सुदूरपश्चिम : कोरोना संक्रमित बढेको बढ्यै, नागरिकमा छैन त्रास

शुक्रबार धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भयो । कैलालीको कैलारी गाउँपालिका–७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पताल उपचाररत महिलाको शुक्रबार मृत्यु भएको हो । उनी २९ गते संक्रमित बनेकी थिइन् । तर, पनि नागरिकमा कुनै प्रकारको त्रास देखिएको छैन । सुदूरपश्चिममा दैनिक २ सय बढी संक्रमित थपिने गरेका छन् ।

शनिबार मात्र सुदूरपश्चिम प्रदेशमा २ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार २२१ जनाको पीसीआर मार्फत र १ हजार २०८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा २८३ जनामा संक्रमण पुष्टि भएको हो र शनिबार जम्मा १ हजार ४२९ जनाको परीक्षण हो ।

शनिबार संक्रमण पुष्टि भएका २ सय ८३ जनामध्ये १ सय २६ जना भारतबाट आएका नेपाली हुन् । त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १०३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४५, जुलाघाटबाट फर्केका ४ जना र पुलघाट नाका भएर फर्केका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशका नाका भएर शनिबार १ हजार ३ सय ६६ नेपाली स्वदेश फर्केका छन् । स्थानीय प्रकाशसनले २५ जनाभन्दा बढी जम्मा हुने गरी भिडभाड  नगर्न निर्देशन जारी गरे पनि त्यसको बेवास्ता हुने गरेको छ ।

सुदूरपश्चिममा सबैभन्दा बढी जोखिम रहेको कैलालीमा प्रशासनले पुस २८ गते राति १२ बजेदेखि लागू हुने गरी १२ बुँदे आदेश जारी गरेको छ । तर, प्रशासनले जारी गरेको आदेश भने कार्यान्वयन भएको देखिँदैन । प्रशासनले जारी गरेको आदेश औपचारिकतामै सीमित भएको छ ।



निर्णय कार्यान्वयन गराउन प्रशासन आफैँ असफल देखिएको छ । आदेशमा एकै स्थानमा भौतिक रूपमा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने, कुनै पनि प्रकारका सभा, मेला र जात्रासमेत गर्न नपाउने उल्लेख छ । तर, यो विषय कहीकतै पालना भएको छैन । माघे संक्रान्तिको दिन मठमन्दिरमा देखिएको भीडभाडले प्रशासनको आदेशलाई बेवास्ता गरेको देखियो ।

भिडभाडमा नजानु त परको कुरा, मास्कसमेत प्रयोग भएको देखिएन । विनामास्क जताततै अनावश्यक भीड तथा सभा/सम्मेलन भइरहँदासमेत कहिँकतैबाट नियमन नभएको जिल्लाको गोदावरी नगरपालिका नरबहादुर रावतले बताए ।



‘जिल्ला प्रशासन कैलालीले कोभिड न्यूनीकरणका लागि आदेश जारी गरेको भोलिपल्ट नै विभिन्न स्थानमा मान्छे जम्मा गरेर राजनीतिक दलले कार्यक्रम गरेका छन् र त्यो क्रम अहिले पनि जारी छ’ उनले भने ।

उनले नागरिकमा कोरोनाको त्राससमेत हट्दै गएको बताए । ‘नागरिकमा जुन रूपमा पहिलो चरणको कोरोनाको त्रास थियो । त्यो दोस्रोमा भएन । अझै तेस्रोमा पटकै छैन,’ रावतले भने ।

कोभिड व्यवस्थापन समिति कैलालीको निर्णयअनुसार प्रशासनले जारी गरेका आदेश पालना गर्न अटेरी गरिए संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने भनिएको छ । तर, प्रशासनले यो विषयलाई कार्यान्वयनमा ल्याउन सकेको छैन ।

स्थानीय प्रशासनल केन्द्रले जे निर्णय गर्यो त्या गर्दा पनि कार्यान्वनमा चुनौती देखिएको स्थानीय बताउने गर्छन् । ‘जिल्लामा कोरोना जोखिम के कति छ । त्यसको कुनै आँकलनविना नै सबै स्थानीय तहमा एउटै निर्णय हुन्छ’, धनगढीका एक शिक्षक ओमप्रकाश जोशीले भने, ‘यसले गर्दा पनि प्रशासनलाई कार्यान्वयनमा चुनौती देखिएको हो ।’ उनले सबै स्थानीय तहमा एकै प्रकारको आदेश आवश्यक नै नभएको बताए ।

प्रशासनले आदेशलाई पूर्णरूपमा कार्यान्वयन गराउन अर्को बैठकमा समीक्षा गरेर थप कडाई गरिने दावी गरेको । ‘माघे संक्रान्तिमा मठमन्दिरमा यति ठूलो भिड होला भन्ने सोचेकै थिएनौँ’, जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘जुन वर्ग र समुदायलाई लक्षित गरी आदेश जारी गरेका थियौँ, त्यही वर्ग सचेत नभइदिँदा आदेश कार्यान्वयन गर्न प्रशासनलाई समस्या भएको हो । अब अर्को बैठकमा समीक्षा गरेर थप कडाई गरिने छ ।’

सुदूरपश्चिममा कोरोनाको पहिलो र दोस्रो कोरोना लहरमा ६१४ जनाको मृत्यु भएको थियो ।

  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १९:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया