एसिया प्यासिफिक सम्मेलनको विरोध गर्ने नेताहरु नै युपिएफका तस्बिरमा

काठमाडौं– धर्म प्रचारक संस्थाको रुपमा परिचित युनिर्भसल पिस फेडरेसन (युपिएफ) ले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा सरकार सहआयोजक बनेको भन्दै आलोचना गर्ने राजनीतिक दलका नेताहरु नै उक्त संस्थाका विभिन्न कार्यक्रममा सहभागी भएको तश्विर अहिले सामाजिक संजालमा चर्चाको विषय भएको छ ।

उक्त सम्मेलन नेपाललाई ‘डिस्टेबलाइज’ (अस्थिर) बनाउने षडयन्त्र भएको टिप्पणी ट्विटरमार्फत सार्वजनिक गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लेखेका छन्, ‘कथित एसिया प्यासिफिक समिटको आयोजना र त्यसमा नेपाल सरकारको संलग्नता नेपालको धार्मिक सांस्कृतिक पहिचान विरुद्ध भैरहेको प्रहारको थप श्रृंखला हो ।’ 

क्रिश्चियन धर्म प्रचारका लागि आयोजित भनेर समिटको आलोचना भैरहेको बेला थापाको अभिव्यक्तिले पनि त्यही आसय व्यक्त गरिरहेको छ । तर सोही संस्थाले काठमाण्डौंमा आयोजना गरेको ‘अन्तराष्ट्रिय नेतृत्व सम्मेलन’मा सहभागी भैरहेको थापाको तश्विर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको आसय नै संकटमा परेको छ ।

त्यसैगरी धार्मिक एनजिओको कार्यक्रममा सहभागि रहेको भन्दै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकार र नेकपाका नेताहरुलाई ‘कमाउरेड’को संज्ञा दिएका थिए । उनले नोभेम्बर ३० मा गरेको ट्विटमा उनको टिप्पणी थियो, ‘आर्थिक दरिद्रताको उपचार हुन्छ तर नैतिक दरिद्रताको कुनै उपचार हुन्न ।’ 



तर भट्टराई आफैं युपिएफका कार्यक्रममा सहभागि भैरहेको तश्विर सामाजिक सञ्जालमा शेयर भैरहेको छ । ती तश्विरहरुमा उनी युपिएफका नेपाल च्याप्टर अध्यक्ष एकनाथ ढकाल अन्य विदेशीसँगै देखिएका छन् । यी तश्विर शेयर गरेर सामाजिक सञ्जालमा धेरैले उनको आलोचना गरिरहेका छन् ।



थापा, भट्टराई लगायतका नेताहरुले दोहोरो चरित्र प्रदर्शन गरेको आरोप धेरै सामाजिक संञ्जाल प्रयोगकर्ताहरुको छ । त्यसैगरी पत्रकार सम्मेलन गरेरै एउटा धर्मप्रचारक आइएनजिओको कार्यक्रममा सरकार सहआयोजक बनेको भन्दै तिब्र आक्रोश पोखेका नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि सोही संस्थाको स्पोन्सरसिपमा विभिन्न देश घुमेको चर्चा पनि सामाजिक सञ्जालमा पढ्न पाइन्छ ।

राप्रपा अध्यक्ष थापा र काँग्रेस प्रवक्ता शर्मा यस सम्बन्धमा हालसम्म मौन नै बसेका छन् । तर नयाँ शक्तिका संयोजक डा. भट्टराईले भने आयोजक हुनु र कार्यक्रममा अतिथि हुनु फरक कुरा भएको स्पष्टीकरण दिएका छन् । उनले ट्विटरमार्फत भनेका छन्, ‘कसैको कार्यक्रममा अतिथि बन्नु वा घरमा भेट्न आएका पाहुनालाई भेट्नु र आयोजक नै बन्नु एउटै हैन । यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने झैं भएन र ?’

युपिएफको वेवसाईटमा राखिएका तश्विरहरुमा थापा र भट्टराई मात्रै होईन नेपालका अन्य नेताहरु पनि संस्थाका विभिन्न कार्यक्रम र भेटघाटमा सहभागि भैरहेको देख्न सकिन्छ । नेपालका पूर्व राष्ट्रपती रामवरण यादव, उपराष्ट्रपती परमानन्द झा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र नेकपा नेता नारायणकाजी श्रेष्ठ पनि ती तश्विरमा देखिएका छन् ।

  • प्रकाशित मिति : मंसिर १६, २०७५ आइतबार १७:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया