कोमामै न्याय मागिरहेछन् अर्जुन

काठमाडौं– शिक्षण अस्पताल, आइसिसियु, बेड नम्बर २ मा केहि दिन अघि एउटा संयोग घटित भयो । धर्नामा बसेका निर्मला पन्तका बुवा यज्ञराजलाई मानसिक स्वास्थ्यमा समस्या उत्पन्न भएपछि महेन्द्रनगरबाट ल्याएर यही बेडमा राखिएको थियो । यो त्यहि बेड हो जहाँ निर्मलाकै निम्ति न्याय माग्ने आन्दोलनमा गोली लागेका अर्जुन भण्डारालाई पनि राखिएको थियो ।

निर्मलाका निम्ति न्यायको माग गर्दै महेन्द्रनगरमा भएको आन्दोलनमा गोली लागि घाइते भएका अर्जुन अहिले कोमामा छन् । अर्जुनलाई आफ्नै खुट्टा काटिएको थाहा छैन, न त चार महिनासम्म निर्मलाले न्याय नपाएको नै थाहा छ । 

एक महिना अघि अर्जुनलाई आइसीसीयुबाट न्युरो वार्डमा सारियो । अस्पतालको वार्ड फेरियो तर अर्जुनको अवस्था खासै फेरिएको छैन । तैपनि न्युरो वार्डमा सारेपछि उनी पटकपटक हाँस्न थालेका छन् । आइसिसियुको बेड नम्बर २ मा रहँदा उनी कहिलेकाहिँ मात्र मुसुक्क मुस्कुराउँथे । 

आमा शिवकलाको आशाको दियो त्यही हाँसो मात्र हो । कोमामा रहेको छोराको अनुहार बेहोसीमै उज्यालो हुँदा पनि आमाको मन झलमल भैदिन्छ । छोरा निको हुन्छ, पहिलेकै जस्तो जिवन्त हाँसो हाँस्ला भन्ने आशा यही उज्यालोमा भेट्छिन उनी ।

‘जीवनभर यस्तै हुनपनि सक्छ’ भन्ने डाक्टरको भनाईले उनको आशालाई पटकपटक निराशामा परिणत गरिदिन्छ । तैपनि उनले आश गर्न छाडेकी छैनन् । १९ वर्षे छोरालाई दुधे बालकलाई झैं खुवाउने, पियाउने, सुताउने, उठाउने; उनको दिनचर्या यसैगरी बितिरहेको छ । अहिले पनि उनी छोरालाई तेल लगाएर घाम ताप्न लैजान ठिक्क परेकी छिन् ।



भदौ ७ गते । केही दिनदेखि कन्चरपुर आन्दोलित थियो । निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै स्थानियबासी त्यो दिन पनि प्रदर्शनमा उत्रिएका थिए । आन्दोलित भीडमा अर्जुन पनि थिए । न्यायका निम्ति उठेको आवाज सुन्ने अपेक्षा गरिएको सरकारले अश्रुग्यास र गोलीको उपहार दियो ।

अर्जुनको खुट्टामा दागिएको गोली पनि प्रहरीकै बन्दुकबाट चलेको थियो । उनलाई महाकाली अञ्चल अस्ताल पुर्याइयो । रगत थामिएन र अस्पतालले तुरुन्तै काठमाडौं रिफर गर्यो । शिवकलाका अनुसार काठमाडौंमा पनि डाक्टरले दुई घण्टासम्म केस हेर्दै हेरेनन् । 



सँगै काठमाण्डौं आएका दाजु योगेन्द्रलाई अर्जुनले बेहोस हुनुअघि भनेका थिए, ‘दाइ यतिबेलासम्म डाक्टर किन नआएको ? मेरो खुट्टा काट्न परे पनि काट्नु तर मलाई बचाउनु ।’ चार महिना अघि अर्जुनले बोलेको अन्तिम वाक्य यही थियो ।

‘एक पटक आमा भनेर बोलाइदिए हुन्थ्यो । यस्तो चिज खान मन लागेको छ भने पनि हुन्थ्यो जस्तो लाग्छ । यसलाई के खान मन लागेकोे छ हामी के जानौं ?’ भक्कानिँदै उनी कल्पिन्छिन् । अर्जुनलाई तिर्खा लाग्छ कि भोक उनले कसरी थाहा पाउन् ! 

सपना र सम्पत्ति ठानेको छोरो अस्पतालमा अचेत देख्दा आमाको मन नरुने कुरै भएन । उनको मनमा वह मिसिएको तर्कना आउँछ, ‘छँदाखाँदाको छोरो, पढेर केही गर्ला भन्ने थियो... !’ यो वाक्य पुरा गर्न शब्द नपाएर उनी आँखाभरी आँशु पारेर अन्तै हेर्छिन् । 

छोराछोरी सानै छँदा शिवकलाका श्रीमान बिते । आफ्नै बलबुतामा उनले पाँचजना छोराछोरी हुर्काइन् । अर्जुनले यसै वर्ष एसइइ पास गरे । इन्जिनियर पढ्ने तयारी गर्दैथिए उनी ।

भाइको पढ्ने योजनालाई मध्यनजर गरेर नै दाजु योगेन्द्रले आफ्नो पढाई छाडेका थिए । सबैको सपना अर्जुनसँगै कोमामा पुगेको छ अहिले । ‘भाइलाई इन्जिनियर बनाउने भनेर दाजुले आफ्नो पढाई छाड्यो’ शिवकला भन्छिन्, ‘यता भाइले आफैलाई पनि बिर्सिएर बसेको छ ।’ 

०४८ सालदेखी महेन्द्रनगरमा शिवकलाले चलाउँदै आएको चिया पसल अहिले बन्द छ । उनी सुनाउँछिन्, ‘नुन तेलको गुजारा भइरहेको थियो । सबै चौपट भयो ।’ उनी यहाँ छिन्, जेठा र कान्छा छोरा कन्चनपुरमा ।

‘आमाको मन न हो सबै छोराछोरी बराबर  छन्’ लामो सास तान्दै उनी थप्छिन्, ‘ज्यान यता भए मन उता, ज्यान उता भए मन यता । के खाए होला भन्ने चिन्ता लागिरहन्छ । हामी मर्नु न बाँच्नु भएका छौँ । ’ 

एकातिर छोराको त्यो अवस्था, अर्कोतिर घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता । हुन त सरकारले अर्जुनको उपचार खर्च बेहोर्ने भनेको छ, त्यै पनि समयमा दिएको छैन । उनी दुखेसो गर्छिन्, ‘पछि मात्र सरकारले बील तिरिदिने हो, पहिला त आफैंले व्यवस्था गर्नुपर्छ ।’ अरु खर्च आफैंले चलाउनुपर्छ ।

‘एक लाख रुपैयाँ ऋण लिएको खर्च भैसक्यो’ उनी सुनाउँछिन्, ‘धुलिखेल अस्पताल लगेर थेरापी गर्न डाक्टरले सल्लाह दिएका छन् । यहीँ त कसैले वास्ता गरेको छैन, त्यहाँ लगेपछि झन् कसले सोधिखोजी गर्ने ?’

घरै लैजाने बारेमा पनि छलफल भैसकेको छ । तर कञ्चनपुरमा उनको डेरा मात्र छ, घर छैन । कोमामा रहेको छोरालाई लगेर कहाँ राख्ने ? घर लगिसकेपछि राज्यले उपचार खर्च दिने हो कि होइन ? यहाँ पनि कति दिन राखिरहने ? घर लगौं, उपचारका लागि पटकपटक काठमाण्डौं कसरी ल्याउने ? यस्तै धेरै अनुत्तरित प्रश्नले उनको मन घेरिएको छ ।

‘निर्मलाका लागि आवाज उठाइदिने सबै भए, हामीमाथि कसैको नजर परेन,’ उनको गुनासो छ । आइसिसियु बेड नम्बर २ मा निर्मलाका बुबालाई भेट्न उनी पनि पटकपटक गइन् । अर्जुनका लागि पनि बोलिदिन उनले सबैलाई आग्रह गरिन् ।

  • प्रकाशित मिति : मंसिर १६, २०७५ आइतबार १६:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया