राष्ट्रपति विद्या भण्डारीले विविधतापूर्ण नेपाली समाजलाई राष्ट्रिय एकताकाे भावनमा आवद्ध गर्न माघे संक्रान्तिकाे याेगदान रहेकाे बताएकी छन् ।
राष्ट्रपति भण्डारीले माघे संक्रान्तिकाे अवसरमा शुभकामना सन्देश जारी गरी यस्ताे बताएकी हुन्।
उनले नेपालका विभिन्न समुदायमा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन् ।
‘सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे संक्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्साउँछ । हाम्रा धेरै पर्वहरू यसै गरी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर संगम भएको हुनाले हाम्रा व्यवहारहरू पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्दछ’, जारी गरिएकाे सन्देशमा भनिएकाे छ ।
‘प्राचीन समयदेखि हस्तान्तरण भइ आएका सांस्कृतिक वैशिष्ट्य बोक्ने चाड पर्वहरूले हाम्रो सामाजिक जीवनलाई उल्लासमय तुल्याएका छन् । यसबाट हाम्रो राष्ट्रको मौलिक परिचय विश्वसामु स्थापित हुनुका साथै समुदायहरूबीच सहिष्णुता र हार्दिकता अभिवृद्धि भइरहेको छ । हाम्रा पर्वहरूले मुलुकको सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न उल्लेख्य योगदान पुर्याएका छन्’, सन्देशमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले कोभिड-१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ-आफ्नो स्वास्थ्यको ख्याल गरी यो चाड मनाउन सबैमा आह्वान पनि गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।