मिथिला टेक्निकल एकेडेमीमा आर्थिक चलखेल : प्रवेश परीक्षा पास गरेका विद्यार्थीलाई हटाएर अन्यको भर्ना

जनकपुरधामस्थित मिथिला टेक्निकल एकेडेमी प्रालिले आफूहरुलाई अध्ययन–अध्यापनबाट वञ्चित गर्न खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।  हेल्थ असिस्टेन्टको खाली कोटामा डेढ महिनाअघि नामांकन गराएका विद्यार्थीले यस्तो आरोप लगाएका हुन् । 

मिथिला टेक्निकल एकेडेमीले एचएमा विद्यार्थी भर्नाका लागि लिएको परीक्षामा १९ जना विद्यार्थी ‘सर्ट लिस्ट’मा परेका थिए । बाँकी १३ जना विद्यार्थीको नाम वैकल्पिक सूचीमा निकालिएको थियो । 
१९ जनामध्ये १५ जना विद्यार्थीले मात्रै नामांकन गराएपछि वैकल्पिक सूचीमा आफूहरुको नाम रहेकोले नामांकन गराएको विद्यार्थी रिमा रामले बताइन् । 

१५ जनाले मात्रै नामांकन गराएपछि वैकल्पिकमा नाम रहेकाले आफूहरुले समयमै नामांकन गराएको उनको दाबी छ । ‘वैकल्पिक सूचीमा रहेकालाई ७ दिनभित्र नामांकनका लागि निवेदन दिन सूचना प्रकाशन गरिएको थियो । सोहीअनुसार समयमै नामांकन गरायौँ,’ उनले भनिन्,‘अहिले कलेज प्रशासन र सिटिइभिटीका पदाधिकारीले डेढ महिनापछि आफूहरुलाई त्यहाँबाट हट्न दबाब दिइरहेका छन् ।’

एक विद्यार्थीका अभिभावक विवेककुमार यादवले कलेजले ४ लाख ४ हजारमा तीन वर्षको कोर्सको शुल्क निर्धारण गरेको र आफूहरुले सोहीअनुरुप प्रथम चरणमै २ लाख १ हजार ६ सय रुपैयाँ बुझाएर विद्यार्थीको नामांकन गराइसकेको, तर डेढ महिनापछि उनीहरुलाई त्यहाँबाट हटाउन अभिभावकलाई दबाब आइरहेको सुनाए । 

कलेजले अभिभावकलाई बारम्बार फोन गरेर विद्यार्थीलाई हटाउन दबाब दिइरहेको उनले बताए । सिटिइभिटीले कलेजलाई र कलेजले विद्यार्थीको अभिभावकलाई दबाब दिइरहेकोले आफूहरुले अन्त्यमा उच्च अदालत जनकपुरमा निषेधाज्ञा मुद्दा समेत दिएको उनले बताए । 

अदालतले पुस २८ गतेका लागि अन्तरिम आदेशको छलफलको पेसी तोकी सोको जानकारी दुवै पक्षलाई दिएर नियमानुसार गर्न आदेश दिएको छ । छलफलको अवधिसम्म निवेदक विद्यार्थीहरु रिमा राम, कृष्णा सिंह, सचिनकुमार झालगायतलाई अध्ययन अध्यापनमा कुनै अवरोध नगर्न भन्दै उच्च अदालत नियमावली २०७३ को नियम ४२ को १ को (क) बमोजिम विपक्षीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो । 



यसअघि जनकपुरधाम–१२ बस्ने विद्यार्थी चन्दनकुमार दाससहित धनुषाको मिथिला नगरपालिका–८ कुसुमबिसौनाका अजयकुमार महतो, हंसपुर नगरपालिका–५ सुगानिकास बस्ने नीरजकुमार मण्डललगायतका विद्यार्थीले मिथिला टेक्निकल एकेडमीले आर्थिक चलखेल गर्नका लागि जेहेनदार विद्यार्थीलाई नामांकनबाट वञ्चित गरेको आरोप लगाएका थिए । 

यता, मिथिला टेक्निकल एकेडमीका सञ्चालक गणेश साहले एकेडमीले ती विद्यार्थीलाई समयमै नामांकन गराउन पटक–पटक ताकेता गर्दा पनि उनीहरुले समयमा नामंकनका लागि कुनै चासो नदिँदा उनीहरुको स्थानमा अन्य विद्यार्थीको नामांकन गरिएको बताए ।



  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १८:४२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया