प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले तेरो पार्टी, मेरो पार्टी भन्दापनि राष्ट्र नै एकजुट भएर कोभिड संक्रमण नियन्त्रणका लागि लाग्नुपर्ने बताएका हुन् ।
शनिबार आफ्नै सरकार निवास बालुवाटार पुगेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ नेतृत्वको टोलीको ज्ञापनपत्र बुझ्दै उनले कोभिडको नयाँ भेरियन्टले ल्याएको नयाँ चुनौतीको सामना गरेर अघि बढन सबै राजनीतिक दलहरूले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्ने आवश्यकता पनि औँल्याए । प्रधानमन्त्री देउवाले यो महामारीको नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमलाई बढी जोड दिएर अघि बढाउनुपर्ने पनि स्पष्ट पारे ।
‘धन्यवाद तपाईंहरूलाई । चिन्ता व्यक्त गर्नु भएको छ । सरकार उत्तिकै चिन्तित छ । राष्ट्र नै एक हुनुपर्छ यस्तो कुरामा । तेरो पार्टी, मेरो पार्टीभन्दा पनि राष्ट्र नै यसको लागि एक भएर जानुपर्छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ चुनौती आएको छ । यसको मुकाविला सबै लागेर गर्नुपर्छ । यसका लागि अर्को महत्त्वपूर्ण कुरा के लाग्छ भने ‘अवेरनस’ कार्यक्रम । जनतालाई बुझाउनुपर्ने कार्यक्रम राख्नुपर्छ,' उनले भने ।
प्रधानमन्त्री देउवाले सरकारले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको चुनौती सामना गर्नसक्दो कोसिस गरिरहेको पनि बताए ।
यता, एमालेले भने आफ्नो पार्टी नेतृत्वको सरकारले व्यवस्था गरेको कोभिडविरुद्धको खोपको समेत प्रभावकारी परिचालन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । त्यसैगरी एमालेले बालिबालिका, गर्भवती, वृद्धवृद्धा, असक्तहरुलाई घरघरमै सो खोपको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । एमालेका सचिव एवं स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेशकुमार भट्टराईले सो महामारी नियन्त्रणका लागि स्थानीय तह र स्थानीय स्वास्थ्य ईकाईसम्म स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।
एमालेले ज्ञापनपत्रमार्फत कोभिड नियन्त्रणका लागि थप जनशक्ति परिचालन गर्न, संक्रमितहरुको उपचारका लागि आवश्यक अस्पताल, होल्डिङ सेन्टर, औषधिको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ । सचिव भट्टराईले यो महामारी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रममा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराइएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।