भारतको संसदमा नेपालप्रति चासो, चीनले कोरोना खोप दिएर सम्बन्ध मजबुत बनाएकोमा भारत असन्तुष्ट

भारतको संसद (राज्यसभा र लोकसभा) मा सांसदहरुले बारम्बार नेपाललाई लिएर प्रश्न गरिरहेका हुन्छन् । कहिले नेपालको आन्तरिक मामिलामा उनीहरुको चासो राख्छन् त कहिले नेपालको विदेश नीतिमा । 

पछिल्लो समय भारतको राज्यसभामा नेपाल र चीनको सम्बन्धलाई लिएर विशेष चासो राखिएको थियो ।  

राज्यसभाका सांसद सुजीत कुमारले नेपालसँग सम्बन्धित रहेर विदेश राज्यमन्त्री डा. राजकुमार रञ्जन सिंहसँग तीन वटा प्रश्न गरेका थिए । 

उनको पहिलो प्रश्न थियो, ‘नेपाल लगायतका छिमेकी देशमा चीनको प्रभाव गर्न भारत सरकारले के गरिरहेको छ ?’ 

जवाफमा विदेश राज्यमन्त्री सिंहले नेपाल लगायत सबै छिमेकी राष्ट्रसँग भारतको सम्बन्ध राम्रो रहेको दाबी गरे । 

‘भारतले छिमेकी राष्ट्रसंघको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ । भारत आफ्ना छिमेकी राष्ट्रको एक सक्रिय राजनीतिक तथा आर्थिक साझेदार हो र यी देशको विकास परियोजनामा पनि भारत सहभागी बनेको छ । छिमेकी देशसँग भारतको व्यापक शिक्षा, संस्कृति, व्यापार र लगानीको सम्बन्ध पनि छ,’ विदेश राज्यमन्त्री सिंहले राज्यसभामा जवाफ दिएका थिए । 



राज्यसभामा सांसद कुमारले नेपाल लगायतका देशलाई समेटेर दोस्रो प्रश्न पनि गरेका थिए, ‘के चीनले नेपाल, बंगलादेश र श्रीलंकामा ठूलो मात्रामा कोरोना खोप पठाएको छ ? के खोपले यी देशसँग चीनको सम्बन्ध मजबुत बनाएको छ ?’ 

जवाफमा विदेश राज्यमन्त्री सिंहले नेपाल लगायतका छिमेकी देशसँग भारतको सम्बन्ध आफैले निर्धारित गर्ने दाबी गरेका छन् । नेपाल र चीनबीचको सम्बन्धमा भारतसँग हुने सम्बन्ध निर्भर नहुने समेत उनले जनाए । 



‘अन्य देशसँग भारतको सम्बन्ध हामी आफै निर्धारण गर्छौं र तेस्रो देशसँग हुने उनीहरुको सम्बन्धमा निर्भर गर्दैन,’ विदेश राज्यमन्त्री सिंहले राज्यसभामा भनेका छन्, ‘भारत सरकारलाई चीनको आर्थिक तथा अन्य गतिविधिबारे जानकारी छ जसमा भारतको छिमेकी राष्ट्रमा गरेको कोरोना सहयोग तथा खोपको आपूर्ति पनि पर्छ । सरकार भारतको सुरक्षा प्रभावित गर्ने सबै प्रकारका घटनाक्रमसँग सतर्क छ र सुरक्षाको लागि सबै आवश्यक उपाय अवलम्बन गर्छ ।’ 

राज्य सभामा सांसदले भारतले नेपाल, बंगलादेश र श्रीलंकालाई के कति कोरोना खोप उपलब्ध गरेको छ त्यसको विवरण पनि माग गरेका थिए । त्यसपछि विदेश राज्यमन्त्री सिंहले राज्यसभामा विवरण पेश गरेका थिए । 

राज्यसभामा प्रस्तुत गरिएको विवरणमा नेपाललाई हालसम्म भारतबाट अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत कूल ९४ लाख ९९ हजार डोज कोरोना खोप उपलब्ध गरिएको छ । भारतले हालसम्म ११ करोड ५४ लाख १३ हजार ३०० डोज कोरोना खोप बिभिन्न देशलाई उपलब्ध गरेको छ । 

नेपालमा पछिल्लो तीन वर्षमा दुर्घटनामा परी २२७ भारतीयको मृत्यु

भारतको लोकसभामा नेपाल लगायतका देशमा दुर्घटनामा परी मृत्यु हुने भारतीयको संख्या माग गरिएको थियो । सांसद विजय बघेल र सुनील कुमार सोनीले उक्त विवरण माग गरेका थिए । 

लोकसभामा भारतका विदेशमन्त्री एस. जयशंकरले पछिल्लो तीन वर्षमा विदेशमा दुर्घटनामा परी मृत्यु हुने भारतीयको विवरण पेश गरेका थिए । जसअनुसार पछिल्लो तीन वर्षमा नेपाल लगायत ६३ देशमा दुर्घटनामा परी २ हजार ३८४ जना भारतीयको मृत्यु भएको छ । 

विदेशमन्त्री जयशंकरका अनुसार दुर्घटनामा परी मृत्यु हुने भारतीयको तेस्रो ठूलो संख्या नेपालमा रहेको छ । 

सन् २०१९ देखि २०२१ सम्मको अवधिमा साउदी अरबमा ६८३, युनाइटेड अरब इमिरेट्समा ३७०, नेपालमा २२७, कुवेतमा १९५, फिलिपिन्समा १५३, ओमानमा ९४, मलेसियामा ७६, कतारमा ६० र सिंगापुरमा ५५ जना भारतीयको दुर्घटनामा परी मृत्यु भएको छ । 

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १२:१२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया