प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबले आफ्नो खेलमा जित हात पारेको छ ।
एपिएफले समूह ‘बी’ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश–२ माथि २४ रनको जित हात पार्दै विजयी सुरुवात गरेको हो ।
१६४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–२ ले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो ।
प्रदेश–२ का लागि हरिशंकर शाहले सर्वाधिक ३६ रनको योगदान दिए । मोहम्मद आदिल आलमले ३५ र सुरज पटेलले १५ रन बनाउँदा कुमार थापा १० रनमा अविजित रहे ।
एपिएफका लागि कमल सिंह ऐरी, अविनाश बोहरा र भुवन कार्कीले २–२ तथा किशोर महतो र कप्तान शरद भेषवाकरले १–१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।
एपिएफका प्रदिप ऐरी र आसिफ शेखले अर्धशतकीय पारी खेले । यी दुईले पहिलो विकेटका लागि १२० रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए ।
६३ रन बनाएका आसिफले ४५ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । प्रदीपले ४८ बलमा ९ चौकाको मद्दतले ६० रन जोडे । सन्दीप जोराले १७ रनको योगदान दिँदा शरद भेषवाकर ९ रनमा अविजित रहे ।
प्रदेश–२ का लागि रुपेश सिंहले ४ र विवेक यादवले १ विकेट हात पारे ।
यो जितसँगै एपिएफले २ अंक जोड्दा प्रदेश–२ ले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।