर्य शैली भित्र्याउने जस उनलाई नै जान्छ । उनले ब्युटी पार्लरलाई हङकङ ब्युटी इन्स्टिच्युटका रुपमा बिस्तार गरिसकेकी छिन् । पोखराका ब्युटिसियनहरुलाई संगठित गर्ने काम उनैले थालेकी हुन् । २०५९ सालमा उनले आफ्नो अध्यक्षतामा ब्युटिपार्लर एसोसियसन कास्की गठन गरिन् । लगभग साढे दुई वर्ष उनले संस्था चलाइन् ।

‘त्यतिबेला ब्युटिसियन पेशा फस्टाइसकेको थियो, तर अझै पनि धेरैले आफूलाई सौन्दर्यकर्मी हुँ भन्ने स्थिति आइसकेको थिएन, एकप्रकारको हिच्किचाहट थियो,’ उनले थपिन्, ‘त्यही भएर सौन्दर्यकर्मीहरुलाई संगठित गर्न जरुरी थियो । संगठन बनाइसकेपछि हामीले सबैलाई आफ्नो पेशा थप मर्यादित बनाउन प्रेरित गर्यौं ।’ उनको संगठनात्मक गतिविधि पोखरामा मात्र सीमित रहेन ।

उनकै पहल र अध्यक्षतामा २०६१ सालमै केन्द्रिय स्तरको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल स्थापित भयो । उनले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)मा समेत स्वास्थ्यकर्मी युनियन अन्तर्गत सौन्दर्यकर्मीहरुलाई समावेश गर्न लगाइन् । महिलालाई सिप सिकाउने र स्वरोजगार बनाउने अभियानमा उनी निरन्तर लाग्दै आएकी छिन् ।

सायद त्यही भएर उनले जिफन्टमा उपाध्यक्षकै जिम्मेवारी पाएकी छिन् । उनले मलेसियाको ब्रान्डसँग सहकार्य गरेर पोखरामै क्लारा इन्टरनेसनल एस्थेटिक कलेज पनि सञ्चालन गरिरहेकी छिन् । १४ वटा देशमा मलेसियाले फ्रेन्चाइजी दिएको छ । नेपालमा उनैले भित्र्याएकी हुन् । उनलाई छोराबुहारीले समेत ब्युटिसियन व्यवसायमा सघाएका छन् ।

मीना गुरुङ । तस्वीर: मीना गुरुङकाे फेसबुक पेजबाट ।

हङकङ आइडी त्यागेर उनका छोराले पोखरामै हङकङ युनिसेक्स सलुन चलाइरहेका छन् । ‘नेपालका काठमाडौं र अरु सहरमा पनि सलुन खोल्ने योजना छोराको छ,’ उनी प्रसन्नता व्यक्त गर्दै भनिन्, ‘छोराले अहिले लरियल कम्पनीमार्फत बेंग्लोरमा ब्युटिसियनसम्बन्धी विशेष तालिम लिइरहेको छ ।’ २०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा उनी औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गरेकी थिइन् ।

एमाले कास्कीकी केन्द्रिय समिति सदस्य उनी पार्टीका कार्यक्रमहरुमा पनि सक्रिय छिन् । पार्टीले उनको सक्रियताको कदर गर्दै उनलाई प्रदेश ४ को प्रदेश सभामा सांसद बनाएको हो । ‘प्रदेश मामिला समितिमा छु । त्यसका विभिन्न जिम्मेवारी पूरा गर्नुपर्छ,’ सांसदका रुपमा उनले भनिन्, ‘अहिले प्रदेशका विधानहरु बनाउने काम गर्न बाँकी छ । विधायकका रुपमा कानुन बनाउँदैछौं ।’

सांसदका रुपमा पाउने भत्ता उनले आमाको सम्झनामा खोलिएको डिके हेल्थ वुमन फाउन्डेसनलाई दिने योजना बनाएकी छिन् । ‘कतिले सांसद भएपछि मलाई ब्युटिसियनको तालिम दिन बोलाउँदैनन्,’ उनले भनिन्, ‘कहिलेकाहीँ निम्तो आयो भने विगतमा झैं तालिमहरु दिँदै आइरहेको छु । सांसद भए पनि आफ्नो काम छाड्नु भएन नि ।’

उनी प्रदेशलाई जडिबुटीको खानी मान्छिन् । जडिबुटी प्रयोग गरेर सौन्दर्य प्रसाधनहरु उत्पादन गर्न सकिने सम्भावनादेखि उनी परिचित छिन् । उनले विगत २० वर्षदेखि मनोरमा चूर्ण भन्ने प्रोडक्ट उत्पादन गर्दै आएकी छिन् । यस्तै प्रोडक्ट अरु पनि उत्पादन गर्न सके सबैलाई फाइदा हुने उनी देख्छिन् ।

यसपटक समानुपातिक सांसद बने पनि अर्को पटक भने प्रत्यक्षमै उठ्ने कि भन्ने उनलाई लाग्दैछ । भन्छिन्, ‘तर, मैलेमात्र सोचेर भएन, साथीभाइ र संगठनको पनि मलाई साथ चाहिन्छ । साथ मिल्यो भने प्रत्यक्ष उम्मेदवार भएरै जनतामाझ जानेछु ।’

फरकधार अर्काइभबाट

  • प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार १६:१७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया