यी हुन् मन्त्रिपरिषदका निर्णय

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ । आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको बताए । 

नेपाल सरकार प्रदेश र स्थानीय तहबीच प्राकृतिक श्रोतको रोयल्टी बाँडफाँड स्वीकृति दिने, मेवा–चाङे र केराबारी–न्यु मर्स्याङ्दी १३२ केभी प्रसारण लाइन आयोजनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने निर्णय पनि गरिएको उनले बताए । 

त्यस्तै, बुढीगंगा जलविद्युत् आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने, पाल्पा २२० केभी सबस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने र खोर्ले बेसी (गोरखा) ३३ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ । 

प्रवक्ता कार्कीले नेपाली जनताको तर्फबाट अफगान नागरिकलाई मानवीय सहायता उपलब्ध गराउने, नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान दिने, तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने, टोखा नगरपालिका र चीनको स्वायत्त क्षेत्र तिब्बतस्थित नक्छु सहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत दिने निर्णय समेत गरेको बताए । 

यस्तै बैठकले सहसचिव शंकरप्रसाद खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बर्ड फ्लू नियन्त्रण नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय समेत सरकारले गरेको छ । 



त्यस्तै, सरकारले चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, राष्ट्रिय पशु स्वास्थ्य नीति, २०७८ स्वीकृत गर्ने, राष्ट्रिय पशु प्रजनन नीति, २०७८ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गर्ने निर्णयसमेत गरेको प्रवक्ता कार्कीले बताए । 



  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १७:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया