लय र रेखालाई हरितारा चलचित्र पुरस्कार

काठमाडौं– परिवर्तन नामक संस्थाले अभिनेता लय सङ्ग्रौला र अभिनेत्री रेखा थापालाई हरितारा चलचित्र पुरस्कार दिएको छ । 

सोमबार एक कार्यक्रम आयोजना गरी संस्थाले ‘हरितारा चलचित्र पुरस्कार– २०७४’ बाट सङ्ग्रौला र ‘हरितारा चलचित्र पुरस्कार–२०७५’ अभिनेत्री थापालाई सम्मान गरेको हो । दुवै पुरस्कारको राशि २५ हजार रुपैयाँ र ताम्रपत्र छ । 

यो निजी क्षेत्रबाट स्थापित पहिलो चलचित्र पुरस्कार हो । २०५२ देखि यो पुरस्कार चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तिलाई प्रदान गरिँदै आएको छ । 

यस्तै, १० हजार राशिको ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार–२०७४’ अभिनेता उत्तम केसी र २०७५ को उक्त पुरस्कार सञ्चारकर्मी विजयरत्न तुलाधरलाई प्रदान गरियो ।  ‘परिवर्तन सम्मान–२०७५’ बाट अभिनेता रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री शोभिता सिम्खडा सम्मानित भए । सबै पुरस्कार कलाकार वसुन्धरा भुसाल र प्रथम नेपाली नायिका भुवन चन्दले प्रदान गरेका थिए । 

पुरस्कार प्रदान गर्दै अभिनेत्री भुसालले चलचित्रमा लाग्ने कलाकारलाई अभिप्रेरित गर्ने निजी क्षेत्रको पहिलो पुरस्कारले कलाकारलाई थप जिम्मेवारी र हौसला प्रदान गरेको बताइन् । 

पुरस्कृत अभिनेता सङ्ग्रौलाले सिर्जनाको कर्मलाई निरन्तरता दिएमा सफलतामा पुगिन्छ भन्ने उदाहरण पुरस्कारले पेस गरेको बताए । अभिनेत्री थापाले चलचित्र क्षेत्रको विभेद अन्त्य र समाज परिवर्तनका लागि चलचित्रमार्फत नारी सशक्तीकरणका लागि निरन्तर संघर्ष गर्दै आएकाले सफलता मिलेको बताइन् ।  





  • प्रकाशित मिति : मंसिर १७, २०७५ साेमबार १८:१०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया