नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्यका लागि आफू तयार रहेको बताएका छन् । शनिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै दलबाट पनि सहकार्यका लागि प्रस्ताव आए सहकार्य हुन सक्ने बताएका हुन् ।
यद्यपि चित्तबुझ्दो तरिकाले प्रस्ताव आए कांग्रेससँग पनि सम्झौता हुनसक्ने बताए । उनले भने, ‘कांग्रेससँग नभए अन्य पार्टीसँग पनि सम्झौता गर्न सकिन्छ ।’
नेपाली कांग्रेसको साधारण सदस्यबाट निष्कासनमा परेका नेता जोशीले कसैसँग पनि सहकार्य नभए आ–आफ्नो तरिकाले चुनाव लड्न सकिने बताए ।
आफू तनहुँ क्षेत्र नं १ मा रहेका ४२ वटा वडामध्ये ४० वडाका ९० स्थानमा पुगेको र त्यहाँका जनताले पाँच वर्ष सक्रिय राजनीतिमा आइदिन आग्रह गरेको उनले बताए । माघ मसान्तसम्म पालिकास्तरीय भेला गराएर प्रशिक्षण दिने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।
विसं २०१७ मा तनहुँमा आफूले नै नेपाली कांग्रेस स्थापना गरेको दाबी गर्दै उनले कांग्रेसको संगठन विस्तारमा आफ्नो धेरै लगानी भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।