बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयको निरीक्षण गरेका छन् । मन्त्री लामाले अस्पताल र निर्देशनालयले कोरोना जोखिम नियन्त्रणका लागि गरेका तयारीबारे जानकारी लिएका हुन् ।
मन्त्री लामाले हेटौँडा अस्पतालको नयाँ भवन, कोभिड वार्ड, अक्सिजन प्लान्ट र सेवा प्रवाहबारे निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै पूर्वतयारीको कामअघि बढाउन निर्देशन दिए ।
उनले स्वास्थ्यकर्मीले कोभिडको अघिल्लो चरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनका लागि पनि तयारी अवस्थामा रहन निर्देशन दिए । प्रदेश सरकार कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिबद्ध रहेको भन्दै उनले अस्पताल टिम पनि सोहीअनुसार प्रतिबद्ध हुन निर्देशन दिए ।
निरीक्षणका क्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटासहितको टोलीले अस्पतालले गरिरहेका कामबारे जानकारी गराएको थियो ।
त्यस्तै, स्वास्थ्य निर्देशनालयको निरीक्षण गर्दै मन्त्री लामाले अझै पनि बागमती प्रदेशका कतिपय जिल्लामा लक्ष्यअनुसार खोप अभियान संचालन हुन नसकेको भन्दै यसका लागि प्रभावकारी ढंगले अभियान संचालन गर्न निर्देशन दिए ।
खोप अभियानका लागि जिल्लाका सबै स्वास्थ्य इकाईले जनचेतनामूलक गतिविधि गरेर नागरिकलाई खोप अभियानमा आकर्षित गर्नुपर्नेमा मन्त्री लामाको जोड थियो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठलगायतले निर्देशनालयले खोप अभियान र स्वास्थ्य सेवाको क्षेत्रमा गरिरहेका कामहरुको बारेमा जानकारी दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।