कोभिड नियन्त्रणमा के गर्दै छ प्रशासन ?

नेपालमा पछिल्लो समय बढिरहको कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन)को त्रास बढ्दै छ । त्रास बढेसँगै देशका दक्षिणी नाकामा मानिसको आवागमनमा थप कडाइका भइरहेको गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार भारतीय सीमा नाकामा पहिलेको भन्दा अहिले मापदण्डमा कडाइ गरिएको हो । 

‘एक–दुई दिनमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकपछि नयाँ निर्णय पनि हुन सक्छ ।  पहिलेभन्दा अहिले सीमा नाकामा कडाइ गरेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘देशका सबै नाकामा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गराइरहेका छौँ । खोप कार्ड अनिवार्य गरेका छौँ, मास्क र सेनिटाइजर प्रयोगविना नेपालभित्र छिर्न दिइएको छैन ।’  जिल्ला तहमा पनि कोरोनासम्बन्धी सचेतना र आवश्यक स्वास्थ्यको मापदण्ड पालना गर्न निर्देशन दिएको उनले बताए । 

ओमिक्रोन भाइरस रोक्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले पनि गृह मन्त्रालयलाई रिर्पोटिङ गर्ने भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले नयाँ निर्णय गर्ने तयारी गरेको छ ।

सार्वजनिक सेवाका लागि खोप कार्ड 

सोमबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रणका लागि जिल्ला तहसम्मको निर्देशन कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । विज्ञप्तिमा २५ जनाभन्दा बढी भेला हुने राजनीतिक र प्रशासनिक भेला रोक्नेदेखि माघ ७ गतेबाट सार्वजनिक सेवा लिन खोप कार्ड  अनिवार्यसम्म रहेका छन् । यस्तै, नाकाहरुमा संक्रमित देखिएमा तत्काल आइसोलेसनमा लैजान जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)सँग समन्वय गर्ने, सार्वजनिक स्थानमा एन्टिेजेन बुथहरु र खोप केन्द्रलाई अभियानको रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।  

प्रदेशहरुको नाकामै रोक्ने तयारी 



कोरोना भाइरस नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले नाकामा नै कडाइ गर्ने तयारी गरेको छ । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठका अनुसार गण्डकी प्रदेश सरकारअन्तर्गत भएका क्वारेन्टाइन, आइसोलेसन पुनः धमाधम सञ्चालनमा ल्याइने भएको छ भने प्रदेशको दुई र एकका भारतीय सीमा नाकामा पनि हेल्प डेस्क राखेर उच्च सतर्कता अपनाउने तयारी रहेको छ ।  



श्रेष्ठका अनुसार गण्डकी प्रदेश सरकारको आँबुखैरहनी नाका, स्याङ्जा जिल्लामा पर्ने राम्दी नाका र सुस्तापूर्वको विनय त्रिवेणी भारतीय सिमानामा यही साताभित्र हेल्प डेस्क राखेर कडाइ गरिने तयारी रहेको छ । प्रदेश पर्यटकिय क्षेत्र समेत भएकोले कोरोना फैलिन नदिन सरकारले थप आवश्यक कदम चाल्नको लागि  मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय प्रदेशको वैठक बस्ने भएको छ ।  

यस्तै, बागमती प्रदेशको नाकामा पनि कडाइ गर्ने तयारी गरेको प्रदेश स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए । लामाका अनुसार बागमती प्रदेशको २ नम्बर प्रदेश जोडिने मकवानपुरको चुरियामाई नाका, चीनसँग जोडिएको रसुवा नाकामा पनि कडाइ गर्ने तयारी भइरहेको छ । 

यता, २ नम्बर प्रदेश सरकारले पनि कोरोना भाइरसको रोकथामको लागि भिडभाड नियन्त्रण कम हुनेगरी काम गर्न मातहतका निकायलाई अनुरोध गरेको छ भने भारतसँग जोडिएका नाकाहरुमा संघीय सरकारअन्तर्गत रहेका सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेनासँग सहकार्य गरिरहेको जनाएको छ । नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई अनिवार्य रुपमा मास्क, सेनिटाइजर र खोपकार्ड देखाउन लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यस्तै, प्रदेश १ को काँकडभिट्टा, विराटनगरको जोगबनीलगायत क्षेत्र रहेको भन्सारमा संघीय सरकारले नै सक्रियता देखाएको छ भने धरान, इटहरी, दमक, विराटनगर, इलामलगायत ठूला सहरी क्षेत्रमा जनचेतनाको काम तीव्र पारिएको प्रदेश सरकारले जनाएको छ ।

अन्य प्रदेश सरकारले पनि संघ सरकार र स्थानीय सरकारको समन्वयमा काम गरिरहेको बताएका छन् । अधिकांश जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयले पठाएको निर्देशनअनुसार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठक बसेर आवश्यक निर्देशन दिइरहेका छन् । 

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १८:४०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया