एनआरएनएकाे पहलमा मलेसियाको जेलमा रहेका २५ नेपाली स्वदेश आइपुगे

वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली स्वदेश फर्किएका छन् । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा बिहीबार २ महिलासहित २५ नेपाली स्वदेश फर्किएका हुन्।

फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार शाह समेत छन् ।  सन् २०१८ को २९ जुलाइमा उच्च अदालतले राजकुमारसहित मलेसियाका अन्य दुई व्यक्तिलाई ‘लागुऔषध’ कारोवारमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो। 

उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि त्यहाँस्थित नेपाली दूतावासको आर्थिक र अन्य सहयोगमा राजकुमारले माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए । मृत्युदण्डको सजाय पाएका राजकुमारले पुनरावेदन गर्दा आफूमाथि लगाइएको अभियोग नै घटाएर पुनरावेदन गरेका थिए।

अन्तत: सन् २०२० को १३ जुलाइमा माथिल्लो अदालतले राजकुमारको पुनरावेदनलाई सदर गर्दै उनको सजाय घटाएर १० वर्ष जेल र १० कोर्रा हान्ने ‘छडीले हिर्काउने’ आदेश दिएको थियो।

बिहीवार उनै राजकुमारसहित जेलमा कैदी जीवन विताइरहेका २५ नेपालीलाई एउटै उडानमा स्वदेश फर्काइएको हो । संघका उपाध्यक्ष डा.बद्री केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्दार कार्यक्रममार्फत यी २५ नेपालीलाई जेलबाट छुटाएर स्वदेश फर्काइएको हो।



डा. केसीको पहलमा एनआरएनए एनसीसी मलेसिया र क्वालालम्पुरस्थित नेपाली दूतावासले उनीहरूको स्वदेश फिर्तीका लागि समन्वय गरेका थिए। संघले जरिवाना तिरेर जेलबाट छुटाउने, कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेण्ट बनाएर पिसिआर परीक्षण गरेपछि उनीहरू स्वदेश फर्कन बाटो खुलेको थियो ।

शाहसहित भूपेन्द्र भण्डारी, हिमानचल मौरिया, ओके कुमार यादव, टिकाराम प्रजा, पारसनाथ यादव, कर्णबहादुर तामाङ, हृदेश केवत, राजकुमार शाह, कृष्णकुमार मण्डल, कैमुल्ला मिया, राजकुमार माझी, कर्णबहादुर पुन, बेलबहादुर थामी, पूर्णबहादुर सुनारी, आशबहादुर कामी, बाबुराम थापा, दिशन सुनार, सन्जय कुमार यादव, जगलाल तामाङ, रामनाथ पण्डित, सपना तामाङ, जुनु माया बोम्जन, बलन राई र छत्रबहादुर न्यौपानेलाई जेलबाट उद्धार गरी नेपाल ल्याइएको हो ।



‘म जेलमा परेको खवर दूतावासमार्फत एनआरएनएका सरहरूले पाउनु भएको रहेछ। एनआरएनएको सहयोगमा मसहित अरु जेलमा रहेका २४ जना साथिहरु एकपटक नेपाल आएका हौँ । म धेरै खुशी छु । यसका लागि एनआरएनएका सरहरूलाई धेरै धन्यवाद दिन चाहान्छु,’ मृत्युदण्डबाट जोगिएर नेपाल फर्किन सफल भएका राजकुमारले भने ।

काठमाडौं ओर्लिएपछि उनीहरूलाई संघको समन्वयमा प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)को सेल्टरमा बसोबासको व्यवस्था गरिएको थियो । 

बेखर्ची भएर आएका उनीहरूलाई आ-आफ्ना गन्तव्यसम्म पुर्‍याउन एनआरएनएले नै यातायात खर्च उपलब्ध गराएको थियो ।

  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १२:१०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया