सिंहदरबार गेटमा प्रहरीको बाक्लो उपस्थिति छ । उनीहरू सिहंदरबार प्रवेश गर्ने सबैको एक–एक गरी परिचयपत्र चेकजाँच गरिरहेका छन् ।
‘आज गृह मन्त्रालयका करारका कर्मचारीलाई भित्र जान दिएको छैन ।’
‘सिंहदरबारको चारवटै गेटमा गृह मन्त्रालयका कार्यालय सहयोगी (कास) कर्मचारीको नाम पठाइएको छ । उनीहरू कसैलाई पनि भित्र जान नदिनू भन्ने आदेश छ रे ।’
‘गेटमा गयो भने प्रहरीले परिचयपत्र खोसिदिन्छ ।’
सिंहदरबारको गेटमा यस्तै गाइँगुई चलिरहेको थियो । यो करिब एक महिनाअघि (१४ कात्तिक) को कुरा हो ।
०००
केही साताअघि अर्थ मन्त्रालयको दोस्रो तलामा टहलिरहेका थिए– सिन्धुपाल्चोक बलेफीका होमप्रसाद तिमिल्सिना । त्यतिखेरै उनको अनुहारमा ‘कुनै दिन सिहंदरबार छिर्न नपाइने हो’ कि भन्ने त्रास देखिन्थ्यो किनभने उनी तीन वर्षदेखि सिंहदरबारमा करार सेवामा काम गर्छन् ।
उनी विगत तीन वर्षदेखि अर्थ मन्त्रालयको वरपर देखिन्छन् । देशको अर्थतन्त्र समालिरहेका अर्थमन्त्रीको सवारी भने तिमिल्सिना सम्हाल्छन् । अझै डा. युवराज खतिवडा अर्थमन्त्री भएदेखि उनी बाहिर डुल्ने काम अझै कम भएको छ ।
‘मन्त्रीज्यू त कर्मचारीजस्तो हुनुहुन्छ,’ तिमिल्सिना सुनाउँछन्, ‘ठीक १० बजे आउनुहुन्छ अनि बेलुका ५ बजे निस्कनुहुन्छ । मन्त्रिपरिषदको बैठकबाहेक अन्य बेलामा उहाँको रुटिन यस्तै हुन्छ ।’
‘पहिलाका मन्त्री कस्ता हुन्थे त ?’ उनलाई यो प्रश्न सोध्नै परेन ।
‘कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा उहाँको गाडी चलाएको थिएँ,’ उनी अर्थमन्त्रीको आनीबानी सुनाउन थाले, ‘त्यसपछि ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भए । तर, प्रायः मन्त्री विभिन्न कार्यक्रममा बाहिर गइरहनुहुन्छ ।’
तिमिल्सिना प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला अर्थ मन्त्रालयमा छिरेका हुन् । उनी सुनाउँछन्, ‘अर्थराज्यमन्त्रीज्यूकोमा सवारीचालक खाली रहेछ, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकज्यूले मलाई यहाँ पठाउनुभएको हो ।’
उनले राज्यमन्त्रीको गाडी भने लामो समय चलाउन पाएनन् । सरकार फेरियो, मन्त्री फेरिए । तर, उनको मन्त्रालय फेरिएन । त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्वमा आएपछि महरा अर्थमन्त्री भए । उनी मन्त्रीको सचिवायलमा सिफ्ट भए ।
‘उहाँको कार्यकाल पनि लामो भएन । शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । सरकार फेरिए पनि त्यो वर्ष मेरो मन्त्रालय पनि फेरिएन, सचिवालय पनि,’ उनले भने ।
अर्थ मन्त्रालयको गल्लीमा भेटिएका उनी कुरा गर्दै जाँदा कोठाभित्र पसे । हामी पनि उनको कुरा सुन्दै सँगै गयौं । उनी सोफामा बसेर आफ्नो मन्त्रालयसम्मको यात्रावर्णन सुनाउन थाले ।
‘मैले लोकसेवा पास गरेर गरेर सरकारी जागिर गरिनँ, अहिले करारको जागिरमा अझिरहेको छु,’ जागिरको असन्तुस्टि सुनाउँदै उनले भने, ‘मैले ०६१ सालदेखि जागिर गरेको हो, लोकसेवा पास गरेको भए अहिले पेन्सन पकाएपछि के गर्ने योजना बनाइँदै भइन्थ्यो होला । अहिले यो जागिर कति दिन रहला, अनि के गरौंला भन्ने चिन्ताले पिरोलिरहन्छ । कुन दिन मलाई पनि गेटबाट पस्न दिँदैन, अनि के गर्ने ?’
२०५८ सालमा एसएलसी पास गरेपछि उनलाई त्योभन्दा धेरै पढ्न मन लागेन । उनी भन्छन्, ‘परिवारको अवस्था निकै कमजोर भएको हुनाले मलाई त्यो अवस्थामा पढाइभन्दा पनि काम ठूलो लाग्यो ।’
तिमिल्सिनाले कामको खोजीमा भए पनि अवसर भने पाएका थिएनन् । उनी भन्छन्, ‘परिवारको अवस्था कमजोर भए पनि मलाई घरमा दबाब थिएन । म घर चलाउन भन्दा पनि जिन्दगी चलाउन जागिर गर्न चाहन्थें, किनकि घर चलाउने काम बुबा–आमाले जेनतेन गरिरहनुभएको थियो । घरमा धेरै कुरा किन्नु नपर्ने भएकाले पनि घर चलाउन जागिर नै खानुपर्ने बाध्यता थिएन । घरमा फलेका अन्नबालीले नै गर्जाे टथ्र्याे ।’
उनले जागिरका लागि धेरैजनासँग भनसुन गरे । तर, हातमा सीप थिएन । त्यसैले भनेको बेलामा कुनै जागिर पाएनन् । काम खोज्न थालेको करिब दुई वर्षपछि महोत्तरी जिल्ला प्रशासन कार्यालयमा जागिर पाए । त्यो २०६१ सालको कुरा हो ।
‘कहिलेकाही भाग्यमानी भएको ठान्छु,’ तिमिल्सिना सुनाउँछन्, ‘मैले पहिलो काम सरकारी कार्यालयमा गर्न पाएँ । देशमा संकटकाल थियो । मानिस निकै डराइरहेका हुन्थे । त्यसैले पनि सरकारी जागिरमा मानिसको धेरै चासो थिएन । म माओवादीलाई धन्यवाद दिन्छु, किनकि उनीहरूले गर्दा करारमा नै भए पनि सरकारी जागिर पाएँ ।’
तिमिल्सिनाले एसएलसी दिएपछि बारम्बार उपसचिव शंकर अर्याललाई भनिरहन्थे, ‘दाइ ! मलाई जागिर लगाइदिनू न ।’
धेरै करकर गरेपछि एक दिन अर्यालले सोधे, ‘गाडी चलाउन आउँछ ?’ उनले गाडी चलाउने सामान्य नियम मात्र जानेका थिए ।
‘चलाउन त आउँछ तर लाइसेन्स छैन,’ उनले जवाफ दिए ।
‘त्यसो भए परीक्षा दिनू, लाइसन्स निकाल्नू अनि मलाई फेरि भेट्नू,’ लाइसेन्स भएको खण्डमा दाइले जागिर लगाइदिने उनले बुझे ।
‘गाडी लगेर ठोक्काइस् भने मलाई केही भन्न पाउँदैनस् नि ?’ दाइले सचेत गराए ।
‘अहोभाग्य नै भनौं, पहिलोपटकमै लिखित र ट्रायल परीक्षा पास भएँ,’ त्यो सफलताको खुसी अहिले पनि उनको आँखामा देखिन्छ । उनले परीक्षा पास गरेको खबर सबैभन्दा पहिले उनै दाइलाई पठाए ।
‘राम्रो भयो, अब भोलि नै यहाँ आऊ,’ अर्यालले लामो कुरा नगरी निमन्त्रणा पठाए ।
‘दाइले बोलाएपछि मलाई कतिबेला बिहान होला र जाउँला जस्तो भयो,’ उनी सुनाउँछन् । उनी बिहान सबेर गाडी चडे र साँझ महोत्तरी पुगे ।
अर्काे दिन उनीसँगै जिल्ला प्रशासन कार्यालय पुगे ।
‘उहाँले सामान्य प्रशासन मन्त्रालयमा करारको दरबन्दी माग्नुभएछ । यसरी मेरो जागिर सुरु भयो,’ उनी गर्वसाथ सुनाउँछन् ।
तर, ०६३ सालमा अर्यालको गुल्मी सरुवा भयो । हिँड्नु अघिल्लो दिन उनले तिमिल्सिनालाई सोधे, ‘सँगै काम गर्न मन छ भने जाऊँ उतै, के छ विचार ?’
उनले विचारै गरेनन्, सोझौ टाउको हल्लाए । ‘उहाँसँगै काम सुरु गरेको, अरू काम पनि सँगै गर्दा राम्रो हुन्छ जस्तो लाग्यो,’ उनी सुनाउँछन्, ‘महोत्तरी जिल्लामा सहायक जिल्ला अधिकारी जयमुकुन्द खनालज्यूको गाडी चलाउँदा चलाउँदै म गुल्मी हिँडें ।’
अर्याल गुल्मीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएका थिए । तिमिल्सिनाले गुल्मी जिल्लाको उनै प्रजिअको गाडी चलाउने भएँ ।
‘काम गर्दागर्दै ६ वर्ष वितेछ,’ तिमिल्सिना सुनाउँछन्, ‘त्यसपछि २०६९ साल असारमा मलाई काठमाडौं बोलाइयो ।’
गुल्मीमा उनी दाइसाँग त थिए, तर अलिक टाढा हुँदा उनलाई घरको याद पनि आइरहन्थ्यो । उनी भन्छन्, ‘काठमाडौं भनेको घरनजिकै जागिर पाएजस्तो लाग्यो, त्यसैले काठमाडौं सरुवा भएँ ।’ सामान्य प्रशासन मन्त्रालयमा १६ महिना काम गरेपछि नयाँ नीति आयो– नयाँ स्थायी कर्मचारी आएपछि करारको कर्मचारीले त्यहाँबाट हट्नुपर्ने ।
‘म त्यहाँबाट निकालिएँ,’ सरकारको नीतिले उनलाई धैलागिरी अञ्चल अस्पताल बाग्लुङ पु¥यायो । देशैभरि चुनावी माहोल भइरहेको उनी नयाँ कामका लागि बाग्लुङ पुगे । उनी निर्वाचन आयोगबाट सहमतिपत्र बनाएर धौलागिरी अञ्चल अस्पतालमा जागिरका लागि गए ।
‘काम गर्न त गएँ, तर हाकिमले तलब दिएनन्,’ उनले भने, ‘त्यहाँ काम गरेको तीन महिनासम्म तलब पाइनँ ।’ उनले यो गुनासो मुकुन्दप्रसाद निरौलालाई सुनाए । निरौलाले नै उनलाई त्यहाँका जागिरका लागि सिफारिस गरेका थिए ।
‘निरौला सरले नै फोन गरेपछि मेरो करारको जागिर हुने भयो, तलब तोकियो १४ हजार,’ उनी सुनाउँछन् । तर, आठ महिना काम गरेपछि उनलाई काठमाडौं सारियो ।
जागिरका लागि यति धेरै ठाउँ डुल्दा पनि उनको परिवारलाई भने उनको कामको बारेमा जानकारी थिएन । ‘वर्षमा दुईपटक घर जान्थें, कमाएको थोरै पैसा दिन्थेँ । उहाँहरू त्यसमा नै खुसी हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘छोटो छुट्टी सकेर काममा फर्कने बेला सधैं धेरै पढ्नु भन्न छोड्नुहुन्नथ्यो ।’ उनले पहिले नै पढाइ छोडेको कुरा घरमा सुनाएका थिएनन् ।
तिमिल्सिना काठमाडौंमा आएपछि भने सम्पत्ति शुद्धीकरण विभागमा काम गर्ने भए । सम्पत्ति शुद्धीकरण विभागबाट सरुवा भएर उनी अर्थ मन्त्रालय पुगेका थिए ।
सम्पत्ति शुद्धीकरणमा हँुदा उनको जीवनमा दुई ठूला परिवर्तन भए– विवाह र भूकम्प ।
उनले २८ वर्षमा नुवाकोटबाट विवाह गरे । श्रीमतीको ठूलोबुबासँग भएको चिनजानका आधारमा विवाह भयो ।
पहिले गुल्मीमा हुँदासमेत उनलाई विवाहको प्रस्ताव आएको थियो । ‘भारतीय सेनाका एकजना रिटायर्ड सुबेदार थिए, उनले आफ्नो छोरीसँग विवाहका लागि प्रस्ताव गरे,’ उनी सुनाउँछन्, ‘तर कमाइ राम्रो नभएकाले विवाह नगर्ने बताएँ । उनले म यहीँ घर बनाइदिन्छु सधैंभरि यहीँ बस्नु पनि भने । घरबाट आउन–जान टाढा हुन्छ भनेर मैले विवाहको प्रस्ताव स्विकारिनँ । अनि म ब्राह्मण परिवारको, उनीहरू क्षत्री । यसै पनि विवाह गर्न सजिलो थिएन ।’
त्यहाँबाट काठमाडौं सरुवा भएपछि भने उनी विवाहका लागि तयार भए । ‘निधारमा लेखेको हुन्छ भन्थे, हो रहेछ,’ उनी फेरि एकपटक मुसुक्क हाँसे र भने, ‘मज्जाले बाजा बजाएर विवाह गर्ने मन थियो, कुरा चल्दाचल्दै फ्याट्टै विवाह भयो ।’
मेहनतका साथ काम गरे पनि पछिल्लो समय भने उनलाई कतै मैले करारको काम गरेर बेठीक त गरिनँ भनेर झस्काइरहन्छ ।
कुरा गर्दै जादाँ उनको हँसिलो अनुहारको भाव फेरि धमिलो भयो । ‘यतिका वर्ष करारमा काम गरियो, केही उपलब्धि भएन,’ उनी उदास आवाजमा भन्छन्, ‘अब भोलि कसैले तेरो करार अवधि सकियो, अब घर जा भन्यो भने निस्कनुपर्छ । म यही कुरा नहोस् भन्छु, जुन छिट्टै हुदै छ ।’
‘घर जाने बेलामा तीन महिनाको तलब दिएर पठाउँछ रे, तीन महिनाको तलबले के गर्ने ? बरु कुनै व्यवसाय गर्न ऋण दिए हुने नि,’ उनले थपे ।
अहिले सिंहदरबारमा पाँच हजारभन्दा धेरै कर्मचारी करारमा काम गरिरहेका छन् । ‘यति धैरेजनालाई एकैपटक सरकारले निकाल्यो भने पक्कै पनि सबै चुप बस्दैनन् होला ।’ करारमा रहेका अन्य कर्मचारीले अन्दोलन गर्लान् र आफूलाई पनि केही राहत होला भन्ने आशामा छन् उनी । ‘बलियो सरकार छ, हामी सामान्य कर्मचारीको कुरा सरकारले सुन्छजस्तो पनि लाग्दैन,’ उनले थपे ।
तिमिल्सिनालाई काठमाडौंबाहिरका जिल्लामा काम गर्दा भने यस्तो किसिमको चिन्ता थिएन । ‘भ्यालीबाहिर धेरै जना काम गर्न इच्छुक्क हुँदैनन्, त्यसैले त्यहाँबाट निकाल्ने चर्चा हुँदैन ।’ उनी सुनाउँछन्, ‘अब यो जागिरबाट निकाल्दियो भने निकै तनाव हुन्छ । न व्यवसाय गर्ने पैसा छ, अन्य जागिर गरौं भने पनि कहिले काम पाउने, कहिले सेटल हुने !’
उनलाई यो नै पहिलोपटक डर लागेको होइन । जब साउन नजिकिन्छ, जब नयाँ आर्थिक वर्ष सुरु हुन्छ त्यतिबेला छाती ढक्क फुलेर आउँथ्यो, मनमा शंका बस्थ्यो– अब करारको अवधि थप हुने हो कि होइन ?
‘मन्त्रालयमा यस्तो डर र चर्चा धेरै हुने रहेछ,’ तिमिल्सिना सुनाउँछन्, ‘बाहिरका जिल्लामा काम गर्दा भने यस्तो चर्चा पनि हुँदैनथ्यो चिन्ता पनि ।’ बाहिरी जिल्लामा कर्मचारी जान नचाहेको प्रवृत्तिका कारण पनि बाहिरी जिल्लामा जागिर छुटिहाल्ने चिन्ता नहुने रहेछ ।
सिंहदरबारभरिका मन्त्रालयमा उनीजस्तै ड्राइभर र कार्यालय सहयोगी आवश्यकभन्दा धेरै भएको उनको बुझाइ छ । त्यसैले पनि उनलाई जागिर कहिले जान्छ भन्ने चिन्ताले सताउँछ । ‘मन्त्रालयमा फजुल दरबन्दी सिर्जना गरेर यसरी कर्मचारी नियुक्त नभए पनि हुने नि,’ उनले भने ।
डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला उनले बनाएको नीतिका कारण पनि अर्थ मन्त्रालयमा कर्मचारी आकर्षण बढेको छ । भट्टराईले अर्थ मन्त्रालयका कर्मचारीलाई दुई सय प्रतिशतसम्म इन्सेन्टिभ दिने घोषणा गरेका थिए । त्यसले अर्थ मन्त्रालयका कर्मचारीलाई सुरुमा सुविधा भएपछि अन्य मन्त्रालयका कर्मचारी अर्थ मन्त्रालय जान लोभिए । त्यसैले पनि अर्थ मन्त्रालयमा कर्मचारीको सरुवाको ओइरो लाग्यो ।
‘कामविशेषले अन्य मन्त्रालय जाँदा यति धेरै कार्यालय सहयोगी र हल्का सवारीचालक देख्दिनँ,’ उनी भन्छन्, ‘त्यही इन्सेन्टिभका कारण यहाँ आकर्षण बढेको होला ।’
पछिल्लो समय भने अर्थ मन्त्रालयले इन्सेन्टिभ रोकेको छ । गत माघदेखि कुनै पनि इन्सेन्टिभ नपाएको तिमिल्सिना बताउँछन् । ‘काम नगरी पैसा किन लिने,’ अर्थमन्त्री खतिवडा इन्सेन्टिभको पक्षमा नरहेको बताउँदै उनी भन्छन्, ‘मन्त्री कडा रूपमा प्रस्तुत भएका कारण पनि इन्सेन्टिभको कुरा मन्त्रालयमा पनि कसैले उठाएका छैनन् ।’
तिमिल्सिना अहिले चौथो अर्थमन्त्रीसँग काम गरिरहेका छन् । उनलाई पहिलेका तीन मन्त्रीमा त्यति धेरै फरक अनुभव भएन । तर, अहिलेका अर्थमन्त्री खतिवडा भने केही फरक लागेको उनी बताउँछन् ।
‘बाहिरबाट हेर्दा यो मन्त्री यस्तो भने पनि मैले अहिलेसम्म को मन्त्री कस्तो छ भनेर छुट्याएको छैनँ,’ उनी भन्छन्, ‘कर्मचारीको हिसाबले मलाई सबै मन्त्री उस्तै जस्तो लाग्छ ।’
अर्थ मन्त्रालयमा आउनुअघि उनले मन्त्रीसँग काम गर्न केही असजिलो हुन्छ भन्ने कुरा सुनेका रहेछन् । तर, बाहिर भनिएजस्तो मन्त्रीसँग डराउनुपर्ने केही नहुने उनी बताउँछन् ।
मन्त्रालय आउनुपूर्व अन्य कार्यालयमा काम गरेको अनुभवका आधारमा भने मन्त्रीसँग काम गर्दा केही लोड हुने उनी बताउँछन् । ‘मन्त्रीज्यूको कता–कता काम भइरहेको हुन्छ । उहाँ सँगसँगै हिँड्नुपर्छ । त्यसैले अफिस आउने र जाने ठ्याक्कै ठेगान हुँदैन । जतिबेला जहाँ बोलाए पनि पुग्नुपर्छ,’ उनले भने ।
तर, पछिल्लो समय भने मन्त्रीको टाइमटेबल निश्चित हुन थालेको छ । ‘अहिले मन्त्रीज्यू क्याबिनेटको मिटिङ वा अन्य यस्तै मिटिङबाहेक अन्य समयमा १० बजेदेखि ५ बजेसम्म अफिसमै बस्नुहुन्छ,’ उनले भने, ‘पहिले लामो समय कर्मचारी भएकाले होला, अहिले पनि उहाँ कर्मचारीजस्तै ‘टेन टु फाइभ’ मन्त्रालयमा आउनुहुन्छ ।’
तर, बजेटको तयारीका बेला भने मन्त्रीको रुटिन यस्तो थिएन । उनले मध्यरातसम्म मन्त्रालयमा खटिएर काम गरेका समाचार पनि आएको थियो ।
त्यसो त अर्थमन्त्री सबैभन्दा धेरै प्रेसरमा हुने पूर्वअर्थमन्त्रीहरू पनि बताउने गर्थे । बजेट बनाउने समयमा अर्थमन्त्री कम्तीमा एक दिन मन्त्रालयमै बस्ने परम्पराजस्तै थियो ।
तिमिल्सिना पहिलेको भन्दा अहिलेका अर्थमन्त्री बजेट निर्माणको काममा धेरै खटिएको बताउँछन् । त्यतिबेला धेरै खटिनु परेकाले कहिलेकाहीँ आराम गर्न पाए पनि हुनेजस्तो लाग्ने तिमिल्सिना बताउँछन् ।
अहिले मन्त्रालयमा मन्त्रीको सवारीचालकको रूपमा उनी मात्रै छैनन्, अर्काे साथी मन्त्रीको क्वार्टरमै बस्छन् । राति कतै जानुपरेमा उनले सहयोग गर्छन् । ‘मन्त्रीलाई मन्त्रालय ल्याउने र लैजाने भने मै गर्छु,’ उनी भन्छन् ।
डा. खतिवडा राजनीतिक पृष्ठभूमिबाट नभई ब्युरोक्रेट मन्त्री भएकाले पनि धेरै कार्यकर्ता भेटघाट र कार्यक्रममा व्यस्त हुँदैनन् । तिमिल्सिना पनि मन्त्रीको र नागरिकबीचमा राम्रो सम्बन्ध हुनुपर्नेमा सहमत छन् । तर, राजनीतिभन्दा बाहिरबाट आएको मन्त्री कार्यकर्ताप्रति धेरै नजिक नभएकाले पनि भेटघाटमा कमी आएको शंका गर्छन् ।
अहिले सबैजना चाडबाड मनाएर काममा फर्किरहेका छन् । दसैंअगाडि भएको भेटमा उनले सुनाए, ‘कहिलेकाहीँ मन्त्रीले चडबाड खर्च भनेर दिनुहुन्छ । यसपटक त थाहा छैन मन्त्रीले सहयोग गर्नुहुन्छ वा गर्नुहुन्न,’ उनले भने, ‘यसअघिका केही मन्त्रीले भने मन्त्रालयबाट केही दिन नसके पनि मेरो सहयोग भनेर दिनुभएको थियो ।’ यस्तो सहयोग पाउँदा रमाइलो लाग्ने उनी बताउँछन् ।
‘मन्त्रीहरू सधैं राम्रो कुरा गर्नुहुन्छ,’ रमाइरहेका उनी एक्कासि अँध्यारो भए, ‘तर, मलाई जागिरको निकै डर लागिरहन्छ । मन्त्रीले पनि दरबन्दीमा मात्रै कर्मचारी राख्ने भनेपछि अब जागिरको आशा मरेको छ ।’
तिमिल्सिनाको त्यही मलीन अनुहारले भन्छ, उनलाई यो कामको कति महत्त्व छ । तर, मन्त्रीले देश संघीयतामा गएको बेला सरकारले खर्च धान्न नसकेर कर्मचारी कटौती गर्नुपरेको सुन्दा उनलाई भावुक बनाउँछ ।
तिमिल्सिनाको परिवारमा अहिले श्रीमती र एक छोरा छन् । विवाहअघि एक्लो ज्यान जसोतसो पालिरहेका उनलाई अहिले परिवारको भार पनि थपिएको छ । कोटेश्वमा एउटा कोठा भाडा लिएर बस्ने तिमिल्सिनाका छोरा स्कुल जान थालेका छन् । उनले भने, ‘छोरा स्कुल गएको देख्दा त रमाइलो लाग्छ, तर गरिरहेको काम अनिश्चित हुँदा छोराको भविष्य कस्तो होला भन्ने चिन्ताले सताउँछ ।’
उनलाई धेरैले भन्ने गरेका छन्– तँ अर्थ मन्त्रालयमा जागिरे छस्, बूढीलाई पनि जागिर लगाउनु नि !
‘मानिसहरूको कुरा सुनेर मलाई हाँसो लाग्छ, आफ्नै जागिरको ठेगान छैन, श्रीमतीको जागिर कसरी मिलाउनु ?’ उनले भने, ‘फेरि सोच्छु, उनीहरूले भनेको ठिकै पो हो कि ?’
त्यसो त उनलाई श्रीमतीको जागिर मात्र होइन, आफन्त छरछिमेकले पनि ‘जागिरका लागि भन्दे न’ भनिरहेका हुन्छन् । ‘तर मलाई यस्तो गरौंजस्तो लग्दैन,’ उनी यसपटक भने केही इमानदार देखिए ।
यसरी जागिर लगाइदे भन्नेलाई उनी रेडिमेड जवाफ दिन्छन्, ‘मैले आफ्नो परिवारलाई त जागिर लगाउन सकेको छैन, अरूलाई कसरी लगाइदिऊँ ।’ तर, उनको कुरा सबैले पत्याउँदैनन् । उनलाई मन्त्रालयमा काम गरेको छु भनेर ठूलो बनेको भन्नेसम्मका आरोप लगाउँछन् । उनी भन्छन्, ‘आफ्नो पीडा त आफैंसँग मात्र हुने रहेछ ।’
उनी फेरि मन्त्रीलाई सम्झन थाले, ‘म इमानदार भएर पनि होला अहिलेसम्म कुनै पनि मन्त्रीको चर्काे आवाज सुन्नुपरेको छैन,’ उनले भने, ‘राजनीति हो, कहिलेकाहीँ के कुरा नमिलेर रिस उठ्ला, तर त्यो रिस अहिलेसम्म हामीलाई पोख्नुभएको भने छैन ।’
मन्त्रालयमा उनले गाली नखाएकोे भए पनि पहिलोपटक काम गर्दा सिडिओ कार्यालयमा भने गाली खाएका छन् । तर उनी त्यसलाई इगोको रूपमा नभएर आफ्नै लागि गरिएको सुझावका रूपमा लिएको बताउँछन् ।
उनी भन्छन्, ‘हाकिमहरू कहिलेकाहीँ तनावमा हुन्छन्, त्यस्तो बेला अलिअलि गाली खानु स्वाभाविक हो । त्यस्तो बेलामा आफू संयम हुनुपर्छ ।’
तिमिल्सिनासँग अन्य सार्वजनिक गाडी चलाएको अनुभव भने छैन । तर, अहिलेसम्म उनले मन्त्रीको गाडी चलाउँदा बिग्रेको छैन । ‘गाडीको नियमित मेन्टेनेन्स गर्ने भएकाले पनि त्यस्तो चान्स नै हुँदैन,’ उनले भने ।
मन्त्रालयमा आएपछि उनले दुईवटा गाडीमा मन्त्रीको गरेका छन् । ‘मन्त्रीका लागि जहिले पनि दुईवटा गाडी तयार हुन्छन्,’ उनले भने, ‘पहिलेको मन्त्रीले चढेको निसान गाडी अहिले विकल्पको रूपमा राखेर ल्यान्डक्रुजर चढ्छन् ।’ यो गाडीको मर्मत गर्नुपरेको अवस्थामा भने मन्त्री निसान गाडीमा हुइँकिन्छन् ।
सामान्यतया मन्त्रीको गाडीमा गीत नबजाउने उनी बताउँछन् । ‘राज्यमन्त्री दामोदर भण्डारी भने गाडीमा गीत बजाउँदा बोरिङ हुँदैन भन्नुहुन्थ्यो र गीत बजाउन लगाउनुहुन्थ्यो,’ उनले भने ।
सामान्य रूपमा सर्वसाधारणले सडकको धूलो र खाल्डाखुल्डी देख्दा नेता वा मन्त्रीलाई नै गाली गरिरहेका हुन्छन् । तर, गाडीभित्रका मन्त्रीले सडकको खाल्डा वा जामका विषयमा कहिल्यै कुरा नगर्ने तिमिल्सिना बताउँछन् ।
‘अहिले नै यति धेरै गाडी छन्, अबको पाँच वर्षमा यही दरमा गाडी थपियो भने कति होलान्, त्यतिबेला कसरी थाम्छ होला ?’ उनी भने बाटोमा हिँड्दा यिनै कुरा सोचिरहेका हुन्छन् । उनले हरेक चोकमा अन्डरपास बनाएर मात्रै अहिलेको जाम कम गर्न सकिने उनी आइडिया सुनाउँछन् ।
सडकको संरचनाका कारण पनि सडक अप्ठ्यारो भएको उनको बुझाइ छ । हरेक दिन सँगै हिँड्ने मन्त्रीले यो सबै देखेर पनि कुनै कुरा नगर्ने उनी बताउँछन् ।
०००
तिमिल्सिनाले जे–जे गरे पनि गाउँमा भएका आमाबुबालाई भने उनका बारेमा केही जानकारी छैन । आफ्नो सन्तानले राम्रो गरोस् दुःख नपाओस् भन्ने त सबैको परिवारमा हुन्छ । उनका आमा–बुबा पनि उनको सुन्दर भविष्यका लागि कामना गरिरहेका होलान्, तर अहिले भोगिरहेको समस्याका बारेमा भने न उनी आमा–बुबालाई सुनाउँछन् न त आमाबुबाले उनलाई कहिल्यै यो विषयमा साेध्छन् नै ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।