एक अर्काको प्रशंसामा प्रचण्ड-रेणु !

०७४ सालको स्थानीय निर्वाचन हुँदासम्म नेकपा (माओवादी केन्द्र) र एमालेबीच एकता भइसकेको थिएन । ०७४ कै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भने यी दुई दल गठबन्धन गरेर चुनावमा होमिएका हुन्।

यसैबीच चितवनको भरतपुर महानगरपालिकाको चुनाव देशभरिकै चासाको विषय बन्यो ।महानगरको मेयर बन्न माओवादीबाट प्रचण्डपुत्री रेणु दाहालले उम्मेदवारी दिएकी थिइन, एमालेबाट देवी ज्ञवाली मैदानमा थिए ।

मतगणनाको अन्तिम समयमा रेणुकाे पक्षमा कमजोर मत आएपछि मतपत्र नै च्यातेर दोस्रो चरणको निर्वाचन भएको थियो । त्यसयता, भरतपुर महानगर प्रायजसोः चर्चाकै केन्द्रमा छ ।

प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनको एकमात्र महानगरको नेतृत्व छोरीलाई दिएर आउँदो चुनावसम्मको सहजता खोज्ने रणनीति थियो, प्रचण्डको । 

एमाले र माओवादीको एकतामा समस्या सुरु भएसँगै त्यही रणनीतिलाई सम्झँदै भरतपुर महानगरलाई केन्द्रमा राखेर चितवन केन्द्रित राजनीतिमा सक्रिय छन, प्रचण्ड ।

अहिले एमाले र माओवादी केन्द्र दुईचिरा भइसकेका छन् । दुवैले एक अर्काको उछितो काट्नेमात्र होइन, आरोप प्रत्यारोपको श्रृङ्खला सार्वजनिक समारोहहरूमा प्रष्टै देखिन्छन् । 



अघिल्लो महिनामात्र एमालेले जनप्रदर्शनसहित आफ्नो महाधिवेशनस्थल चितवनलाई नै बनाएकाे थियाे ।

भरतपुरको नेतृत्वमा पुत्री रेनुलाई नै निर्वाचित गराउन ‘मरिहत्ते’ गरेका प्रचण्ड छोरीविरुद्ध विपक्षी दलका नेताहरूको अभिव्यक्तिमाथि आफैँ प्रत्युत्तर दिन भ्याउँछन् । 



रेणुको प्रशंसामा प्रचण्ड

केही समयदेखि माओवादीमा प्रचण्डको उत्तराधिकारी को भन्ने विषयले चर्चा पाउँदै आएको छ । यद्यपि कुनै नेताहरूले पनि अहिलेसम्म प्रचण्डको उत्तराधिकारीको रूपमा अघि बढाउन सकेका छैनन् । 

परिवारका सदस्यलाई मात्र ‘स्पेस’ दिएको आरोप प्रचण्डले शान्ति प्रक्रियामा आएपछि धेरैपटक खेप्न परेको छ । भर्खरै मात्र सकिएको पार्टीको आठौं महाधिवेशनमा पनि आफ्नै परिवारबाट ४ जना केन्द्रीय सदस्य छनोट गरेको भन्दै उनको आलोचना हुन छाडेको छैन ।

परिवारमा प्रचण्डबाहेक अन्य तीन जना सक्रिय राजनीतिमा छन् । बुहारी बिना मगर र छोरीहरू रेणु र गंगा दाहाललाई प्रचण्डले कुनै न कुनै जिम्मेवारीका साथ सधैं अगाडि बढाइरहेका हुन्छन् ।

तर, उनको रोजाइमा भने भरतपुरकी मेयर समेत रहेकी रेणु नै छिन् भन्ने उनका अभिव्यक्तिबाट पुष्टि हुन्छ । भरतपुरको महानगरको नेतृत्व दिलाएका प्रचण्डले रेणुलाई देशकै ‘एक नम्बर मेयर’ भएको दाबी यसअघि नै गरिसकेका छन् ।
 
६ मंसिरमा आयोजित भरतपुर महानगरकै कार्यक्रममा पुगेर उनले भनेका थिए, ‘रेणुको प्रशंसा देशभित्र मात्र नभई बाहिर समेत भएको छ । रेणुको चर्चा एक नम्बरको मेयरका रूपमा भएको छ ।’ 

भरतपुर महानगरपालिकामा एक नम्बरको मेयर भएको बताउँदै प्रचण्डले भनेका थिए, ‘सबै भरतपुरबाट सिक्नुपर्छ भन्न थालेका छन् । सबैतिर भरतपुरको जस्तो विकास हुनुपर्छ भन्ने भएको छ । जताततै प्रशंसा भएको छ । विरोधीले समेत देशभित्र र बाहिर भन्न थालेका छन् ।’

केही समयअघि ‘प्रचण्ड र रेणुलाई चितवनबाट लखेट्ने’ अभिव्यक्ति दिएका थिए, चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले । जसको प्रत्युत्तर प्रचण्डले आफैँले चितवन पुगेर दिएका थिए ।

उनले सभापति श्रेष्ठले त्यस्तो बोल्नु विडम्बना भएको बताएका थिए । 

‘मैले त सोच्थेँ, चितवनका कांग्रेस खुसी भए होलान् । प्रचण्डलाई धन्यवाद भन्लान् भन्ने ठानेको त प्रचण्ड र रेनुलाई चितवनबाट लखेट्ने भनेर यहाँका सभापति भन्नेले बोले । यो त बिडम्बनाको कुरा भयो’, उनकाे भनाइ थियाे ।

प्रचण्डको प्रशंसामा रेणु

त्यसो त, बुबा प्रचण्डको प्रशंसा पनि रेणुले उत्तिकै गर्न थालेकी छन् । भरतपुर महानगरलाई देशकै नमुना बनाउनका लागि प्रचण्डको महत्वपूर्ण हात रहेको उनले पटक पटक भन्दै आएकी छिन् । 

हिजो(आइतबार) मात्रै न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्ताका क्रममा रेणुले ‘चुनाव जितेपछि प्रचण्डले चितवनको कायापलट गरेको’ बताएकी छन् ।

त्यतिमात्र होइन, शान्ति प्रक्रियामा आएपछि देश प्रचण्डकै वरिपरि रहेको उनको दाबी छ । हरेक समस्याको समाधान प्रचण्डले नै गरेको उनले दाबी गरेकी छिन् । 

उनले अन्तर्वार्ताका क्रममा भनेकी छिन्, ‘प्रचण्ड यहाँको नभई अन्यत्र जिल्लाको प्रतिनिधि हुँदा चितवनको अवस्था के थियो ? त्यो आकर्षण चितवनमा थिएन । अध्यक्ष कमरेड चितवन जिल्लाबाट जब जनप्रतिनिधिको रूपमा आउनु भयो । तब यो छोटो अवधिमा चितवनको चर्चा, परिचर्चा कस्तो छ ? राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा, आम सबै हिसावले । अहिले हरेक गतिविधि राजधानी काठमाडौंभन्दा पनि चितवन केन्द्रित छन् ।’

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १४:२२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया