कतारको सरकारी अस्पताल हमाद हस्पिटलले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या देखिए तुरुन्तै १६००० मा फोन गर्न आग्रह गरेको छ । कतारमा चिसोसँगै कोभिड संक्रमितको संख्यामा उल्लेख्य वृद्धि हुन थालेपछि हस्पिटलले सो नम्बरमा फोन गरेर स्वास्थसम्बन्धी परामर्श लिन आग्रह गरेको हो ।
कतारको एक मात्र सरकारी हमाद मेडिकल कर्पोरेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सेवाग्राहीका निम्ति हामी २४ घन्टा तयार छौँ । त्यसका लागि तत्काल परामर्श या कुनै पनि स्वास्थ्यसम्बन्धी आपतकालीन सेवाको आवश्यकता परेको खण्डमा तुरुन्तै १६००० मा निःशुल्क फोन गरि आफ्नो समस्या राख्न अनुरोध गर्छौ ।'
उक्त नम्बरमार्फत डाक्टरसँग फोनमा कुरा गरेर स्वास्थ्य अवस्थाका बारेमा तुरुन्तै चिकित्सकीय सल्लाह लिन सकिने छ । यसअन्तर्गत जनरल मेडिसिन, जेरियाट्रिक मेडिसिन, न्युरोलोजी, अर्थोपेडिक शल्यक्रिया, युरोलोजी, छालारोग, प्रसूति तथा स्त्री रोग, बालरोग, शल्यचिकित्सा, ईएनटी, दुखाइ व्यवस्थापन र मानसिक स्वास्थ्यलगायत १२ वटा सेवाहरूबारे परामर्श लिन सकिन्छ ।
कतारमा पछिल्लो २४ घन्टामा पिसिआर टेस्ट गरेकाहरूमध्ये २ हजार ७९४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । तीमध्ये ६८७ जना बाहिरबाट कतार प्रवेश गर्नेहरू छ्न् । त्यस्तै, पछिल्लो २४ घन्टामा ४११ जना कोभिड संक्रमणमुक्त भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।