विवेकशील साझा पार्टीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै दिएको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति गम्भीर आपत्ति जनाएको छ ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ,’ विवेकशील साझाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
कूटनीति आवेग र उत्तेजनाको विषय नभएको जनाउँदै विवेकशील साझाले अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्ति हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने जनाएको छ ।
‘नेपाली भू–भागमा छिमेकीको मनपरी देश प्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य छैन । नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टी सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।