हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौं : मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण श्रम निर्यात रहेको बताएका छन् । 

बिहीबार नेपाल निर्यात परिषद् (इकोन)को २४औं साधारणसभा तथा छैठौं निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको भन्दै मन्त्री शर्माले त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जाेड दिए । 

उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सृष्टि गर्नु नै समस्याको समाधान रहेको जिकिर गरे ।

उनले भने, ‘हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौं । यही नै मुख्य समस्या हो । सङ्कटको कारण यही हो । यसलाई समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु र हाम्रो व्यवसायलाई वृद्धि गर्नु अनि रोजगारी सृष्टि गर्नुको अर्को विकल्प छैन ।’ 

विभिन्न वस्तुहरूको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 



मन्त्री शर्माले इकोनले निर्यातको सानो ‘डोरेटो’ निर्माण गरेको बताउँदै संस्थाको प्रशंसा गरे ।

‘इकोनले निर्यातको डोरेटो बनाएको छ । यसलाई हाइवेमा नबदलेसम्म हाम्रो व्यापार घाटा अन्त्य हुन सक्दैन’, उनले भने, ‘डोरेटो तयार भएकाले अब हामी हाइवेमा बदल्न नयाँ ढङ्गले सोचौं ।’



उनले नीतिगत र संरचनागत सुधारका लागि सकार सधैँ प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । त्यस्तै विगतमा बनाइएका आर्थिक नीति तथा सन्धी सम्झौताहरूको समीक्षा गर्ने समय पनि आएको बताए ।


 

  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ७:३२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया