शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको ।
आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो चार महिनादेखि निरन्तर रूपमा गिरावट आएको नेप्से ४ महिना यताकै उच्च विन्दुमा पुगेको हो ।
पछिल्लो दुई सातादेखि निरन्तर रूपमा बजारले गति लिँदा लगानीकर्ता उत्साहित देखिएका छन् । त्यस्तै, आज ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स ११.८१ अंक, फ्लोट इण्डेक्स ४.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९९ अंक बढेको छ ।
आइतबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार रकम समेत उल्लेख्य सुधार भएको छ । पछिल्लो समय दैनिक ५ देखि ७ अर्बको बीचमा कारोबार हुँदै आएको थियो
आइतबार १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी ५.६२ प्रतिशत बढेको छ ।
त्यस्तै, अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । बैंकिङ्ग, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र होटल तथा पर्यटन, लघुवित्त, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
आज कारोबारमा आएका कम्पनी मध्ये भोटेकोसीको सेयरमूल्य सबैभन्दा बढी ९.९९ प्रतिशत बढेको छ । त्यसैगरी, हिमालयन डिस्टिलरी, सिभिल बैंक र सिन्धु विकास बैंकको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । अरुण भ्याली हाइड्रोपावर र हिमालयन ऊर्जा विकास कम्पनीको ७ प्रतिशतभन्दा बढी बढेको छ । तर यता बोटलर्स नेपालको सेयरमूल्य भने घटेको छ ।
कारोबार रकमका आधारमा ३२ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । त्यस्तै, अपी पावर, अपर तामाकोशी, शिवम् सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चरको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।