आँकडामा बढ्यो कोरोना, अस्पतालमा छैन चाप
विशेषज्ञ भन्छन् - पहिलेभन्दा कम घातक, सर्तकता अपरिहार्य

नेपालमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ । दोस्रो लहरपछि केही समय मथ्थर भएको कोरोना संक्रमण पुनः बढ्न थालेको हो । नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै देशभर संक्रमितको संख्या पनि तीव्र रूपमा बढ्न थालेको छ ।

तथ्यांकमा बढ्यो कोरोना

नेपालमा पछिल्लो एक हप्ताको कोभिड तथ्यांक हेर्ने हो भने संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्ने हो भने एक सातामा तीव्र रूपमा संक्रमण बढेको देखिन्छ । अघिल्लो सोमबार ३२६ जनामा कोरोना संक्रमण देखिएको थियो भने हिजो सोमबारको परीक्षणमा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै आज मात्रै २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत आइतबार २१६, सोमबार ३२६, मंगलबार ३९३, बुधबार ४३५, बिहीबार ५४०, शुक्रबार ९६८, शनिबार ९४४ र आइतबार ११६७ , सोमबार १४४६, मंगलबार २४४४ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांक छ ।

संक्रमितको संख्या बढेसँगै मन्त्रालयले परीक्षणको दायरा पनि फराकिलो बनाउँदै लगेको छ । भारतमा देखिएको संक्रमणको प्रभाव सधैँजस्तो नेपालमा पनि देखिने गरेको छ । भारतमा संक्रमण फैलिएको एकदेखि डेढ महिनामा नेपालमा पनि संक्रमणदर बढ्ने गरेको पछिल्ला लहरको तथ्यांकले देखाउँछ ।

अस्पतालमा छैन चाप, संक्रमितमा पनि लक्षण कम



संक्रमणदर बढ्दै गर्दा अस्पतालमा भर्ना हुने बिरामीको संख्या भने खासै बढी छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार हाल सो अस्पतालमा आठ जना मात्र कोरोना संक्रमित उपचाररत छन् ।

उनले भने, ‘हाल अस्पतालमा जम्मा आठ जना कोरोना संक्रमित छन्  । जसमा चार जना जनरल वार्डमा र चार जना आइसीयूमा उपचाररत छन् ।’ कोरोना संक्रमितको संख्या बढे जसरी अस्पतालमा आउने बिरामीको चाप नरहेको उनले बताए ।



त्यस्तै, कोरोनाको दोस्रो लहरमा थामी नसक्नु रहेको बलम्बुस्थित एपिएफ अस्पतालमा अहिले जम्मा ३५ जना कोरोना संक्रमित उपचाररत छन् । अस्पतालका सूचना अधिकारी प्रवीन नेपाल भन्छन्, ‘संक्रमण ह्‍वात्तै बढेको जस्तो देखिन्छ । भर्ना एक हप्ता अगाडि आठ जना रहेका थिए भने अहिले ३५ जना रहेका छन् । जसमा पाँच जना आइसीयुमा रहेका छन् भने ३० जना नर्मल वार्डमा छन् ।’

उनले संक्रमितमा सामान्य लक्षण देखिने गरेको बताए । उनले भने, ‘लक्षण भने पहिलाको जस्तै छ । अहिलेको अवस्थामा भन्नुपर्दा पहिलेको अवस्थाभन्दा अहिले संक्रमितमा त्यति जटिलता छैन ।’

उनले अहिले मानिसमा संक्रमण प्रभाव कम पर्नुको कारण खोप र अत्यधिक मात्रामा म्युटेसन हुनुलाई ठान्छन् । उनी भन्छन्, ‘अहिले यो भाइरसले कम असर गर्नुको कारणमा अत्यधिक म्युटेसन भइसकेपछि भाइरस एक किसिमले कमजोर हुँदै जान्छ । अर्को कारण भनेको खोप पनि हुन सक्छ ।’

विशेषज्ञ भन्छन् - सर्तकता अपरिहार्य 

आँकडामा कोरोना संक्रमितको संख्‍या बढिरहेको बेला उपत्यका अन्य अस्पतालहरूमा पनि बिरामीको चाप खासै बढेको छैन । यसै विषयमा सरुवा रोग विशेषज्ञ तथा नेपालमा कोभिडको पहिलो लहरदेखि नजिकबाट यसबारे अनुसन्धान गर्दै आएका डा. शेरबहादुर पुन भन्छन्, ‘मैले पहिलेदेखि नै भन्दै आएको छु यो दोस्रो लहरजस्तो घातक हुँदैन भनेर । यसो भन्दै गर्दा सर्तकता नै अपनाउन छोड्ने त होइन । तर, अहिले फैलिरहेको भेरियन्टले मानिसलाई पहिलेको जस्तो क्षति पुर्याउने सम्भावना कम छ ।’

उनका अनुसार हाल फैलिरहेको संक्रमणले पहिलेको भन्दा कम असर गर्नुका मुख्य तीन कारण छन् । जसमा पहिलो, ओमिक्रोनमा अत्यधिक मात्रामा म्युटेसन भएका कारण डेल्टा वा अघिल्लो भेरियन्टले भन्दा यसले फेक्सोको माथिल्लो पट्टीको भागमा मात्र प्रभाव पार्ने तथा फोक्सोको तल पट्टीको भागमा अघिल्ला भेरियन्टले भन्दा पनि कम प्रभाव पार्ने अनुसन्धानहरूले देखाएको छ ।

त्यस्तै, डा. पुनका अनुसार दोस्रो कारण भनेको रि-इन्फेक्सन हो । रि-इन्फेक्सन अर्थात पहिलो र दोस्रो लहरमा हजारौंको संख्यामा मानिस संक्रमित भए । ती संक्रमित मानिसको शरीरले कोरोना भाइरसलाई पहचिान गरिसकेको छ ।

उनका अनुसार तेस्रो कारण भनेको खोप हो । खोपले संक्रमण नियन्त्रणमा ल्याउन सहयोग पुग्छ । ‘दोस्रो लहरमा खोप लगाएका व्यक्ति र नलगाएका व्यक्तिमा देखिएको प्रभाव देखिसकेका छौँ,’ डा. पुनले भने ।

उनका अनुसार भारतमा पनि डेल्टा भेरियन्टले जस्तो मानिसमा क्षति पुर्याएको छैन । अहिले केही मानिसलाई मात्र गाह्रो बनाएको छ ।

'पहिलोभन्दा निकै थोरै व्यक्तिलाई मात्र गाह्रो बनाएको छ’ उनले थपे, ‘यसो भन्दैमा सर्तकता अपनाउन भने छोड्नु हुँदैन । कोभिडका विशेष स्वास्थ्य मापदण्ड भने पालना गर्नै पर्छ । यो अहिलेको अवस्थामा अपरिहार्य छ ।’

  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १६:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया