सिंहदरबारभित्रै सुनिल शर्मालाई कालोमोसो दल्ने माधव नेपालका कार्यकर्ता

मेडिकल कलेज सञ्चालक सुनिल शर्मामाथि आज सिंहदरबार परिसरभित्रै कालोमोसो दलियो । शिक्षा मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सहभागी भएर बाहिर निस्किए शर्मामाथि कालोमोसो दलिएको थियो । 

यसरी कालोमोसो दल्नेहरु माधव नेपाल नेतृत्वको नेकपा समाजवादीको विद्यार्थी संगठन अनेरास्वियूका कार्यकर्ता रहेको पाइएको छ । अनेरास्ववियूका दुई नेताको अगुवाइमा शर्मामाथि कालोमोसो दलिएको हो । कालोमोसो दल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुका उपमहासचिव महेश श्रेष्ठको नेतृत्वमा शर्मामाथि शिक्षा मन्त्रालयको गेटमै कालोमोसो दलिएको हो ।  

एमबीबीएस लगायतका चिकित्सा शिक्षणमा चर्को शुल्क लिएको भन्दै विभिन्न मेडिकल कलेजका विद्यार्थी लामो समयदेखि आन्दोलनमा छन् । मेडिकल कलेजको चर्को शुल्क लिने कार्य बन्द नगरे संर्घष गर्ने सत्तारुढ दलीय गठबन्धन निकट विद्यार्थी संगठनहरुले यसअघि नै चेतावनी दिएका थिए । सोही क्रममा शर्मामाथि कालोमोसो दलिएको हो । 

शर्माले विराटनगरको नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज सञ्चालन गर्दै आएका छन् । जहाँ उनले चिकित्सा शिक्षा आयोगले तोकेको ४० लाख भन्दा बढी शुल्क लिइरहेका छन् । दुवै मेडिकल कलेजले तोकिएको भन्दा २० देखि ३० लाखसम्म बढी शुल्क लिन लागेका हुन् । जसको विरुद्धमा दुवै मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलन गर्दै आएका छन् । 

शर्माले भने कलेजले तोकेको शुल्कभन्दा कम लिन नसकिने प्रष्टीकरण दिँदै आएका छन् । जबकी शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालयसँगै चिकित्सा शिक्षा आयोगले समेत ध्यानाकर्षण गराइसकेका छन् । तर, उनले शुल्कको विषयमा आफ्नो अडान कायम राख्दै आएका छन् । 



आन्दोलन गर्दै आएका विद्यार्थीमाथि नोबेलमा प्रहरी र सुरक्षा गार्ड लगाएर शर्माले दमन गराएका थिए। त्यसपछि आक्रोशित बनेका विद्यार्थीहरुले आन्दोलन झन चर्काएका थिए ।  

आज शिक्षा मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकमा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेअनुसारकै शुल्क मात्रै लिन पाउने निर्णय भएको थियो। तर, शर्माले भने उक्त निर्णयमा 'नोट अफ डिसेन्ट' लेखेर निस्किएका थिए । त्यही क्रममा अनेरास्ववियु उपमहासचिव श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनले कालोमोसो दलेका हुन् ।



  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १९:०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया