तथ्यांकसँग किन तर्सिए अर्थमन्त्री खतिवडा ?

काठमाडौं– विश्व बैंकको एउटा प्रतिवेदनसँग तर्सिएका अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका प्रतिनिधिसँग रोष व्यक्त गरेका छन् ।

केही हप्ताअगाडि विश्व बैंकले सार्वजनिक गरेको लगानीको अवस्थासम्बन्धी रिपार्ट ‘डुइङ विजनेस २०१९’ मा नेपाल ५ स्थान तल खस्केपछि उनी तनावमा रहेको अर्थ मन्त्रालय स्रोत बताउँछ । 

खासै चर्चामा नरहेको उक्त रिपोर्टसँग अर्थमन्त्री खतिवडा किन तर्सिए त ? अर्थ मन्त्रालय स्रोत भन्छ, ‘नेपाल राष्ट्रबैंक र योजना आयोगमा लामो अनुभव भएकाले पनि अर्थमन्त्रीलाई तथ्याङकको महत्व थाहा छ । उनी तथ्यांककै आधारमा आफू सफल भएको देखाउन चाहन्छन् ।’ 

डुइङ विजनेस रिपोर्टले लगानीको अवस्था चित्रण गर्छ । अर्थमन्त्री भएको एक महिना नबित्दै जारी गरेको स्वेतपत्रमा उनले नेपालमा लगानीको अवस्था खस्किएको उल्लेख गरेका थिए । उक्त स्वेतपत्रमा लगानीको अवस्था चित्रण गर्न डुइङ बिजनेस रिपोर्टकै तथ्यांक प्रयोग गरिएको थियो । त्यतिबेला नेपाल १ सय ५ औं स्थानमा थियो । 

‘आफू अर्थमन्त्री रहेकै बेला नेपालको अवस्था ५ स्थान तल खसेको रिपोर्ट आएपछि अर्थमन्त्रीलाई तनाव भएको हो’ अर्थमन्त्रालय स्रोतको दाबी गर्छ, ‘रिपोर्ट बनाउने उही विश्व बैंक हो, तर आफ्नो पालामा जसरी पनि तथ्यांक राम्रो देखिनुपर्ने वहाँको जिरह मात्रै हो ।’

गत मंसिर १ गते कर सप्ताहको उद्घाटन भाषणमै उनले विश्व बैंकको उक्त प्रतिवेदनमाथि आपत्ति जनाएका थिए । प्रतिवेदन पुनरावलोकन गर्न समेत आग्रह गरेका उनले शुक्रबार बैंकका प्रतिनिधिलाई अर्थ मन्त्रालयमै बोलाएर प्रतिवेदनको गणना विधि सुधार गर्नुपर्ने सुझाव दिए ।



कर विवरण सम्बन्धि प्राविधिक कुरालाई लिएर उक्त प्रतिवेदनले नेपाललाई ५ स्थान तल झार्नु आपत्तिजनक रहेको अर्थमन्त्री खतिवडाको तर्क थियो । उनले भनका थिए, ‘कर कार्यलयमा मासिक उपलब्ध गराउने विवरणको व्यवस्था गरिएकै आधारमा कर तिर्ने अवस्था नराम्रो हुदैन ।’  

त्यसो त अर्थमन्त्री खतिवडा तथ्यांकका बारेमा निकै सचेत मानिन्छन् । तथ्यांक परिमार्जन गर्न उनले पटकपटक दबाब दिने गरेको स्रोत बताउँछ । यस अघि तथ्यांक विभागलाई नेपालको आर्थिक वृद्धि ८ प्रतिशत भन्दा बढी पु¥याउन उनले दवाव दिएको पनि बताइन्छ ।



स्रोत भन्छ, ‘तर तानतुन पारेर तथ्याङक मिलाउँदा समेत तथ्यांक विभागले ६ दशमलव ९ प्रतिशत भन्दा बढी आर्थिक वृद्धिदर देखाउन सकेन ।’ 

तथ्यांक फेरबदल गरैरै भए पनि आफू सफल अर्थमन्त्री भएको देखाउन अर्थमन्त्री खतिवडा लागि परेको स्रोतको दाबी छ ।

  • प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार १८:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया