देउवासँगको भेटपछि ओलीले भने - कुराकानी राम्रो भयो

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीलाई भेटन शनिबार बिहान उनकै निवास बालकोट पुग्नु भएका हुन् । 

करिब एक घण्टा भेटवार्ता भएपछि प्रधानमन्त्री देउवालाई बिदाई गर्न निस्किएका अध्यक्ष ओलीले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताए । उनले भने, ‘उहाँसँग कुराकानी भयो, सिद्धियो नि त । कुराकानी राम्रो भयो दुई जनाबीच ।’

एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको, पार्टीले निष्कासन गरेका सांसदलाई सांसद पद नरहेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसेकोमा आपत्ति जनाउँदै संसद बैठक निरन्तर अवरुद्ध पार्दै आएको छ । 

सोही विषयलाई लिएर एमालेले सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएपछि सत्तारुढ दलको शुक्रबार (हिजो) बसेको बैठकले ओलीलाई मनाउने जिम्मा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दिएको थियो ।

प्रधानमन्त्री देउवामाथि एमसीसी सम्झौता संसदबाट पारित गराउनुपर्ने दबाब पनि छ । तर, ती विषयमा छलफल गर्न बोलाइएको बैठकमा एमालेले सहभागी हुन नसक्ने अडान राख्दै आएको छ । 



एमालेले आफ्नो पार्टीको संसदीय दलले निष्काशन गरेका माधव नेपालसहितका १४ जना संसदमा आएसम्म संसद अवरोधलाई निरन्तरता दिने अडान राख्दै आएको छ । 

प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवाद नै टुटेको अवस्थामा प्रधानमन्त्री देउवा ओलीलाई भेटन उनको निवास बालकोट पुग्नु भएको हो । 



  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १३:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया