प्रचण्ड जनप्रतिनिधि बनेपछि चितवनको कायापलट भयो : मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन राजनीतिको केन्द्र बिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गरेकी छन् । उनले देश शान्ति प्रक्रियायता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताइन् ।

उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको दाबी गरिन् । मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गरिन् ।

‘राजनीतिको केन्द्रबिन्दु चितवन बन्नुमा मलाई के लाग्छ भने राजनीतिको  एउटा उथलपुथल क्रान्ति गरेर यो देशलाई परिवर्तनको बिन्दुमा ल्याउने नेतृत्व, अध्यक्ष कम्रेड प्रचण्ड । आखिर देश त उहाँकै वरपर घुमेको छ' उनले भनिन् 'अध्यक्ष कम्रेड चितवन जिल्लाबाट जब जनप्रतिनिधिको रुपमा आउनु भयो । तब यो छोटो अवधिमा चितवनको चर्चा, परिचर्चा कस्तो छ ? राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा, आम सबै हिसावले । अहिले हरेक गतिविधि राजधानी काठमाडौंभन्दा पनि चितवन केन्द्रित छन् ।

मेयर दाहालले आफ्नो साढे चार वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरे भन्दा धेरै काम गरेको दाबी गरिन् । उनले चितवन जिल्ला अहिले दुग्ध उत्पादन, माछा, केराखेती, कृषिको क्षेत्रमा आत्मनिर्भर रहेको बताइन् ।

मेयर दाहालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको र आगामी दिनमा कृषि, शिक्षा, स्वास्थ्यको हब चितवन बनाउने दाबी गरिन् । उनले शीर्षस्थ नेताहरू भएको ठाउँको विकास अलि चाँडै हुने गरेको त्यसको प्रभाव चितवनमा पनि परेको बताइन् । मेयर दाहालले शीर्षस्थ नेता चितवनको जनप्रतिनिधि भएकोले गर्दा अर्बौं बजेटका योजनाहरु गर्न सफल भएको बताइन्  ।

मेयर दाहालले महानगरले रोजगारी सिर्जना गर्न, विकासलाई तीव्रता दिनका लागि काम गरिरहेकोले जनताले यसलाई मूल्यांकन गरिरहेको बताइन् । उनले चितवन जिल्लाका लागि प्रचण्ड आवश्यक रहेको भन्दै पहुँचबिना अर्बौंका योजना शुरु गर्न सम्भव नभएको बताइन् ।



मेयर दाहालका अनुसार आफ्नो कार्याकालमा महानगरमा ३ अर्ब ७० करोडको खानेपानी योजना र ६१० किलोमिटर सडक निर्माण भएको छ । उनले महानगरको ५ वर्षे कार्याकालमा निजी विद्यालयबाट १० हजार विद्यार्थीहरुलाई सरकारी विद्यालयमा भर्ना गराउने योजना भएको र त्यसअनुसार सफल भइरहेको बताइन् ।



  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १६:२५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया