सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित भारतबाट आउने नागरिकहरूमा देखिने गरेको छ । बिहीबार संक्रमण पुष्टि भएका ३१८ जनामध्ये २२७ जना भारतबाट आएका नागरिक हुन् ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पिसिआर परीक्षणबाट ६३ जनामा र एन्टिजेन परीक्षणबाट २५५ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार २ हजार २०५ जनाको परीक्षण गरिएको थियाे ।
त्रिनगर-गौरीफन्टा नाकाबाट भित्रिएका १११, गड्डाचौकी नाका भएर स्वदेश फर्केका १०५, पुलघाटबाट फर्केका ५ जना र झुलाघाटबाट फर्केका ६ जनामा संक्रमण पुष्टि भएको हो ।
भारतबाट फर्किनेहरूको नाकामै एन्टिजेन परीक्षण हुने गरेको छ । तर, नाकामा कोरोना परीक्षण औपचारिकताका लागि मात्र हुने गरेको देखिएको छ । सीमामा सहजै आवातजावत भइरहेको पाइन्छ ।
माघी पर्वले गर्दा सीमा पारीको भारतीय बजारमा दैनिक ५ सयभन्दा बढी व्यक्तिहरू वारपार गरिरहेका छन् ।
‘भारतमा कोरोना संक्रमण बढ्दा सीमामा थप कडाइ हुनुपर्ने हो । तर, त्यस्तो देखिँदैन ।भारतका कुनै सहरमा दुई दिन अगाडि गएका व्यक्तिको कोरोना परीक्षण हुने तर, पारी सामान लिन गएकालाई फ्री छाड्ने गरेको छ’, धनगढीकी स्थानीय धना बटालाले भनिन् ‘यो त ओपचारिकताका लागि मात्र कोरोना परीक्षण गरिएको देखियो ।’
सीमापारी घरायसी सामग्री किनमेल गर्नेहरू त्यहाँका नागरिकहरूसँग घुलमेल गरेका हुन्छन् । सीमामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र नेपाल रेडक्रसले समेत आफ्ना कर्मचारीहरूलाई खटाएको छ।तर, सीमामा आवतजावतमा कडाइ गर्न भने सकेको छैन ।
सीमामा कडाइ नगरेर विद्यालय मात्र बन्द गरेकोमा अभिभावकले असन्तुष्टि जनाएका छन् ।
‘सीमा कडाइ नगरेर विद्यालय बन्द गरेर मात्र कोरोना संक्रमितको संख्या घट्दैन्’, धनगढीका स्थानीय ओमप्रकाश जोशीले भने, ‘यसले गर्दा कोरोना संख्या घट्नु भन्दा पनि विद्यार्थीहरूको भविष्य मात्र बिग्रिने छ ।’
सरकारले कोरोना संक्रमित नै नभएका जिल्लामा समेत विद्यालय बन्द गर्नु गलत भएको उनकाे भनाइ छ ।
जिल्ला प्रशासनले जारी गरेको आदेशमा एकै स्थानमा २५ जनाभन्दा बढी भौतिक रूपमा उपस्थित हुने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन भन्ने उल्लेख छ । तर, यहाँ दैनिक सभा सम्मेलन भइरहेका हुन्छन् ।
सुदूरपश्चिमका प्रमुख दुई नाका गड्डाचौकी र त्रिनगर नाकामा गरिने परीक्षणमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो एक सातामा सुदूरपश्चिममा हजारभन्दा बढी संक्रमित थपिएका छन ।
भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि रोजगारीका लागि भारत गएकाहरू त्रासले स्वदेश फर्कन थालेका छन् ।
यहाँका विभिन्न नाका भएर भारतबाट फर्किरहेका व्यक्तिबाट सुदूरपश्चिममा कोरोना संक्रमण समुदायस्तरमा उच्च हुने खतरा बढेको छ । फर्कनेमध्ये कैयौं व्यक्ति परीक्षण नगराई घरतर्फ गइरहेकाले संक्रमण समुदायमा फैलिने खतरा बढेको हो ।
‘अहिले संक्रमित देखिएका ९० प्रतिशतभन्दा बढी भारतबाट फर्केकाहरू छन्,’ स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ओमप्रकाश जोशीले भने, ‘नाकामा सबैको चेकजाँच गर्ने र फर्केकालाई केही दिन क्वारेन्टिनमा नराख्ने हो भने समुदायस्तरमा संक्रमण फैलिने जोखिम छ ।’
भारतबाट फर्किनेको लर्को लागेपछि नाकामा परीक्षण गर्न र पाेजिटिभ देखिएकालाई व्यवस्थापन गर्नसमेत समस्या भइरहेको छ । नाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेनबाट कोरोना परीक्षण भइरहेको छ । तर, भीड बढेकाले भारतबाट आउने सबैको परीक्षण हुन सकेको छैन ।
खुला सिमाना भएकाले लुकिछिपी आउनेको संख्या पनि उत्तिकै छ । नाकामा गर्ने परीक्षणमा संक्रमित बढेपछि धनगढी र महेन्द्रनगरका आइसोलेसन केन्द्रहरू भरिन थालेका छन् ।
गड्डाचौकी र त्रिनगर नाकामा अहिले परीक्षणमा केही कडाइ गरिएको दावी गरिरहेका छन । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रमुख नाकाहरूमा परीक्षणको दायरा बढाइएको बताए ।
‘सुरुको अवधिमा संक्रमण नदेखिन सक्ने भएकाले नाकामा नेगेटिभ आयो भनेर ढुक्क हुने अवस्था छैन । घरमा गएर कम्तीमा १० दिन अलग बस्न आग्रह गरिरहेका छौं । परिवारमा संक्रमण फैलन नदिन व्यक्ति आफू पनि सचेत हुनुपर्याे’, प्रवक्ता कार्कीले भने ।
त्रिनगर नाकामा पजिटिभ देखिएकालाई धनगढी उपमहानगरपालिका-१५, बेलीस्थित आइसोलेसनमा लग्ने गरिएको छ । घरमै आइसोलेसनमा बस्न चाहने व्यक्तिलाई सम्बन्धित वडाको सिफारिसमा घर जान दिने गरिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।